प्रतिनिधि सभामा प्रतिपक्षीको नारावाजी र वेल घेराउ, कांग्रेसलाई राजपाको पनि साथ

असार २५, २०७६

काठमाडौं–प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस बुधवार प्रतिनिधि सभा बैठकमा नाराबाजी र वेल घेराउ गरेको छ ।

सभामुखले बैठक शुरू भएको जानकारी गराउने बित्तिकै उठेर विरोध जनाएका प्रतिपक्षी सांसदहरूले बैठकको कारवाही अघि बढेपछि वेल घेराउ गर्दै नारावाजी गरेका थिए । विरोधमा कांग्रेसलाई राजपाले साथ दिएको थियो ।


ADVERTISEMENT

उठेर विरोध जनाइरहेका प्रतिपक्षी सांसदहरूलाई सभामुख कृष्णबहादुर महराले बस्न पटक-पटक आग्रह गरेका थिए ।

'बसिदिनुस् मान्य सदस्यहरू । बसिदिनुभयो भने म नयाँ कुरा सुनाउँछु । नयाँ कुरा सुनाउन त बस्दिनुपर्‍यो,' भनेर सभामुखले भनिरहँदा प्रतिपक्षीहरू मुस्कुराउँदै उभिइरहेका थिए ।

पटक-पटक आग्रह गर्दा पनि प्रतिपक्षी सांसदहरू नबसेपछि सभामुख महराले विनियोजन विधेयक २०७६, आर्थिक विधेयक २०७६, राष्ट्र ऋण उठाउने विधेयक २०७६ र ऋण तथा जमानत २३औं संशोधन विधेयक २०७६ का सम्बन्धमा राष्ट्रिय सभाबाट सन्देशसहित प्राप्त प्रस्तावबारे जानकारी प्रतिनिधि सभाका सचिव गोपाल नाथ योगीलाई गराउन समय दिएका थिए ।

सचिव योगीले सन्देश पढेर सुनाएलगत्तै प्रतिनिधिसभा बैठक यही असार ३० गतेसम्मका लागि स्थगित भएको छ ।

सर्लाहीमा प्रहरीको गोलीबाट प्रदर्शनकारीको मृत्यु भएको तथा विप्लव नेतृत्वको नेकपाका जिल्ला इञ्चार्ज कुमार पौडेलको मृत्युको विषयमा संसदीय छानबिन समिति गठनको माग गर्दै प्रतिपक्षी दलहरूले यसअघिको बैठक पनि अवरुद्ध पारेका थिए ।

असार २५, २०७६ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस