रोमाञ्चक खेलमा न्युजिल्यान्डलाई हराउँदै इंग्ल्यान्ड बन्यो च्याम्पियन

असार ३०, २०७६

काठमाडौं– आईसीसी एकदिवसीय विश्वकप क्रिकेटको उपाधि आयोजक इङ्ल्यान्डले जितेको छ । 
 आइतबार भएको फाइनलमा न्युजिल्यान्डलाई सुपर ओभरमा पराजित गर्दै इङ्ल्यान्डले पहिलो पटक विश्वकप ट्रफी उचालेको हो। 

 इंग्ल्यान्ड र न्युजिल्यान्डले समान स्कोर बनाएपछि रोमाञ्चक सुपर ओभरबाट विश्वविजेतको टुंगो लागेको लगाइएको हो । 
सुपर ओभरमा इङ्ल्यान्डलेजस्तै न्युजिल्यान्डले पनि १५ रन नै बनाए पनि बढी बाउन्ड्री हिर्काएको आधारमा इङ्ल्यान्डले रोमाञ्चक जित निकाल्न सफल भयो । 


ADVERTISEMENT

सुपर ओभरमा पहिले ब्याटिङ गरेको इंग्ल्यान्डका लागि बेन स्टोक्स र जोस बटलरले ब्याटिङ गरेका थिए भने न्युजिल्यान्डका ट्रेन्ट बोल्टले बलिङ गरेका थिए। स्टोक्सले १ चौका सहित ८ रन र बटलरले १ चौकासहित ७ रन जोडे। 

न्युजिल्यान्डका लागि सुपर ‌ओभर मार्टिन गुपटिल र जीमी निसमले ब्याटिङ गरेका थिए भने इंग्ल्यान्डका लागि जोफ्रा आर्चरले बलिङ गरेका थिए।

पहिलो बल बाइड भयो। दोस्रो बलमा छक्का हिर्काएका निसमले पाँच बलमा १४ रन जोडे। अन्तिम बलमा न्युजिल्यान्डलाई २ रन चाहिएको थियो। जसमा २ रन लिने क्रममा मार्टिन गुपटिल रनआउट भए। उनले १ रन मात्र लिँदा सुपर ओभर समेत बराबरी हुन पुग्यो । 

त्यसअघि पहिले ब्याटिङ गरेको न्युजिल्यान्डले ८ विकेटको क्षतिमा २४१ रन जोड्यो। जवाफी ब्याटिङ गरेको इंग्ल्यान्डले पनि सबै विकेट गुमाउँदा २४१ रन नै जोड्यो। त्यसपछि खेल सुपर ओभरमा पुगेको थियो । 

यसअघि इंग्लिस टिम  सन् १९७९, १९८७ र १९९२ को विश्वकपको फाइनल पुगे पनि उपविजेतामै सीमित बनेको थियो। 
 

असार ३०, २०७६ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस