जीवन जिउने कला

जेठ २५, २०७६

कतिपय मानिस भन्ने गर्छन् ‘एक्लो छुु केही पनि गर्न सकिँदैन, सक्दिनँ तर यो सोचको कुरा हो, यथार्थ होइन । जीवन जिउने कला नजान्दाको परिणाम मात्र हो यो ।

वस्तुतः कोही पनि एक्लो छैन, हुँदैन, हुनै सक्दैन संसारमा । न तपाईं एक्लो हुनुहुन्छ, न म नै एक्लो छु । सारा संसार साथमा छन्, सहयोग गर्न बसेका छन्, सहयोगका हात बढाइरहेका छन् । मात्र लिन जान्नुपर्छ केही गर्नै पर्दैन ।


ADVERTISEMENT

जे गर्नुपर्ने हो उनीहरूले नै गरिदिनेछन् ।  हो, लिनका लागि भने केही गर्नुपर्छ, त्यो पनि नाम मात्रको । तपाईंले गर्ने भनेको बिहानदेखि बेलुकासम्म आफैले गर्दै आएको काम नै हो । तपाईंले गर्ने काम त्यही हो, जुन गर्दै आउनुभएको छ । 

तपाईंको काम त्यही हो, जसलाई आफ्नो बनाउनु भएको छ । तपाईंले गर्ने भनेको त्यसैलाई निहाल्ने हो, सजिलो बनाउने हो, कसरी फाइदाजनक बनाउन सकिन्छ सोच्ने हो । गरिरहेको काम छाडेर अर्को खोज्न थाल्नुभयो भने खोज्दैमा जीवन जान्छ कतिबेला गर्ने ? 

प्रायः सुनिन्छ, आफूलाई परिवर्तन गर्नुपर्छ । धर्मशास्त्रले यही भनेको छ, धर्मगुरुले त्यही भनेका छन्, समाजले यही भनेको छ, सायद शिक्षाले पनि यही भनेको छ । होऽऽ गडबडी यहीँ छ । आफूलाई कसरी परिवर्तन गर्ने ? कसरी असम्भव हुन्छ यो ? असम्भव कुरा हो । आफूलाई कसैले पनि परिवर्तन गर्नै सक्दैन, परिवर्तन हुनै सक्दैन । जे हुनुभयो हुनुभयो, जस्तो हुनुभयो हुनुभयो । तपाईंलाई बनाउने तपाईं होइन ।

तपाईंले बनाउनुभएकै होइन । बनाउने नै अरु छन् भने कसरी सक्नुहुन्छ तपाईं आफूलाई परिवर्तन गर्न ? यसका लागि त पुनः सिन्धुमा चिहाउन जानुपर्छ, बिन्दूमा प्रवेश गर्नुपर्छ, बुवाको वीर्यमा छिर्नुपर्छ, आमाको गर्भमा प्रवेश गर्नुपर्छ । त्यो पनि तपाईंले चाहे अनुसार हुन्छ, बन्छ भन्ने छैन । परमात्माले जे चाह्यो त्यही हुने हो, जस्तो चाह्यो त्यस्तै बन्ने हो । हो, आफ्नै दिनचर्यालाई भने परिवर्तन गर्न सक्नुहुन्छ । आफूलाई परिवर्तन गर्नुपर्छ भनेको पनि सम्भवतः यही नै हुनुपर्छ । आउनुस् आजको बसाइमा यसैलाई केलाउने प्रयास गरौं । 

सर्वप्रथम बिहान उठ्नेबित्तिकै ओछ्यानमै बसेर त्यो परमात्माको सम्झना गर्नुहोस्, नमन गर्नुहोस्, जसले तपाईंंलाई बनाएको छ । उनको असीम दयालाई मनन् गर्नुहोस्, कृतकृत्य हुनुहोस् । मनमनै प्रार्थना गर्नुहोस्, हे परमात्मा ! तपाईंले मलाई जन्म दिएर ठूलो गुन लगाउनुभएको छ । यति ठूलो वैभवको मालिक बनाउनुभएको छ, आँखा दिनुभएको छ, कान दिनुभएको छ, हात, गोडा, दिनुभएको छ, बोल्ने वाणी, सोच्ने मन र विचार गर्ने बुद्धि दिनुभएको छ तपाईं धन्यवाद छ भन्नुहोस्, साधुवाद दिनुहोस्, नमस्कार गर्नुहोस्, सम्भव भए १–२ थोपा आँशु चुहाउनुहोस्, जसले तपाईंको मन निर्मल पार्नेछ, शरीर हल्का बनाउने छ ।

त्यसपछि त्यो प्राणतत्वलाई नमन गर्नुहोस्, जसले तपाईं जीवित राखेको छ । उसको सम्झना गर्नुस्, उसको गतिलाई निहाल्नुहोस् । उसले कसरी शरीरबाट बाहिर निस्कने र भित्र पस्ने गरिरहेको छ त्यसलाई मनन गर्नुहोस् । प्रतिपल धड्किरहेको उसको आवाज सुन्ने प्रयास गर्नुहोस् । उसले गरेको सहयोगको सम्झना गर्नुहोस् । उसको स्रोत के हो त्यतातिर ध्यान दिनुहोस् अनि त्यसप्रति इमान्दार हुने प्रण गर्नुहोस्, इमान्दार हुने प्रयास गर्नुस्, जसले गर्दा नाडी शोधन हुन्छ, प्राणतत्व शोधन हुन्छ, हावा दुषित हुन दिँदैन, अन्ततः तपाईलाई नै फाइदा गर्नेछ ।

तेस्रो नम्बरमा ती रक्तकणलाई नमन गर्नुहोस्, ती रक्त कोशिकाहरूको सम्झना गर्नुहोस् जो तपाईंको शरीरमा जीवन उर्जा बनेर बगिरहेको छ, जसले तपाईंलाई जीवन्त राखेको छ । अनि तिनका आधार केके हुन् तिनका सम्झना गर्नुहोस्, उनीहरूप्रति बफादार रहने प्रतीज्ञा गर्नुहोस्, दिनभर प्रण पूरा गर्ने प्रयास गर्नुहोस्, जसले वातावरण शुद्धीकरण गर्छ, अन्ततः तपाईंलाई  नै फाइदा पुर्‍याउँछ ।  

चौथो नम्बरमा ती बाबु र आमाको सम्झना गर्नुस्, जसले जन्म दिएका छन्, सुनौलो संसार देखाएका छन्, सुनौलो संसारका अधिपति बनाएका छन्, हुर्काएका छन्, बढाएका छन्, पठाएका छन् । उनीहरूलाई मनमनै नमस्कार गर्नुहोस्, उनीहरूको देनप्रति कृतकृत्य हुनुहोस्, उनीहरूप्रति इमान्दार हुने प्रण गर्नुहोस्, प्राणप्रणले सो प्रण पूरा गर्ने प्रयास गर्नुहोस् । 

पाँचौ नम्बरका घरपरिवार, गुरुजन, मान्यजनहरू र छरछिमेकीको सहयोगलाई सम्झनुहोस् । उनीहरूको सम्मान गर्न सिक्नुहोस्, उनीहरूप्रति इमान्दार हुने कसम खानुहोस्, दिनभर कसमको हेक्का राख्नुहोस्, त्यसलाई पालन गर्न तत्पर हुनुहोस् । 

त्यसपछि ओछ्यानबाट उठ्नुहोस् । नित्यकर्मतिर लाग्नुहोस् । घरमा बालबालिका, घरपालुवा जनावर, वस्तुभाउ, रुख विरुवा वनस्पति केके छन् तिनीहरूतिर ध्यान दिनुहोस् । उनीहरूका निम्ति खानपान, दाना, पानीको व्यवस्था कहाँ के गर्नुपर्छ गर्नुुहोस् । बालबलिकालाई स्कुल पठाउनुपर्ने भए त्यतातिर ध्यान दिनुहोस्, बाबुआमा, बालवृद्ध आतुर परेका कोही भए उनीहरूको सेवामा जुटुनुहोस् ।  केही समय स्वाध्याय गरी ऋषिमुनिहरू तथा पूर्वजहरूको ध्यान गर्नुहोस्, सम्झाना गर्नुहोस्, उनीहरूको सहयोगलार्ई मनन गर्नुहोस्, परम्परा अनुसार केही गर्नुपर्ने भए पूरा गर्ने बानी बसाउनुहोस् । त्यसपछि खाना बनाउने, खाने जहाँ जे गर्नुपर्छ गर्नुहोस् । खानपीनको काम सकिएपछि आफ्नो काममा लाग्नुहोस् । काम ठूलो सानो नभन्नुहोस्, दिक्क नमान्नुहोस्, स्कूल, क्याम्पस, कार्यालय, खेती, किसानी जे पनि हुन सक्छ । जे भएपनि इमान्दारीपूर्वक गर्नुहोस् । तपाईंका महायज्ञ भनेका पनि तिनै हुन् । महापूजा भनेका पनि तिनै हुन् । मीठो बोल्नुस्, नम्र हुनुस् । मानव सेवालाई नै माधव सेवा ठान्नुहोस् ।

साँझ खाना खाएपछि करीब २ घन्टा स्वाध्याय गर्नुुहोस् । दिनभरिको कामको समीक्षा पनि हुन सक्छ भोलि गर्नुपर्ने कामको सिंहावलोकन पनि हुन सक्छ । दिनभर केकति राम्रा काम भए, हुन सके, केकति नराम्रो काम तथा गल्ती कमजोरी भए तिनको लेखाजोखा गर्नुहोेस्, राम्रा कामका लागि परमात्मालाई धन्यवाद दिनुहोस् । गल्तीकमजोरी तथा नराम्रा कामका लागि क्षमा माग्दै पुनः त्यस्तो हुन नदिने प्रण गर्नुहोस्, त्यस्तो शक्तिका लागि परमात्मासित प्रार्थना गर्नुहोस् र ओछ्यानमा गएर निद्रादेवीको आराधना गर्नुहोस् ।

यी यस्ता केही सार्वभौम नियम हुन्, जसको निरन्तर अनुगमनले केही वर्षपछि नै तपाईंलाई कहाँबाट कहाँ पुर्‍याउने छ । पहिले तपाईं कहाँ हुनुहुन्थ्यो अहिले कहाँ हुनुहुन्छ आफैं अनुमान लगाउन सक्नुहुन्छ ।

जीवनमा अरुबाट सहयोग चाहिन्छ । अरुको सहयोग विना कामै चल्दैन तर यसका लागि उनीहरूको मन जित्नुपर्छ, जुन काम यस्तै कार्यबाटै सम्भव हुन्छन् । यस तपाईंबाट निरन्तर प्रवाह भएका यस्ता सकारात्मक उर्जाले घरपरिवार, टोलछिमेकलाई प्रभावित पार्छ । बिस्तारै उनीहरू पनि यही मार्गमा आउनेछन्, आउन कर लाग्नेछ । यसले पहिले घरपरिवार सुधार्छ । त्यसपछि क्रमशः टोलछिमेक, समाज हुँदै राष्ट्रलाई नै बनाइदिन्छ । सबैभन्दा ठूलो कुरो तपाईंलाई आफैलाई बनाउँछ । अस्तु आजलाई यति नै बाँकी अर्को बसाइमा ।

जेठ २५, २०७६ मा प्रकाशित

कमल रिजाल

लोकान्तरका नियमित स्तम्भकार कमल रिजाल धार्मिक संस्कार र समसामयिक विषयमा कलम चलाउँछन् ।

लेखकबाट थप...

प्रतिक्रिया दिनुहोस