कांग्रेस सांसदको प्रश्न– राजतन्त्र पुनर्स्थापनाको हल्ला चलिरहँदा प्रधानमन्त्रीले बेलायती राजकुमारलाई किन भेटेको ?

फाइल फोटो
असार २, २०७६

काठमाडौं –प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसकी एक सांसदले प्रधानमन्त्री केपी शर्मा ओलीको भर्खरै सम्पन्न बेलायत भ्रमणका क्रममा बेलायती राजकुमारलाई भेटेको बारे प्रश्न गरेकी छिन् ।

विनियोजन विधेयकमाथि सोमवार परराष्ट्र मन्त्रालयको छलफलमा भाग लिँदै कांग्रेस सांसद डिला संग्रौला पन्तले नेपालमा राजतन्त्र पुनस्र्थापनाको हल्ला चलेको भन्दै प्रधानमन्त्रीले बेलायती राजकुमारलाई भेटेकोबारे जवाफ माग गरेकी हुन् ।


ADVERTISEMENT

‘प्रधानमन्त्रीले भर्खर युरोप भ्रमण गर्नुभयो, त्यसमा पनि बेलायतको भ्रमण गर्नुभयो । बेलायत भ्रमण गर्दा प्रमज्यूले त्यहाँका प्रधानमन्त्रीलाई भेट्नु भयो । जबकि त्यहाँका प्रधानमन्त्री बिदा भइसक्नुभएको थियो, यसको रहस्य के हो ?’

सांसद संग्रौलाले सदनमा भनिन्, ‘आज एकातर्फ नोलमा राजसंस्था पुनस्र्थापनाको हल्ला चलिरहेको छ । आन्दोलन चलिरहेको छ । त्यही बेला बेलायतमा हाम्रा प्रधानमन्त्रीले ब्रिटिस राजकुमार ह्यारीलाई उनकै निवासमा गएर भेट्नुभएको छ, यसले के संकेत गरेको छ, यसको पनि जवाफ सभामुमार्फत माग्न चाहन्छु ।’

कूटनीतिको क पनि नआउनेलाई राजदूत !

उनले कूटनीति संकटको घेरमा परेको र विश्वनियता हराएर गएको टिप्पणी गरिन् । 

‘चार महिना पहिले हाम्रा परराष्ट्र मन्त्रीले फुक्नु भयो– मापदण्ड बनाएर राजदूत नियुक्ति हुन्छन् । आज चार जना राजदूत नियुक्ति भए, कस्ता भएछन् ? पार्टीको गुटमा लागेका, पदीय मर्यादा र कूटनीतिको क पनि नआउनेलाई राजदूत नियुक्ति गर्दा विवादको घेरमा छ,’ सांसद संग्रौलाले भनिन्, ‘यसमा पनि विशेष गरेर बंगलादेशमा विद्यार्थी ठग्ने डाक्टरलाई राजदूत बनाएर पठाउँदा राजदूत विवादको घेरमा परेको छ । यसतर्फ पनि मन्त्रीज्यूको ध्यानाकर्षण गर्न चाहन्छु ।’
 

असार २, २०७६ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस