सर्पदंशका बिरामीको संख्या वृद्धि

असार १०, २०७६

गौशाला – गर्मीका कारण महोत्तरी जिल्ला अस्पताल जलेश्वरमा सर्पले टोकेको बिरामीको संख्या बढ्दै गएको छ ।

जिल्ला अस्पताल जलेश्वरका डा. मृत्युञ्जयकुमार ठाकुरका अनुसार फाटफुट आउने गरेकोमा हाल दैनिक ८ देखि १० जनासम्म सर्पले टोकेका बिरामी उपचारका लागि आउने गरेका छन् ।


ADVERTISEMENT

अत्यधिक गर्मीका कारण सर्प बाहिर निस्केर खेतबारी, सडक र कच्ची घरमा सर्वसाधारणलाई टोक्ने गरेकाले बिरामी बढेका हुन् । डा. ठाकुरका अनुसार अस्पताल आउनेमध्ये बढीलाई विषरहित सर्प र केही मात्रै विषालु सर्पले टोकेको बिरामी आउने गरेको बताए ।

अहिले महोत्तरीको १० नगरपालिका र ५ गाउँपालिकाका विभिन्न गाउँठाउँमा सर्पको बिगबिगी देखिएको स्थानीयले बताएका छन् । अस्पतालमा भारतको विभिन्न ठाउँठाउँबाट पनि सर्पले टोकेका बिरामी उपचारको लागि आउने गरेको अस्पतालका प्रमुख डा. राजीव झाले बताए ।

महोत्तरीमा देखा पर्नेमा विषरहितमा ढोरिया, हरहरा र विषालुमा सबैतिर सजिलै भेटिने करेत र गोमन सर्प छन् ।

असार १०, २०७६ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस