महिला यात्रुलाई विमानभित्र छोडेर सबैजना हिँडेपछि...

असार ९, २०७६

काठमाडौं – एयर क्यानडाको विमानमा सुतिरहेकी एक महिलालाई छोडेर विमान कर्मचारीहरू हिँडेको घटनाको एयरलाइन्सले छानबिन गर्ने भएको छ । 

ती महिला यात्रु विमानभित्र नितान्त एक्लो र चिसो तथा अँध्यारो अवस्थामा उठेकी थिइन् । 


ADVERTISEMENT

‘म कुनै खराब सपना देखिरहेकी छु जस्तो लाग्थ्यो तर गम्भीर भएर भन्नुपर्दा यो कसरी भइरहेको हो ?’ टिफनी एडम्सले पाँच दिनअघि फेसबूकमा पोस्ट गर्दै लेखिन् ।

एयरलाइनले यो घटना भएको स्वीकार गर्‍यो तर यात्रुलाई छोडेर विमान कर्मचारीहरू कसरी गए भन्ने विषयमा टिप्पणी गर्न मानेन ।

एडम्सले आफू उठेपछि साथी नोएल–डेललाई फोन गरिन् र के भएको भनिन् । तर उनको फोन बन्द भयो र विमान बन्द भएकाले उनले फोन रिचार्ज गर्न पनि पाइनन् । आफू निकै आत्तिएको र आफूले ककपिटमा वाकीटकी जस्तो कुरा देखेको तर त्यसले पनि काम नगरेको उनले बताइन् । 

उनले फ्ल्याशलाइट बालेर झ्यालबाहिर देखाएर सहायता मागेको भए पनि कसैले देखेन । त्यसपछि उनले क्याबिनको ढोका खोलिन् । तल भुइँमा हाम्फाल्न गाह्रो हुने देखेपछि उनी विमानमा झुकिन् र तल एक कर्मचारीलाई बोलाइन् । ती कर्मचारीले उनलाई बाहिर निकाले । 

एयर क्यानडाका कर्मचारीले उनलाई ठीक हुनुहुन्छ भनी सोधेको र लिमोजिन गाडीमा चढेर होटल जानुहुन्छ भनी सोधेको तर आफूले त्यसलाई अस्वीकार गरेको उनले बताइन् । एयरलाइनका प्रतिनिधिहरूले आफूसँग माफी मागेको र घटनाको अनुसन्धान गर्ने बताएको उनले जानकारी दिइन् ।

द गार्डियनबाट

असार ९, २०७६ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस