वैदेशिक रोजगार मुद्दामा फरार प्रतिवादी पक्राउ, प्रहरीको हतियार खोस्न खोज्ने पनि समातिए

जेठ २९, २०७६

काठमाडौं-वैदेशिक रोजगार ठगी मुद्दामा फरार काठमाडौं महानगरपालिका-३२ का सुमन देउजालाई रानीबन काठमाडौंबाट मंगलबार प्रहरीले पक्राउ गरेको छ । वैदेशिक रोजगार न्यायाधिकरणको २०७१ माघ ४ गतेको फैसलाले १ वर्ष ६ महिना कैद र १ लाख ५० हजार रुपैयाँ जरिवाना    ठहर भई फरार सुमनलाई केन्द्रीय अनुसन्धान व्यूरो, महाराजगंजबाट खटिएको प्रहरीले पक्राउ गरेको हो । 
पक्राउ परेका सुमनलाई काठमाडौं जिल्ला अदालतमा पेश गरिएकोमा अदालतको आदेशले कैद भुक्तानका लागि कारागार कार्यालय जगन्नाथदेवल काठमाडौं  पठाइएको छ ।

यसैगरी पोखरा महानगरपालिका-१० उत्तम चोकबाट सोही महानगरपालिका बस्ने ३० वर्षीय गोबिन्द थापालाई नियन्त्रित लागूऔषध नुर्फिन, फेनरागन र डाईजेपाम समेत गरी ५ सय एम्पुल र ग.१३ प ८२२८ नम्बरको मोटरसाइकल सहित बुधबार बिहान प्रहरीले पक्राउ गरेको छ ।  
पक्राउ गर्ने क्रममा थापाले प्रहरीमाथि नै हातपात गरी प्रहरीसँग रहेको हतियार समेत खोस्न खोजेकोले खुट्टामा गोली हानेर प्रहरीले थापालाई पक्राउ गरेको हो । घाइते थापाको पश्चिम क्षेत्रीय अस्पताल गण्डकीमा उपचार भइरहेको छ । 
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाइएको छ । 
 


ADVERTISEMENT

जेठ २९, २०७६ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस