बाँकी यात्रा सबै नाफा !

जेठ १८, २०७६

यात्रा तय गरिँदैन, जारी गरिन्छ । जीवनरुपी यात्रा विना तालिका र तयारी कुद्छ । यात्रा लेखिएजस्तो, देखिएजस्तो हुँदैन । स्वाधीन र मौलिक संघर्षका रुपमा रहन्छ ।

अविरल यात्रामा कुदिरहेछ जीवन । पाइतालाका रेखाहरू चट्टानका संसर्गमा कतिपटक रगताम्मे भए, खस्रा भए र अब त मेटिइसके । हातले छाम्दा पनि आफ्नो हो कि होइन भन्ने भेउ पाउन सकिएका छैनन् । 


ADVERTISEMENT

तिनै पाइताला सबैभन्दा दुःख गर्ने अंग न हुन् जीवन यात्राका । सबैभन्दा पुछारमा छ पाइताला । पुछारमा हुनुको अर्थ आधार हुनु हो, शुरू हुनु पनि हो । पुछारमा हुनुको अर्थ कर्मशील हुनु पनि हो । पाइताला छन् र पो जीवन छ । पाइतालाले यात्रा मार्ग तय गरेको हो । संघर्षका पाइला अघि बढाउँछ, हिउ, मरुभूमि, जंगल, पहरा, समथर जहाँ होस्, अघि बढ्नुको नाम पाइताला हो । पाइताला अघि बढेर न जीवन गतिवान भएको हो । उसका चोट, भोगेका पीडा मस्तिस्कसम्म नपुगेको होइनन्, तर पनि हिँड्नु, जीवनलाई गति दिनुको विकल्प छैन । उसका एकएक पाइलाले नै लक्ष्यको सगरमाथा चुमाउने, शिखर पुर्‍याउने हो । 

यात्रा संघर्ष हो । सुखका यात्राहरू भविष्यका लागि इतिहास बनेका छैनन् । संघर्षमय अविराम यात्रा आउँदा दिन, आउँदा पुस्ता अनि सबै जातिप्रजातिका ऊर्जा हुन् । उत्साह हुन् । संघर्षको यात्रा मौलिक हुन्छ । मौलिक हुनु संघर्षको विशेषता हो । कसैको जस्तो हिँडाइ यात्रा होइन । कसैको जस्तो सिकाइ यात्रा होइन । अरुको जस्तो भोगाइ पनि यात्रा होइन ।

आफ्नै शैलीको यात्रामा मानिस अविराम दौडिहेको छ । बाधा, विरोध र अवरोध पन्छ्याउँदै दौडिरहेको छ । अघि बढ्नुको अर्को नाम यात्रा हो । यात्रा टुंगिँदैन, जीवन्त हुन्छ । जीवन टुंग्यो त यात्रा टुंगिन्छ । अझ भनौ, यात्रा टुंगिएपछि जीवन टुंगिन्छ ।  

पाइतालाहरूले दर्शनढुंगाका चुच्चे धारसँग मितेरी लगाइसके । अब नाङ्गा पाइतालाहरू दुख्दैनन् । रोशी खोलाको वर्षे भेलले कति लडायो, रातमाटे र धारेको ठाडे उकालोले जेठ–असारको गर्मीमा कति पोल्यो । निधारबाट पसिनाका तप्केनी कति तप्के । खाली पेटमा कुन उत्साहले भञ्ज्याङ चौतारीमा पिपलका पात बजाउँदै आएको हावामा एकपटक खुइए । स्वर्गीय आनन्द लिँदै अविराम पाइला पहाड उक्लिन्छ, उक्लिँदै जान्छ । नथाक्नु उसको कर्म हो ।

संघर्ष भएकाले यात्रामा साथ भएन । अक्सर यात्रामा साथी नहुनु सत्य हो । यात्रामा कसैलाई दिन केही हुँदैन, त्यसैले साथ हुने कुरा भएन । छिमेकी, सम्बन्धी, साथी कोही भएनन् । सफलता प्राप्तिपछि न साथ हुने हो । मनको एक कुनामा फगत आमाका आशिर्वाद यात्राका ऊर्जा थिए । न यात्राको गन्तव्य थियो, न यात्रा रोकिएको नै थियो । 

यात्रा रमाइलो थिएन, संघर्ष रमाइलो हुने कुरै भएन तर आत्मिक रुपमा गौरवपूर्ण थियो । उत्सर्ग थियो, उत्साह थियो, दुःखीसुखको अनुभूति थियो, जसले यात्रालाई अनन्त ऊर्जा दिइरह्यो । जसले लरखरिएका पाइला, थरर्र कापेका पिँडुला, थाकेको मन र थङ्थलिएको शरीरलाई रोशी, रुम्टी, रातमाटे, भञ्ज्याङ, भूमेडाडा, कानपुर, फूलपातीभञ्ज्याङ, देवीथान हुँदै सपनाको सागरमाथा ज्ञानेश्वरसम्म अविराम तान्दै ल्यायो ।
प्रत्येक पल, प्रत्येक पाइला कति जोखिमपूर्ण र खतरनाक थिए ! (मोन्टाज पल्टाउँदा पनि आङ सिरिङ्ग हुन्छ) । तैपनि यात्राको  धिपधिपे निभेन, र यात्रा अघि बढिरह्यो । लाग्छ धेरैपटक पहिल्यै जीवन गुमिसकेको हुनुपर्ने । कति जोखिम र कहालीलाग्दो यात्रा । पातलको बाटोमा चितुवाले चिथोरेको भएपनि सकिन्थ्यो, रोशीले बगाएको भएपनि सकिन्थ्यो, रुखको टुप्पाबाट लडेको भएपनि सकिन्थ्यो, भीरबाट ढुन्मुनिएको भएपनि सकिन्थ्यो, द्वन्द्वकारीले नछाडेको भएपनि सकिन्थ्यो, अरु धेरै जोखिम र विपद्बाट सकिन्थ्यो । लाग्छ बाँकी जीवन, बाँकी यात्रा सबै नाफाको हो । यसले भावी यात्रालाई झनै उर्जा दिएको छ । 

जीवन यात्रा कुनै सरल रेखा रहेनछ । प्रत्येक मोड र घुम्तीमा यात्राका अव्यक्त गन्तव्य बदलिएर जिगज्याग बने । रेखाहरू जिगज्याग मात्र होइन, धुमिल र अस्पष्ट पनि देखिए । दुःखको यात्रा कुनै सूत्र र संरचनामा हिँडेन । न सूत्र र संरचना खोज्ने फुर्सद नै भेटियो । न त्यसको चेत नै थियो । यात्राका परिणाम पनि सूत्रका योगफलजस्ता भएनन् । त्यसो नहुनु नै जीवन यात्राका ऊर्जा अनि आत्मिक शक्ति थिए । गन्तव्य पहिल्यै निर्धारण हुँदो हो, यात्राको तिथिमिति तोकिएको हुँदो हो त यात्रा कति यान्त्रिक र बेस्वादिलो हुने थियो ? न जीवनले संघर्ष गथ्र्यो, न थप स्वाद नै लिन पाउथ्यो । न उत्सर्ग न संघर्ष, न जीवनको महत्त्व नै हुने थियो ।

यात्रामा सफलताको आरिस हुन्छ, इष्र्या हुन्छ । आफन्तहरू इष्र्यामा छन्, साथी संगतिहरू इष्र्यामा छन्, चिनेकाहरू अमिला मनमा छन् । प्रत्येक मनहरू ईष्र्यालु छन् । सफलतामा बधाई दिने धेरै मनहरू अमिला थिए । उन्मुक्त थिएनन्, खुम्चिएका थिए । आमा र गुरुको जस्तो निःस्वार्थ थिएनन् । खुम्चिएका अमिला मनहरू स्वयम् उनीहरूका यात्राका अवरोधक हुन् भन्ने चेतना ती मनहरूलाई हुँदो हो त समाज कति सपाट हुने थियो । ‘किन चाउरिस मरिच आफ्नै पीरले’ भने झैं अरुको सफलतामा इष्र्या गर्नेहरू चाउरिन्छन् तर असफलतामा तिनै मनहरू दयाका भीख दिनपछि पर्दैनन् । नखुलेका मनहरू यात्रालाई शुभकामना भन्न सक्दैनन् । क्षमतालाई इष्र्या र निर्धालाई घृणा गर्नु मानव मूल्य होइन । इतिहास साक्षी छ सफलतामा इष्र्या र असफलतामा हेय गर्दा मानव सभ्यता साँघुरिएको छ तर संघर्षमयी यात्री साघुरा मन र देखावटी शुभकामनाको पर्वाह गर्दैन । फगत उ यात्री हो । नोजी हुनु, अरुजस्तो बन्नु उसलाई फुर्सद पनि छैन । अविराम उ हिँडिरहन्छ । अनन्त क्षितिज हेरेर, फराकिलो आकाश हेरेर । यात्रा यसरी नै फराकिनुपर्छ । सकेजति फराकिनु यात्राको बैशिष्ठ्य हो ।

स्वेर कल्पनाको स्वाद पिएर यात्रा अघि बढ्दैन । कोठामा एक्लै रमाउने, स्वच्छन्दतामा वयेलिने मनचित्र पनि यात्रा होइन । यात्रा अनन्त साहसले हुन्छ । जर्जर बाटोमा झण्डै ढुंगा बनिसकेका खस्रा पाइताला टेक्दै, दूषित वायुमण्डलमा आशु झार्दै दृष्टि गर्ने आँखाबाट यात्रा अघि बढ्छ, रगत र पसिनाले यात्रा अघि बढ्छ । अभाव र आवश्यकता पूरा गर्न पहिला पसिनाले धर्ती भिजाउने शक्तिले यात्रा भर्छ । 

कठ्याङ्ग्रिने जाडोमा साहसको रापले यात्रा अघि बढ्छ । चाँदीका थालमा सुनको चम्चाले खानेहरु यात्रामा अघि बढ्दैनन् । यात्राले उत्पादन गरेका खोज, विचार र उपलब्धिको भोग गर्नु उनीहरूको चाख र चर्या हो । उनीह जीवनको स्वाद नै भुलिरहेका हुन्छन् । संघर्षका यात्रीहरू उपलब्धिको भोग गर्दैनन्, वितरण गर्दछन् । त्यसैमा यात्रा खुशी हुन्छ । दुःखमा पनि खुसी हुन्छ । 

सच्चा यात्रीहरू जीवन संघर्षमै रमाएका हुन्छन् । असल सोच, असल कर्म र असल व्यवहारबाट समाजको विवेकशील विनिर्माण गर्नु उनीहरूको कर्म हो । उनीहरू कसैका प्रतियोगी बन्दैनन् । अमिला मनहरूको औपचारिक शुभशब्दहरूमा ध्यान दिँदैनन् । कति मनहरू प्रतिष्ठाका इष्र्यामा परिश्रमीको प्राप्तिलाई इग्नोर गर्न पुग्छन् । जसको जति छ, त्यही देखिने हो, जति कर्म गर्छ, त्यति व्यवहारमा आउने हो भन्ने चेतले नै कर्म सिद्धी गर्छ । पौरखी परिश्रमलाई प्रोत्साहन गरेर नै सिर्जनाको यात्रा अघि बढ्ने हो । त्यसैले फराकिलो मन, उदात्त भावना र सिर्जनाको कर्म यात्राका प्रस्थान बिन्दू हुन् । परिश्रमी यात्रा न जीवनमा प्रतिष्ठा माग्छ, न मृत्युपछिको प्रशंसा । सुख होइन, सिद्धि खोज्छ । फगत कर्म, समपर्ण र संघर्ष उसको यात्रा हुन्छ । जति नै जर्जर र संघर्षपूर्ण भएपनि अन्तिम बिन्दूसम्म यात्रा अविराम हुन्छ । यात्रा सकिएको उसलाई पत्तो हुँदैन ।

जेठ १८, २०७६ मा प्रकाशित

गोपीनाथ मैनाली

मैनाली नेपाल सरकारका सचिव हुन् । 

लेखकबाट थप...

प्रतिक्रिया दिनुहोस