लोक सेवाको काममा हस्तक्षेप गर्नु गैरजिम्मेवार कार्य - साझा विवेकशील पार्टी

जेठ २८, २०७६

काठमाडौं –साझा विवेकशील पार्टीले लोक सेवा आयोगले स्थानीय तहमा पदपूर्तिका लागि निकालेको विज्ञापन रद्द गर्न संसद्को राज्य व्यवस्था तथा सुशासन समितिले दिएको निर्देशनप्रति आफ्नो गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

प्रवक्ता सूर्यराज आचार्यले मंगलवार एक विज्ञप्ति जारी गर्दै पार्टीको गम्भीर ध्यानाकर्षण भएको जनाएका हुन् । समितिले संवैधानिक आयोगकको काममा प्रत्यक्ष हस्तक्षेप गर्न नमिल्ने जिकिर विज्ञप्तिमा गरिएको छ ।


ADVERTISEMENT

'लोक सेवाको विज्ञापनमा संविधानमा उल्लेखित समावेशिताको सिद्धान्त पालन भए/नभएको बारेमा लोक सेवा आयोगको ध्यानाकर्षण गर्न र आवश्यक देखिएमा विज्ञापनको शर्त परिमार्जनको सुझाव दिन सकिन्छ। तर संसदीय समितिले स्वायत्त संवैधानिक आयोगको काममा प्रत्यक्ष हस्तक्षेप गरी विज्ञापन नै रद्द गर्ने निर्देशन दिनु अत्यन्त गैरजिम्मेवार कार्य हो,' विज्ञप्तिमा भनिएको  छ ।

हेर्नुहोस्, विज्ञप्ति :

प्रेस विज्ञप्ति

लोक सेवा आयोगले स्थानीय तहका विभिन्न पदमा कर्मचारी भर्नाका लागि गरेको विज्ञापनबारेमा प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समितिको निर्णय र निर्देशनप्रति साझा पार्टीको गम्भीर ध्यानाकर्षण भएको छ।

लोक सेवाको विज्ञापनमा संविधानमा उल्लेखित समावेशीताको सिद्धान्त पालन भए नभएको बारेमा लोक सेवा आयोगको ध्यानाकर्षण गर्न र आवस्यक देखिएमा विज्ञापनको शर्त परिमार्जनको सुझाव दिन सकिन्छ। तर संसदीय समितिले स्वायत्त संवैधानिक आयोगको काममा प्रत्यक्ष हस्तक्षेप गरी विज्ञापन नै रद्द गर्ने निर्देशन दिनु अत्यन्त गैरजिम्मेवार कार्य हो।

एकातिर लाखौंको संख्याका शिक्षित र सक्षम युवा बेरोजगार हुनु परिरहेको छ भने अर्कोतर्फ सक्षम कर्मचारीको अभावमा स्थानीय सरकारका नियमित काममा व्यवधान पुगेको सर्वविदितै छ।

राजनीति भागबण्डाले राज्यका विभिन्न अङ्गहरू नै जर्जर भइरहेको अवस्थामा फेरी राजनीतिक भागबन्डाकै उद्देश्य राखेर लोक सेवाको विज्ञापन रद्द गरिनु हुँदैन भन्ने साझा पार्टीको अडान छ।

योग्यता र क्षमताका आधारमा कर्मचारी छनौट गर्ने स्वतन्त्र र निष्पक्ष संवैधानिक निकायका रुपमा लोक सेवा आयोगको विश्वसनीयता आम जनतामा अझै कायम छ।

साँघुरो राजनीतिक स्वार्थका लागि लोक सेवा आयोगको विश्वसनीयता र स्वायत्तामा आँच आउने काम कसैबाट पनि नहोस् भन्ने कुरा पनि संबन्धित सबैमा साझा पार्टी संमरण गराउन चाहन्छ।

डा. सूर्यराज आचार्य
प्रवक्ता
साझा पार्टी
मिति: २८ जेठ २०७६

जेठ २८, २०७६ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस