राम मन्दिरका ‘सेवक’ महन्थ राम गिरी : सरसफाइ, पूजापाठदेखि भान्सासम्म दौडधूप

जेठ ३२, २०७६

जनकपुरधाम – मन्दिरका महन्थ भनेपछि सामान्ययता पूजापाठ गर्ने र विलासी जीवन बिताउने भन्ने बुझाइन्छ । केहीले महन्थलाई पैसा कमाउने र परिवार पाल्ने पदको रुपमा प्रचार गर्छन् ।

कतिपय महन्थ साँच्चिकै गलत क्रियाकलाप र सम्पत्ति अनियमिततामा समेत मुछिन्छन् तर धार्मिक आस्थालाई शीरोधार्य गर्ने र आध्यात्मिक आचरणमा बस्ने महन्थ आध्यात्मिक ‘सेवक’को रुपमा देखिन्छन् ।


ADVERTISEMENT

जनकपुरधामको सबैभन्दा प्राचीन राम मन्दिरका महन्थ राम गिरी सेवक महन्थको उदाहरण हुन्, जो पूजापाठ र भजनकीर्तनमै दौडधूप गरिरहेका हुन्छन् । अन्य महन्थ बेलाबखत विभिन्न विवादमा तानिने गरेपनि ४५ वर्षीय महन्थ राम गिरी हालसम्म विवादबाट मुक्त रहेका छन् ।

गिरी राम जानकी विवाह पञ्चमी महोत्सव हुँदा राजा दशरथको भूमिका निर्वाह गर्छन् । सम्धि मिलन र तिलकोत्सव कार्यक्रम राम मन्दिरमै उनकै अध्यक्षतामा आयोजन हुने गरेको छ । 

उनी हरेक दिन बिहान ४ बजे उठेर नित्यकर्म गर्दै ५ बजे भगवान् रामको मन्दिर खोल्ने काममा लाग्छन् । मन्दिरको सरसफाइ गरेर, पूजापाठ, आरती गरेर १२ बजे उनी भोजन गर्छन् । केही समय आराम गरेर फेरि ३ बजेतिर मन्दिर खोल्छन् । फेरि पूजापाठ आदि गर्दै मन्दिरको पट राति ९ बजे बन्द गर्छन् । राति ११ बजेसम्म भोजनप्रसाद तयार हुन्छ र मन्दिरका अन्य पूजारी तथा कर्मचारी पनि खाना खाएर सुत्ने गर्छन् ।

‘मेरो दिनचर्या भनेकै यही हो, पूजापाठ गर्ने, आएका साधुसन्तको सेवा गर्ने तथा भक्तजनलाई प्रसाद दिने,’ राम मन्दिरका महन्थ गिरीले भने, ‘अन्य कामको लागि मलाई फुर्सद नै हुँदैन ।’

सरकारी स्वामित्वको गुठी संस्थानले उनलाई महन्थ नियुक्त गरेको हो । २०४२ सालमा मन्दिरका महन्थ अमर गिरीको निधन भएपछि मन्दिरमा महन्थ पद रिक्त भएको थियो । गुठी संस्थान थापाथली काठमाडौंबाट १ जना साधुलाई ल्याएर महन्थ बनाइयो तर ६ महिनापछि उनी गए । फेरि अर्को सन्तलाई महन्थ बनाइयो, उनी पनि टिकेनन् । त्यसपछि जानकी मन्दिरका महन्थ रामतपेश्वर दास वैष्णवको सहयोगमा राम गिरीलाई गुठी संस्थानले महन्थको नियुक्ति दिइयो ।

गिरी राम मन्दिरमा रहेर हुर्किएका बालक हुन् । उनकी आमा र नानी (आमाको आमा) रामेछापबाट जनकपुरधाम आएका थिए । ‘मेरी आमा जानकीदेवी अधिकारी रामेछापबाट आएर जनकपुरमा बस्नुहुन्थ्यो तर म सानै छँदा उहाँको निधन भयो,’ गिरीले भने, ‘त्यसपछि मेरो नानीले मलाई राजदेवी मन्दिरको बरण्डामै राखेर हुर्काउनुभयो ।’ राम मन्दिरको छेउमै उत्तरपट्टि राजदेवी मन्दिर छ । त्यहीँबाट उनी हुर्किएका थिए । पछि संयोगले उनी महन्थ बने ।

२०६३ सालसम्म उनलाई महन्थबापत गुठी संस्थानले ७ सय रुपैयाँ मासिक तलब दिने गरेको थियो । त्यसपछि गुठी संस्थानले तलब बढाएर ४ हजारसम्म पुर्‍यायो । २०६८ सालमा फेरि बढाएर मासिक ६ हजार ५ सय रुपैयाँ भयो । अहिले उनले मासिक ९ हजार रुपैयाँ तलब पाइरहेका छन् ।

उनले पाउने तलब पनि मन्दिरमा आउने साधुसन्त, अभ्यागतको सत्कार र बिदाइमा नै खर्चिने गरेको उनी बताउँछन् । ‘म बाल ब्रह्मचारी हो, सन्यासी जीवन बिताउँछु,’ महन्थ गिरीले भने, ‘मेरो परिवार नै छैन भने पाएको रुपैयाँ पनि अन्त कतै खर्च नगरेर साधुसन्तको सेवामा नै खर्च गर्ने गरेको छु ।’

गुठी संस्थानले मन्दिरमा १ जना महन्थसँगै १ जना पुजारी, १ जना पर्खतिया (भगवानको पूजाका लागि भाँडावर्तन सफा गर्ने व्यक्ति), २ जना भान्से, २ जना टहलु, २ जना मेस्तर, १ जना ठाकुर (हजाम), १ जना माली र १ जना चौकीदार नियुक्त गरेको छ । सबैलाई न्यून पारिश्रमिक दिने गरिएको उनले बताए । मन्दिरका कर्मचारीलाई मासिक ४ हजार ५ सय रुपैयाँ पारिश्रमिक दिने गरिएको उनले बताए ।

पूजापाठ गर्न गुठीले मासिक रुपमा एकमुष्ठ १४ हजार रुपैयाँ दिने गरेको छ । भोजनका लागि ५ किलो चामल प्रत्येक दिन गुठीले मन्दिरलाई दिने गरेको छ । महन्थसहित कर्मचारीको भोजनका लागि ४ किलो मन्सुली चामल र भगवानको भोग लगाउनक लागि १ किलो बासमती चामल दिने गरिएको उनले बताए । 

दाल १ किलो, सागसब्जीका लागि २५ रुपैयाँ एक छाकको लागि दिने गरिएको उनले बताए । ‘२५ रुपैयाँप्रति छाकमा यति जनाको तरकारी बनाउन सम्भव छ त ?’ उनले भने ।

पूजाका लागि दैनिक रूपमा ३ रुपैयाँ पानको पात किन्न, ३ रुपैयाँ अबिर किन्न, ३ रुपैयाँ केसरी चन्दन किन्न, ५ रुपैयाँ नैवेद्य किन्न, ३ रुपैयाँ जौ तिल किन्न खर्च हुने गरेको उनले बताए । गुठीले दिने बजेटमा सबै साधुसन्तको सत्कार सम्भव नभएको तथा गाह्रो भइरहेको उनले सुनाए । दानपत्रमा आउने रकमले पूजापाठदेखि अन्य साधुसन्तको स्वागत सत्कार गर्ने गरेको उनले बताए । ‘राम मन्दिरमा जानकी मन्दिरजस्तो भक्तजन बढी आउँदैनन्, दानपात्रमा पनि धेरै कम रकम छाड्ने गर्छन्,’ महन्थ गिरीले भने, ‘१ दिनमा ५० रुपैयाँदेखि ५ सय रुपैयाँसम्म चढ्ने गर्छ, कुनै कुनै दिन त १ पैसा पनि चढ्दैन ।’

मन्दिर पुरानो र प्रमुख भएपनि भक्तजन खासै नआउने गरेको उनले बताए । ‘कसैले प्रचारप्रसार पनि गरिदिएको छैन,’ उनले गुनासो गरे । रामनवमी र विवाह पञ्चमीमा भने हजारौंको संख्यामा भक्तजन आउने गरेको उनले बताए ।

जेठ ३२, २०७६ मा प्रकाशित

अजय अनुरागी

अजय अनुरागी लोकान्तरका लागि प्रदेश नम्बर दुई प्रतिनिधि हुन् । 

लेखकबाट थप...

प्रतिक्रिया दिनुहोस

ताजा समाचार