कर्णाली कोरिडोर नियाल्दा ...

असार ७, २०७६

(कर्णालीबाट धनगढी फर्केपछि )

२०७६ जेठ महिनाको अन्तिम साता सुर्खेत भ्रमणको अवसर जुर्‍यो । अघिल्लो दिन धनगढीमा मैले जीवनकै ठूलो विनाशकारी आँधीबेहरी महसुस गरेको दिन । त्यसकै भोलिपल्ट जुर्‍यो सुर्खेत यात्रा ।


ADVERTISEMENT

‘नेपालको हावाखोरी’ भनेर चिनिने ‘क्लाइमेट जोन’मा पर्ने सुर्खेत जाने अनेकौं बहाना थिए तर अवसर जुरेको थिएन । मित्र यादव जोशीलाई फोन गरे, उहाँले अवसर गुमाउन चाहनुभएन । यसरी केही मिनेटमै सुर्खेत यात्रा तय भयो ।

आमन्त्रणकर्ता मित्र मिलन शर्मालाई ‘कन्फर्मेसन कल’ गर्दासम्म हामीले ‘लगेज प्याक’ गर्न भ्याइसकेका थियौं । धनगढीदेखि सुर्खेतसम्मको यात्राका लागि बस र मोटरसाइकलका २ विकल्प हामीसामु थिए । मनमौजी हामीले चाहेको ठाउँमा रोक्न मिल्ने हुँदा मोटरबाइकलाई उत्तम ठान्यौं । सुर्खेतसम्मको करीब पौने ३ सय किलोमिटर यात्रा मोटरसाइकलमै तय गर्ने निर्क्यौलसहित यात्रामा निस्क्यौं ।

धनगढीबाट दिउँसो २ बजे यात्रा प्रारम्भ गरेर सुर्खेत पुग्दा रातिको ११ बजिसकेको थियो । यात्राका दौरान चौमाला र भुरीगाउँमा हल्का नास्ता लिएका हामी सुर्खेत पुग्दासम्म निकै भोकाइसकेका थियौं । सुर्खेत विमानस्थल क्षेत्र निवासी मित्र केशवजीको बहिनीको हातको खाना मीठो भयो । खानामा जुम्ली सिमीको दालको स्वाद वास्तवमै अद्वितीय थियो । 

खाना पश्चात् शरीरमा ऊर्जा प्रवाह भएको महसूस भएपछि एकछिन बार्दलीमा बस्दा बबई नदीको निर्मल निलो पानी, राजमार्ग छेउछाउका स–साना होटेल अनि छिन्चुदेखि सुर्खेत बीचको जंगलको चिसो बतासले कान चिस्याएको अनुभूति झल्झली मष्तिस्कमा आउँछ ।

सुर्खेतको ३ दिन बसाइँपछि केही दिनका लागि काठमाडौं गएर धनगढी फर्किने योजना थियो तर यादवजीको प्रस्तावले त्यसमा ट्विस्ट ल्याइदियो । उहाँको प्रस्ताव थियो – यो मौसममा त राराको भ्रमण रमाइलो हुन्छ ।

सरकारी सेवा प्रवेशको प्रारम्भिक दिनमा केही वर्ष अछाममा व्यतित गरेको मेरा लागि कर्णाली राजमार्गको यात्रा धेरै वर्षदेखि मृगतृष्णाझै भएको थियो । जसको एउटा कारण थियो – त्यो बेला मंगलसेनदेखि भैरवस्थानसम्मको कर्णाली नदीको बेलखेतनेर फेरीमा बस चढाएर कर्णाली पारि गएको अनि दैलेखको टुनिबगरमा झोलुङ्गे पुलबाट कर्णाली तरेर वारि भैरवस्थान आएको मिठो सम्झना ।

आजभोलि बेलखेतमा दैलेख–अछाम जोड्ने पुल बनिसकेको हुँदा कर्णाली तर्नु अब त्यति रोमाञ्चक र जोखिमपूर्ण रहेन तर मलाई रोमाञ्चित तुल्याउने कुरा भनेको बेलखेतदेखि टुनिबगरसम्म मात्र ५ किलोमिटरको कर्णाली तीरैतीरको कर्णाली राजमार्गको  त्यतिबेलाको सानो बसको यात्रा । त्यतिबेलादेखि नै मेरो मनमा कर्णाली नदीको छेवैछेउ कर्णाली राजमार्गको लामो दूरीसम्म मोटरसाइकलमा यात्रा गर्ने तीव्र अभिलाषा थियो तर अवसर जुर्न सकेको थिएन ।

यादवजीको प्रस्तावमा सहमति जनाउनु भनेको मेरो ‘ड्रीम हाईवे’मा मोटरसाइकल कुदाउने सपना पूरा हुनु थियो । मैले यादवजीलाई आफ्नो व्यस्तताले गर्दा रारासम्म त अलि गाह्रो हुने तर मान्मासम्म पुग्न सकिने संशोधित प्रस्ताव राखे । यात्राप्रेमी मनुवाले नाईनास्ती गर्ने कुरै थिएन । यसरी कर्णाली कोरिडोर भएर सुर्खेतबाट मान्मा पुग्ने योजना बुनियो ।

सुर्खेतको व्यस्त विरेन्द्रचोकको एक पसलबाट रेनकोट किन्दा सायद दिउँसोको साढे १२ बजेको थियो । पसलका साहुजी निकै फरासिला थिए, हामीले राराको जिकिर गरेपछि १ हप्ता पहिले मात्र उहाँको परिवार पनि रारा घुमेर आएको बेलीविस्तार लगाउनुभयो । उहाँले थप्नुभयो, ‘रेनकोटसँगै हल्का ज्याकेट अनि टोपी पनि लैजाँदा राम्रै होला ।’ 

यादवजीको छोटो प्रतिक्रिया आयो – बेकार हो । उहाँको ज्याकेट अनि टोपी बेच्ने सपना साकार नभएपनि उहाँको मुखाकृति कत्ति पनि नबिग्रिएको महसूस हामीले गर्‍यौं । रेनकोटलाई मोटरबाइकको ‘लेगगार्ड’मा झुण्ड्याएर साहुजीको ‘शुभयात्रा’लाई सहर्ष स्वीकार्दै हामी हुइँकियौं । वीरेन्द्र चोकबाट पश्चिमतिर पर्ने कर्णाली राजमार्गतिर लाग्यौं । जुन जुम्ला रोडको नामले बढी लेखिँदो रहेछ, सुर्खेतका पसलका बोर्डमा ।

अब हामीले सिधै उत्तरी मोहडाको यात्रा गर्नुपर्ने थियो त्यो पनि करीब डेढ सय किलोमिटर । हाम्रो लक्ष्य थियो जसरी पनि रातिसम्म मान्मा पुग्ने । सुर्खेतको मुख्य बजारबाट जति–जति माथि लाग्दै गयौं, बस्तीहरू पातलिँदै गइरहेका थिए । म्यागी डोयनले स्थापना गरेको कोपिला भ्याली यतिबेला हाम्रो दायाँ हाततिर देखिन्थ्यो । सुर्खेतबाट ३ किलोमिटरको दूरीमा अवस्थित बाङ्गेसिमल पुग्दा व्यस्त सुर्खेत गाउँमा परिणत भइसकेको थियो । बाङ्गेसिमलमा एउटा काकीको पसलबाट मिनरल वाटर, क्यान जुस अनि चिप्स किन्यौं । बाङ्गेसिमलबाट २६ किलोमिटर उत्तरमा अवस्थित बड्डीचौर पुगुञ्जेल बाटोमा अधिकांश न्यानो समशितोष्ण प्रकृतिको हरियो वनले हामीलाई प्रफूल्लित तुल्याउन कुनै कसर छोडेन । बाटो निकै राम्रो अनि व्यवस्थित थियो कर्णाली कोरिडोरको । यस्तो निर्जन जंगलमा किशोर कुमारको ‘जिन्दगी ईक सफर है सुहाना’ बेसुरा तालमा गाउनुको आनन्द सायद ‘आनन्द’ चलचित्रका राजेश खन्नाले सन् १९७१ मा पनि महसूस गरेका थिएनन् होला ।

बड्डीचौरमा सानो स्थानीय बजार थियो, जहाँ व्यापारिक चहलपहल देखिन्थ्यो । सडक पारिको पसलबाट ५० रुपैयाँका नमस्तेका २ वटा रिजार्ज कार्ड किनेर रिचार्ज गर्दा मोबाइल नेटवर्क पनि राम्रो देखिन्थ्यो । मिनरल वाटर खोलेर जलपान गर्दा अलि पुनर्ताजगी महसूस भयो र पुनः लाग्यौं मोटरसाइकल यात्रामा । 

केहीछिनको यात्रा पश्चात् खड्काबाडा पुगियो । जहाँबाट दक्षिण पूर्वतिर भीमकाय पहाड ठिङ्ग उभिएको अनि बीचमा जिउ सिरिङ्ग पार्ने गहिरो खोंच थियो । सडक छेउमा उभिएर यताउता दृष्टि दौडाउँडा भिरालो पहाडमा कोणधारी सल्ला लहरै देखिन्थे । त्यो डाँडो कट्नासाथ सडकको पश्चिम दिशातिर एउटा सानो गाउँ देखियो, सडकमा बाख्राको एक झुण्ड अनि तिनका साथमा मैलो झुत्रे लुगा लगाएका अधवैंशे मानिस हातमा लठ्ठी लिएर पछ्याइरहेका देखिन्थे । ६–७ जना निलो सर्ट र कालो पाइन्ट लगाएका बालबालिका हातमा कापीकिताब बोकेर घर फर्किराखेका थिए । तीमध्ये १ जना बालकसँग पांग्रा जोडिएको ठेलागाडाझै लामो लौरो थियो, जसको अगाडि अर्काे सानो बच्चा बसेको थियो ।

यस्तै रोचक अनि दुर्लभ दृश्यले हाम्रो ध्यान तान्यो अनि तिनीहरूलाई एकछिन रोक्न भन्यौं । आज्ञाकारी तिनीहरू हामी २ पर्यटकको छेउमा आएर एकअर्कातिर हेरेर कानेखुशी गर्न थाले ।

मैले सोधे– तिमीहरू कुन स्कूलमा पढ्छौ ? सबैले हातले इशारा गर्दै भने – ऊ त्यो डाँडाको पारिपट्टिको स्कूलमा । मैले स्कूलको नाम सोधेको उनीहरूले ठाउँ देखाएकोमा म मनमनै हाँसे । ‘खाजा भयो ?’ मैले सोधे । उनीहरूमध्ये अलि ठूलो एक जना भाइ बोल्यो – नाई ! अब घर गएर खाने । तिनीहरूको बालापन अनि सरल व्यवहारले एकछिन मोहित हामीहरूले केही सेल्फी लिन भ्यायौं र जानेबेलामा नाइकेजस्तो देखिने ठूलो भाइको हातमा २ सय रुपैयाँ थमाएर भन्यौं – सबै जना खाजा खानू । तिनीहरू निकै खुशी मुद्रामा आफ्नो बाटोतिर लम्किए ।

हामी पनि केहीबेर त्यहाँको परिवेशबारे घोत्लिएर विश्लेषण गर्न नपाउँदै अगाडि बढ्यौं । १ किलोमिटर अगाडि तिनै बच्चा एउटा पसलको अगाडि हातमा चाउचाउसहित देखिए । सबैले हात हल्लाएर हामीलाई बाईबाई गरे । हामी दुईले पनि प्रत्युत्तरमा मुस्कानसहित हात हल्लायौं । त्यहाँनेर मलाई थाहा थिएन, त्यो मुस्कान नै आजको दिनभरिको अन्तिम उन्मुक्त मुस्कान हुनेछ भनेर ।

करीब ५ किलोमिटर बाटो पिच थिएन वा भत्केको हो म अझै भन्न सक्दैन तर त्यो दूरीमा हामीलाई निकै सकस महसूस भयो । विपरीत दिशाबाट छिनछिनमा आउने ट्रकले उडाउने धुलोले हाम्रो कपडाको रंग ठ्याक्कै ठम्याउन नमिल्ने बनाइसकेको थियो । लोहरे खोलाको तिरमा अवस्थित तल्लो डुंगेश्वर पुग्दासम्म हामी दुबैजना निकै थकित भइसकेका थियौं । छोटो विश्राम गर्नु उचित ठानेर खोला पारिको एउटा खाजा पसलमा बस्यौं । 

पसलको साहुजी र १ जना अर्काे केटा टीभीमा साउथ इन्डियन चलचित्र हेर्दै थिए । मैले ‘रिमोट’ मागेर स्टार स्पोर्टमा विश्वकप क्रिकेट लगाउँदा दुवैले मतिर घुरेर हेरिराखेका थिए तर पछि दुवैले प्रत्येक बलको विश्लेषण गर्न भ्याइराखेका थिए । हामीले २ प्लेट लोकल माछा मगायौं । माछा निकै स्वादिष्ट थियो । बिल तिर्ने बेला साहुजीलाई ‘कम्पिलेमेन्ट’ दिँदा उहाँ मुस्कुराउनुभयो । अब बाटो तुलनात्मक रुपमा राम्रो थियो र बायाँ दिशामा बगिराखेको कर्णाली नदी पहिलो पटक हाम्रो नजरमा कैद हुने दूरीमा थियो । कर्णालीलाई नजिकबाट देख्दा एउटा भाव आयो – सुन्दर, सौम्य अनि सालीन कर्णाली ।

विश्वामित्रलाई मेनकाले लठ्ठ पारेझैं कर्णालीले हामीलाई ‘हिप्नोटाइज’ पारिसकेको थियो । अब कर्णालीले हजारौंका सिन्दुर पुछेको, छोरा खोसेकोमा मलाई गुनासो थिएन । म निकै पक्षपाती भइसकेको थिए । सायद साँझको ७ बजिसकेको थियो, मेरो स्मृतिपटलमा सुरक्षित टुनिबगर पुग्दा । ५ वर्षअघि यही ठाउँबाट झोलुङ्गे पुलबाट कर्णाली पारिको अग्लो–ठाडो पहाड चढेर भैरवस्थान पुगेको सम्झना ताजा भयो । टुनिबगरबाट बेलखेतको नयाँ पुलसम्म पुग्दा अँध्यारो भइसकेको हुँदा फेसबूकमा साथीहरूले बारम्बार ‘क्लीक’ गर्ने पुललाई हेर्न नपाउँदा मन अलि खिन्न भयो ।

रातिको ९ बज्दा हामी मध्यपहाडी लोकमार्गमा पर्ने दैलेखको नयाँ शहर राकम पुग्यौं । बाटोमा एउटा बाजेलाई सोध्यौं – अब मान्मा पुग्न कति लाग्छ बाजे ? उहाँले एकछिन मेरो मुखमा एकटकले हेर्दै भन्नुभयो – उ त्यो बत्ती बलेको डाँडो हो, १ घण्टा लाग्ला । १ घण्टा मात्रै लाग्ने भनेपछि हामी प्रफूल्लित भयौं तर रातिको समय, त्यसैमा भत्केको नाम मात्रको राजमार्ग, मान्मा पुग्दा रातिको ११ बजिसकेको थियो । ‘मान्मा बजार’ लेखेको ठूलो बोर्ड मोटरबाइकको प्रकाशले टल्किँदा बडा आनन्द महसूस भयो । तेस्को छेउमै एउटा होटेल देखियो । नाउँ लेखिएको थियो – होटेल हिलसाइड । अरु होटेल खोजिराख्नुभन्दा खाना खाएर पल्टिनु त्यतिबेलाको हाम्रो आवश्यकता थियो ।

होटेलमा ‘चेक इन’ गरेर खाना खाइसक्दासम्म राति ११ः३० बजिसकेको थियो । कोठा चाहिँ सडकको ‘लेभल’भन्दा तलतिरको तलामा थियो । सानो कोठा चिटिक्क थियो । जसमा २ वटा बेड, टीभी र सानो टेबल थियो । कोठामा पुग्नासाथ कतिखेर निदाइएछ थाहै भएन तर राति निकै चिसो महसुस भएर सिरक खोज्नलाई उठ्दा मोबाइलको स्क्रिनमा २ः३० बजेको देखिन्थ्यो । कम्मर पनि उत्तिकै दुखिराखेको थियो । पल्लो खाटमा यादवजी घुरेर सुतिरहनुभएको थियो ।

बिहान उठ्दा ८ बजिसकेको थियो । म उठेर ‘फ्रेस’ हुन्जेलसम्म यादवजीले फ्रेस भएर नास्ता मगाउन भ्याइसक्नुभएको थियो । उहाँको ‘इनर्जी’ देखेर म थोरै अचम्मित परे । किनकि मलाई हल्का ज्वरो महसूस भइराखेको थियो । नास्तामा चनाको झोल, सुख्खा रोटी अनि अम्लेट थियो । ‘स्पाइसी’ खानामा खासै रुचि नदेखाउने मेरो लागि चना र सुख्खा रोटी रोजाइको विकल्प बन्यो । असञ्चो महसूस गरिराखेको मेरो लागि रारा निकै टाढा थियो, त्यसैमा सुन्दै आएको नाग्मादेखि राराको कच्ची सडकको कल्पना । रारा जानैपर्छ भन्ने यादवजीको हठ र मेरो फर्किनुपर्ने कारणमा अन्ततः विजय ‘यू–टर्न’को भयो । अर्थात् हामीले सुर्खेत फर्कने निधो गर्‍यौं ।

मान्माको हिल साइडबाट फर्किंदा बाटोमा हिजो अँध्यारोले गर्दा देख्न नपाएका सुन्दर दृश्यले फेरि शरीरमा ऊर्जा प्रवाह गरायो । मान्मा बजारको तल खाँडाचक्र नगरपालिका भएर बहने तिला नदी निकै उग्र एवं निर्मल देखिन्थ्यो । बाटोमा सामान ढुवानीको लागि खच्चड लगिराखेको, रोडको मास्तिर नालाबाट पानी गाग्रीमा भरिराखेको, नदी छेउको समथर जमिनमा गोरुले जोतिराखेको दृश्य कर्णालीको सेराफेरो बयान गर्न काफी थिए । मान्मादेखि टुनिबगर पुगुञ्जेल दिउँसोको १ बजिसकेको थियो । खाना खानलाई उत्तम होटेलको खोजीमा ५ मिनेट डुलिसकेपछि ‘शाही होटेल’ पुग्यौं । त्यहाँको खानामा हामीले वास्तवमै घरको अग्र्यानिक स्वाद पाएका थियौं । 

तल्लो डुंगेश्वरमा पुगिसकेपछि हामीसँग सुर्खेत पुग्ने दुईटा विकल्प थिए – कर्णाली राजमार्ग वा लोहरे खोलाको तीरैतीर भएर जाने दैलेखको बाटो । हिजोको धुलाम्य खाल्डाखुल्डी सडकको दृश्य आँखामा आउनासाथ दैलेखको बाटो रोज्न हामीलाई धेरै समय लागेन । तल्लो डुंगेश्वरबाट मात्र २ घण्टाको यात्रापछि  साँझ ६ बजेतिर सुर्खेत बजार आइपुग्यौं । सुर्खेत पुग्न नपाउँदै मोबाइलमा केशवजीको फोन आयो । उहाँले आफू घरमै भएको र सिधै घर आउन आग्रह गर्नुभयो । सुर्खेत विमानस्थलको पश्चिमतिर अवस्थित उहाँको घरको तेस्रो तलाबाट आंशिक सुर्खेत देख्न मिल्थ्यो । साँझको ८ बज्दा उहाँले फ्रिजबाट केही बियर र ग्रीन सलाद छतमा ल्याउनुभयो । बियरको चुस्कीसँगै हामी तीनैजना खुल्न थाल्यौं । पूरा नभएको हाम्रो रारा टूर अनि बाटोका दृश्य केशवजीले मज्जासँग सुन्नुभयो र अर्काेपटक राम्रो योजनासहित रारा घुम्नुपर्ने जिकिर गर्नुभयो, हामीले सहमतिमा टाउको हल्लायौं ।

असार ७, २०७६ मा प्रकाशित

विकास बोहरा

लेखक आर्थिक मामिला तथा योजना मन्त्रालय धनगढीमा शाखा अधिकृत पदमा कार्यरत छन् ।

लेखकबाट थप...

प्रतिक्रिया दिनुहोस