पुर्ख्यौली मूर्तिकला रोजेका २६ वर्षे अनिश : मूर्ति कुँदे, कुदेनन् आधुनिक पेशातिर

जेठ ३२, २०७६

काठमाडौं – संघीय राजधानी काठमाडौं उपत्यका मन्दिरै–मन्दिरको शहरका रुपमा परिचित छ । कसरी बन्यो त काठमाडौं यस्तो ?

काठमाडौंलाई मन्दिरै–मन्दिरको शहर बनाउन हस्तकला र मूर्तिकारको महत्त्वपूर्ण भूमिका मानिन्छ तर आधुनिकीकरणको विकाससँगै काठमाडौं उपत्यकामा स्थानीय कला र मौलिक मूर्तिकारको अभाव खड्किँदै गएको भान हुन्छ ।


ADVERTISEMENT

केही मूर्तिकार भने अझै पनि परम्परागत पेशा आवद्ध देखिन्छन् । जसमध्येका एक हुन् । ललितपुरको पाटनका अनिश बज्राचार्य । २६ वर्षीय अनिश पछिल्लो पुस्ताका जल्दाबल्दा मूर्तिकार देखिन्छन् ।

‘हजुरबुवाले शुरू गर्नुभएको पारिवारिक पेशा मलाई पनि मनपर्‍यो, त्यसैले म पनि यो पेशामा लागें,’ बज्राचार्यले भने, ‘मेरो घरवस्तीको टोललाई भिक्षेबहाल टोल भनिन्छ । त्यो टोलका प्रायः सबैले मूर्तिकारको पेशा अवलम्बन गरेका छन् । एक हिसाबले यसलाई पुर्ख्यौली पेशा भनेपनि हुन्छ ।’

सानैदेखि घरमा बुवा, आमा र काकाले मूर्तिकारको काम गरेको देखेका थिए उनले । ‘जानी–नजानी मैले पनि मूर्तिहरू कुँद्न खोज्थें, सानैदेखि यो पेशामा मलाई निकै चाख थियो ।’

अनिशको पुस्ताका धेरै मान्छे नयाँ समयसँगै भित्रिएका नयाँ प्रकारका व्यवसायतर्फ आकर्षित छन् । नयाँ प्रकारका व्यवसायले ऐतिहासिक पहिचान, कला र संस्कृतिलाई अप्ठ्यारो पार्दै आएको छ । नयाँ पुस्ताका मान्छेमध्ये कला र पहिचानको सकारात्मक पक्षलाई व्यावसायिकीकरण गर्नेमा अनिश उदाहरण हुन् ।

‘१२ कक्षासम्म पढें तर पढाइमा त्यतिधेरै रुचि लागेन, मलाई मुर्ति कुँद्ने पेशामै चाख लाग्यो । ८ वर्षजति भयो अहिले निरन्तर यही काम गर्छु । बुद्ध, गणेश, महांकाल र कुवेरको मुर्ति बनाउँछु,’ उनले भने, ‘अरुको तुलनामा बुद्ध र महांकालको मूर्ति राम्रो बनाउँछु, मुर्ति बनाउँदै जाँदा मुर्तिहरूको आकार दिमाखमा सेट हुँदै जान्छ र मूर्ति बनाउन सजिलो हुँदै जान्छ ।’

अनिशको संयुक्त परिवार छ । काकाकाकी र उनको परिवारसँगै बस्छन् । परिवारका सबै सदस्यमा मूर्ति बनाउने सीप छ र सबैले मिलेर काम गर्छन् । पहिले अनिशको परिवारमा मूर्ति कुँद्ने उद्योग नै चलेको थियो । कामदारले पनि काम गर्थे । अहिले मूर्तिको बजार घट्दै गएपछि कामदार छैनन् । सबै काम परिवारका सदस्य नै मिलेर गर्ने गरेको अनिश बताउँछन् ।

‘हामी परिवारका सबै मिलेर काम गर्छौं । बुवाले केको मूर्ति बनाउने त्यसको डिजाइन बनाउनुहुन्छ, मैले त्यसलाई कोर्ने काम गर्छु, दाईले मुख बनाउनुहुन्छ, आमाले फूल बुट्टा भर्नुहुन्छ अनि काकाले फिनिसिङ गर्नुहुन्छ । हामी सबै मिलेर मूर्ति तयार गर्छौं ।’

नयाँ पुस्ताका युवामा धर्म, संस्कृति र परम्पराप्रति खासै रुचि देखिँदैन तर अनिश भन्छन्, ‘मलाई मेरो सीप र पेशाप्रति गर्व लाग्छ । हाम्रो समाजको पहिचान नै यही कलाले प्रस्तुत गरिराखेको छ । मसँगका साथीले नै यो काम गर्दैनन् । धुलोमैलो कारणले पनि यो काममा त्यति आकर्षण नभएको होला । पहिले मेहनतको कदर हुन्थ्यो, अहिले ग्राहकलाई सामग्री छिटो दिनुपर्छ । त्यसैले हाम्रो कलाको मूल्य घट्दै गएको छ ।’

मूर्तिकार व्यवसायमा सबैभन्दा महत्त्वपुर्ण वस्तु ढुंगा हो । अनिशका अनुसार उपत्यकाभित्रका प्रायः मूर्तिकारले दक्षिणकालीबाट आवश्यक ढुंगा ल्याउने गर्दथे । अहिले सरकारले त्यहाँबाट ढुंगा ल्याउन बन्द गरिदिएको छ । 

उनका अनुसार अहिले मूर्तिकारलाई ढुंगाको ठूलो समस्या छ । ढुंगा धेरै थरिका हुन्छन् । मूर्ति बनाउन प्रयोग गर्ने गुणस्तरीय ढुंगाको पनि अचेल अभाव हुँदै गएको छ । साधारण प्रकारका ढुंगाको मूर्ति बनाउँदा धेरै नटिक्ने र मूल्य पनि कम पर्छ तर गुणस्तरीय ढुंगाको मूर्तिको मुल्य भने करीब दोब्बर–तेब्बर पर्छ । 

‘अचेल हाम्रो पेशाको बजार घट्दै गएकोे छ । नक्कली सामानले राम्रो बजार लिएको छ । बजारमा बर्सेनि हरेक कुराको भाउ बढिरहेको छ तर हाम्रो सामानको भाउ बढ्ला भन्नुभन्दा पनि झन् घट्दो छ,’ उनले भने, ‘नेपाली कलात्मक शैलीमा बनेका बुद्ध, कुवेर र महांकालको मूर्ति चिनियाँले पनि खरिद गर्छन् । अनिशका अनुसार मूर्तिका सबैभन्दा धेरै ग्राहक चिनियाँ पर्यटक र थोक व्यापारी हुन् तर अरु देवताका मूर्ति भने नेपालीले नै खरिद गर्छन् ।

भनिन्छ – हरेक हस्तकलाका सामाग्रीले समाजको वर्तमान, इतिहास वा किंवदन्तीको प्रतिनिधित्व गरेको हुन्छ । मूर्ति आफैमा पढ्न मिल्ने एउटा चित्रकथा हो । अनिश भन्छन्, ‘हो मूर्तिले कथा बोकेको हुन्छ तर हामीले फोटो हेरेर मूर्ति बनाउँछौ । चिनियाँले मूर्ति हेरेर फोटो किन्छन् तर अमेरिकनले मूर्ति किन्दा मूर्तिले बोकेको कथा सोधेर मात्रै किन्छन् । कथा पनि पढ्न पाएको भए अझ राम्रो हुन्थ्यो, व्यापार गर्न अझ सजिलो हुन्थ्यो तर मेरो यो विषयमा कमी रहेको छ । यसलाई जान्नुपर्ने छ ।’

मूर्ति बनाएर विदेश निर्यात गर्न पुरातत्व विभागबाट प्रमाणित गर्नुपर्ने व्यवस्था छ । ‘हामीले मूर्ति बनाइसकेपछि मूर्तिलाई पुरातत्व विभागबाट प्रमाणित गर्नुुपर्छ । पुरातत्व विभागमा प्रमाणित गर्दा पैसा लाग्दैन । टिकटको २५ रुपैयाँ लाग्छ । पुरातत्व विभागले गुणस्तरको नाप जाँच गरेर हामीलाई प्रमाणपत्र दिन्छ । अनि मात्रै हामीले विदेशी पर्यटकलाई बेच्न सक्छौं । नक्कली र ऐतिहासिक मूर्तिहरूको चोरी निकासी रोक्न सरकारले यसो गरेको होला ।’

जेठ ३२, २०७६ मा प्रकाशित

नारायण अर्याल

पत्रकार अर्याल लोकान्तर संवाददाता हुन् ।

लेखकबाट थप...

प्रतिक्रिया दिनुहोस

ताजा समाचार