कम्युनिस्ट हुँ भन्नेको व्यवहार र आचरण अर्कै देखिएको छ - भीम रावल

फाइल फोटो
जेठ २९, २०७६

काठमाडौँ - सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का स्थायी कमिटी सदस्य एवम पार्टीको सुदूरपश्चिम इञ्चार्ज भीम रावलले कम्युनिष्ट नेता कार्यकर्ताले आचरण सुधार गर्नुपर्ने बताएका छन् ।

नेकपाको बझाङ जिल्ला कमिटी सदस्यहरुलाई आज सदरमुकाम चैनपुरमा सपथ ग्रहण गराउन यहाँ आएका रावलले कतिपयले कम्युनिष्ट हुँ भने पनि उनीहरुको आचरण र व्यवहारमा त्यस्तो नदेखिएको बताए ।


ADVERTISEMENT

'हाम्रो व्यवहार र कार्यशैलीमा सुधार ल्याउनु जरुरी छ, गरीब असहायको हितका लागि काम गर्नुपर्छ,' नेता रावलले भने । उनले पछिल्लो समयमा नेकपाका नेता कार्यकर्ताले विभिन्न योजनाको उपभोक्ता समितिमा बसेर अनुचित फाइदा लिने गरेको जनगुनासो आउने गरेको भन्दै असन्तुष्टि पोखे ।

'योजना र कार्यक्रमको रकम दुरुपयोग गरे व्यक्ति र सङ्गठन कमजोर हुन्छ,' उनले भने । अहिले सङ्घीय, प्रदेश र स्थानीय तहमा कम्युनिष्टको बहुमत भएकाले सुनौलो अवसरको सदुपयोग गरी ‘समृद्ध नेपाल, सुखी नेपाली’को नारा साकार गर्नुपर्नेमा उनले जोड दिए ।

१ सय ३५ सदस्यीय जिल्ला कमिटीमा पूर्व एमालेबाट ८० तथा पूर्व नेकपा माओवादी केन्द्रबाट ५५ जना सदस्य रहेका छन् । जिल्ला अध्यक्षमा पूर्व नेकपा माओवादी केन्द्रका नेता मिन कुँवरलाई चयन गरिएको छ । सपथ ग्रहण कार्यक्रममा नेकपाका नेता लेखराज भट्ट, कर्ण थापालगायतको उपस्थिति थियो ।

 

जेठ २९, २०७६ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस