डेँगुको विरुद्ध सचेतना तीब्र पार्दै रेडक्रस

जेठ ३२, २०७६

धरानमा गत एक महिना देखि सुरु भएको डेँगुले धेरैजनालाई प्रभावित पारेपछि स्थानीय विपद व्यवस्थापन समितिको सहयोगमा नेपाल रेडक्रसले चरणबद्ध हिसावले सरसफाई अभियान सञ्चालन गरेको छ । 

धरानको ८ र १५ नंवर वडा डेँगु संकटग्रस्त क्षेत्र घोषणा भएपछि घरभेट गर्ने, ड्र«ममा जम्मा गरिएका सफा पानीलाई हटाउन सुझाव दिने र टोल आँगन सरसफाई गर्ने जस्ता काममा रेडक्रसका स्वयंसेवकहरु हरेक दिन विहान सक्रिय रहेका छन् ।


ADVERTISEMENT

“४० जना रेडक्रसकर्मी र स्थानीय बासिन्दा गरी १०० जनाले हातमा कुचो र हसिँया लिएर सरफाईमा जुटेका छौँ । ” धरान स्थित रेडक्रसका अधिकृत शिवराम खड्काले बताए । उनले भने, “१५ नं वडामा विहिबार, ८ नंवर वडामा शुक्रबार र १७ नंवर वडामा शनिवार विहान अभियानकै रुपमा घरदैलो गरियो । नेपाल रेडक्रस सोसाइटीका सभापती उमेश थापा, मन्त्री मुकुल कयस्थ, वार्ड अध्यक्ष लगायत  शिक्षक, बिध्यार्थीहरु, टोल बिकास संस्थाहरु सक्रिय छौँ ।”

यो प्रकोप धरानको अतिरिक्त इटहरी, विराटनगर र झापाका शहरी क्षेत्रमा पनि देखा परेको र ५०० वढी मानिसहरुमा फैलिएको जानकारी आएको नेरेसोका सञ्चार निर्देशक दिव्य राज पौडेलले बताए । 
 
अहिलेको डेँगु एशियन टाइगर भनेर चिनिने छिर्केमिर्के, टाटेपांग्रे लामखुट्टेले फैलाएको बताइएको छ । उज्ज्यालोमा टोक्ने, सफा पानीमा फूल पार्ने भएकोले दिउसो पनि ख्याल गर्नुपर्ने र जम्मा गरिएको सफा पानीलाई हटाउने वा राम्रोसंग हावा नछिर्ने गरी व्यवस्थित भण्डार गर्नुपर्ने विज्ञहरुले सुझाएका छन् ।

८ वटा केश हरु झापामा देखिइसकेको प्रतिवेदन झापा रेडक्रसका सभापति लोकराज ढकालले दिनुभएको छ । रगतको आपुर्ति गर्नुपर्ने भएमा रेडक्रसले आपत्कालीन भण्डार गरेको ढकालले बताए  । त्यस्तै विराटनगरमा पनि स्थानीय प्रशासन, स्थानीय सरकार र रेडक्रसलगायतका संस्थाहरुको संयुक्त वैठक गरी सचेतना कार्यक्रम अघि बढाउने सहमति भएकोे मोरङ रेडक्रसका सुवोध सिंले बताए । 

जेठ ३२, २०७६ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस