किसानको उन्नति बिना देशको विकास हुन सक्दैन : मन्त्री अर्याल

जेठ ३२, २०७६

स्याङ्जा- भूमि व्यवस्था, सहकारी तथा गरीबी निवारण मन्त्री पद्याकुमारी अर्यालले कृषिको विकास र किसानको उन्नति बिना देशको विकास हुन नसक्ने बताएकी छन् ।

वालिङ नगरपालिकाको वडा नं १२ र १४ का कृषकहरूले एक हजार रोपनी जमिनमा सामूहिक रूपमा लगाउन थालेको कागती खेतीका बारेमा शनिवार आयोजित अन्तरक्रिया कार्यक्रममा उनले सरकार कृषिका माध्यमबाटै देशमा समृद्धि ल्याउने अभियानमा रहेको बताएकी हुन् । 


ADVERTISEMENT

माटो र हावापानी सुहाउँदो उत्पादन बढी हुने खालका खेती लगाउन पनि किसानहरुलाई उनले आग्रह गरिन् । नगरपालिकाका दुई वडाका ढिकिडाँडा, तमादि र अमलडाँडामा एक हजार रोपनी जमीनमा सामूहिक रुपमा गर्न लागिएको कागती खेतीलाई एउटा नमूना मोडलका रुपमा देशभर विस्तार गर्न सकिने मन्त्री अर्यालको भनाइ छ ।

कागती खेती अभियानको नेतृत्व गरिरहनुभएका भूमि व्यवस्था, सहकारी तथा गरीबी निवारण मन्त्रालयका उपसचिव टेकप्रसाद लुइँटेलले पहाडबाट बसाइ सरेर तराईका साथै बजार क्षेत्र र रोजगारीका लागि विदेश जानेको सङ्ख्या बढेकाले खेती गर्ने जनशक्तिको अभावमा जमिन बाँझो हुँदै जाने क्रम बढेकाले सो अभियान सञ्चालन गरेको बताए । 

तीन वर्षसम्म अन्तरबालीका रूपमा कागती खेतीभित्र तरकारी खेतीसमेत लागाइने छ । वडा नं १४ का वडा सदस्य एवं स्थानीय गोमप्रसाद लुइँटेलले बिरुवा रोप्नका लागि रुख काट्नुका साथै जमिन मिलाउने काम भइरहेको बताए । लगाएको खेतीबाली बाँदरले खाएर हैरान भएका कृषकहरू सामूहिक कागती खेती लगाउने अभियानले उत्साहित भएका छन् ।

जेठ ३२, २०७६ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस