निगम छाड्दाछाड्दै कंसाकारले भने : 'मैले ल्याएकोभन्दा एक डलर कममा कसैले जहाज ल्याएर देखाओस्'

जेठ १३, २०७६

काठमाडौँ - नेपाल वायुसेवा निगमका महाप्रबन्धक सुगतरत्न कंसाकारको ४ वर्षे अवधी सोमवारबाट सकिएको छ । वाइडबडी जहाज खरिदमा भएको अनियमितता र विवादमा मुछिएका कंसाकारको चार वर्षे अवधि सकिएर अवकाशमा जाँदा जाँदै आफूले भन्दा १ डलर कममा जहाज ल्याउन चुनौती दिएका छन् ।

सोमवार साँझ लोकान्तरसँगको कुराकानीमा कंसाकारले वाइडबडी खरिद भएकै कारणले राष्ट्रप्रमुख र सरकार प्रमुखहरू नेपालको झण्डा भएको जहाज लिएर विदेश जान पाएको टिप्पणी गरे ।  'वाइडबडीको बारेमा धेरै हल्ला खल्ला भयो,' उनले भने, 'हाम्रो तर्फबाट हेर्दा खासै विवाद नहुनुपर्ने हो । संसारमा सबभन्दा सस्तोमा हवाईजहाज किनेर देखाइदिएँ मैले । एक डलर पनि कममा कहीं पाइन्छ भने कसैले भनोस् ।'


ADVERTISEMENT

वायुसेवा निगमबाट अवकाश प्राप्त गरेपछि सरकारले जे जिम्मेवारी दिए पनि आफूले पूरा गर्ने कंसाकारले बताएका छन् । 'अब घरै बस्ने हो, सरकारले अब कुनै ड्युटी दियो भने मात्र, नत्र घरै बस्छु,' उनले भने, 'म जुनसुकै संस्था चलाउन सक्छु, स्वास्थ्यले साथ् दिइरहेको छ ।' आफू विवादमा तानिएपछि खासै तनावमा नआएको तर आफ्ना कारणले अन्य कर्मचारीहरू तनावमा आउनुपरेको र त्यो आफूलाई राम्रो नलागेको कंसाकारको भनाइ थियो ।

४ वर्षे कार्यकालमा आफूले कहीं कतैबाट राजनीतिक दबाब महसुस नगरेको कंसाकारले दाबी गरे । 'म भन्दा माथिको कोही सचिव होस्, मन्त्री होस् जसलाई पनि मिल्ने कुरा चाहिँ गर्ने हो, नमिल्ने कुरामा मिल्दैन भन्ने हो,' उनले भने, 'त्यसैले राजनीतिक हस्तक्षेप भन्ने कुरा मैले अहिलेसम्म अनुभव गरिन ।'  

 

 

 

 

 

जेठ १३, २०७६ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस