मोटरसाइकल एकआपसमा ठोक्किँदा २ जनाको मृत्यु

प्रतिकात्मक तस्वीर
जेठ ३०, २०७६

सर्लाही – जिल्लाको हरिपुर नगरपालिकामा बुधवार राति २ मोटरसाइकल एकआपसमा ठोक्किँदा २ जनाको मृत्यु भएको छ भने ४ घाइते भएका छन् ।

हरिपुर नगरपालिका–७ चिताइस्थित भित्री सडकखण्डमा ना२५प ६९२२ नम्बरको मोटरसाइकल र ज२प ७८८६ नम्बरको मोटरसाइकल एकआपसमा बुधवार राति करीब साढे १० बजेको समयमा ठोक्किँदा ईश्वरपुर नगरपालिका–१५ का ३० वर्षीय अनिल चौधरी र ईश्वरपुर नगरपालिका–१४ का ३५ वर्षीय अशोक चौधरीको मृत्यु भएको प्रहरीले जनाएको छ । मृतक दुवै  मोटरसाइकल चालक हुन् ।


ADVERTISEMENT

दुवै मोटरसाइकलमा चालकसहित ३/३ जना बसेका थिए । मोटरसाइकलको पछाडि बस्ने चारै जना घाइते भएको सर्लाहीका प्रहरी प्रवक्ता एवं प्रहरी नायव उपरीक्षक प्रतितसिंह राठोरले बताए । ना२५प ६९२२ नम्बरको मोटसाइकल पछाडि बस्ने अच्छेलाल चौधरी र रामबाबु चौधरी समान्य घाइते छन् । दुवैको स्थानीय अस्पतालमा उपचार गराई घर फर्केका छन् भने ज२प ७८८६ नम्बरको मोटरसाइकल पछाडि बस्ने ईश्वरपुर नगरपालिका–१४ का १७ वर्षीय धीरेन्द्र चौधरी र लालबन्दी नगरपालिका–२१ का सन्तोष चौधरी गम्भीर घाइते भएका छन् ।

गम्भीर घाइते दुवैलाई उपचारका लागि वीरगञ्ज अस्पताल सिफारिस गरिएको छ भने मृतकको शव परीक्षणका लागि सर्लाही अस्पताल मलंगवामा राखिएको छ । 

पोखरीमा युवकको शव फेला

सर्लाही सदरमुकाम मलंगवाको बजार क्षेत्रमा रहेको जनसागर पोखरीमा १ युवाको शव फेला परेको छ । फेला परेको शव मलंगवा नगरपालिका–४ बस्ने ३० वर्षीय रवि मेस्तर रहेको छ । ना२ह १२२३ नम्बरको टेम्पोसहित उनको शव पोखरीमा फेला परेको हो ।

मृतकको शरीरभरि गहिरो घाउ देखिएकाले उनलाई कसैले हत्या गरेर पोखरीमा फालेको हुनसक्ने स्थानीयको अनुमान छ । शव परीक्षणपछि मात्र घटनाबारेमा केही भन्न सकिने सर्लाहीका प्रहरी प्रवक्ता एवं प्रहरी नायव राठोरले बताए । मृतक मेस्तरलाई अन्य ठाउँमा हत्या गरेर टेम्पोमा राखेर पोखरीमा टेम्पोसहित फालेको हुनसक्ने स्थानीयको भनाइ छ ।

मृतक मेस्तर मलंगवा नगरपालिकामा सरसफाइ गर्ने कर्मचारीको रुपमा काम गर्दै आएका थिए । शवसँगै पानीमा फेला परेको टेम्पो मृतकका आफ्नै काका मिश्रीलाल मेस्तरको रहेको र उनी अहिले सम्पर्कविहीन रहेको प्रहरी नायव उपरीक्षक राठोरले बताए । पोखरीमा टेम्पो खसेको आवाज सुनेर राति करीब साढे ११ बजे नै मृतकको शव स्थानीयले निकालेका थिए भने टेम्पो बिहीवार बिहान प्रहरीले डोजरको सहयोगले निकालको छ ।

शव परीक्षणका लागि सर्लाही अस्पताल मलंगवामा राखिएको छ । 

जेठ ३०, २०७६ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस