शिक्षामा भाँडभैलो : विद्यार्थीको भविष्य अन्धकारमय

साउन १, २०७६

भनिन्छ शिक्षाले मानिसलाई पहिचान दिन्छ । त्यसैले एक अभिभावकले आफ्नो सन्तानलाई शिक्षित गर्नका लागि आफ्नो जीवनका अमूल्य धनसम्पत्ति वा कमाइको अधिकांश हिस्सा खर्चिन पनि हिचकिचाउँदैन । अर्थात्, शिक्षाका लागि ‘नो कम्प्रोमाइज’ को नीति अपनाउँछन् अभिभावकहरू । 

तर हाम्रा शैक्षिक संस्थाहरू अभिभावकको आशाभरोसा अनुरूप नै गम्भीर छन् त ? विश्वविद्यालय वा कलेजहरूमा ‘टपर’ विद्यार्थी वा मध्यमस्तरीय विद्यार्थीको थप स्तर उकास्नका लागि के कस्ता प्रावधान वा सुविधा छन् त ? हाम्रा शैक्षिक संस्थाहरूले कक्षाकोठाभित्र पढाइनेबाहेक अन्य प्राज्ञिक गतिविधिमा ध्यान पुर्‍याएका छन् ? हाम्रो शैक्षिक संस्थामा कमजोर विद्यार्थीको स्तर उकास्न वा उसलाई उत्प्रेरित गर्न केही योजना बनाइँदैनन् ? 


ADVERTISEMENT

पढाइमा अब्बल विद्यार्थीहरूको थप स्तरोन्नति गर्नका लागि पनि हाम्रा शैक्षिक संस्थाहरूले केही नीतिगत कार्यक्रम अघि सारेको पाइँदैन । अझै कहालीलाग्दो स्थिति भनेको कलेजमा लाखौं रुपैयाँ ‘फी’ तिरेर अंग्रेजी माध्यममा कानूनमा स्नातक गरेका विद्यार्थीहरूलाई कानूनी भाषा लेख्न आइरहेको हुँदैन । परीक्षाको उत्तरपुस्तिका जाँच्दा पंक्तिकारलाई लाग्यो, सामान्य अंग्रेजी पढेको वा जानेको भन्दा कानूनको अध्ययन फरक हुन्छ र कानूनी भाषा पनि पृथक् हुन्छ भन्ने भान न त विद्यार्थीमा छ, न त शैक्षिक संस्थामा नै । ध्यान कहाँनेर केन्द्रित छ भने लाखौं ‘फी’ कसरी धुत्ने र आफ्ना आसेपासे, छोरीज्वाइँ वा नातेदारलाई कसरी जागिर खुवाउने हो । हाम्रा शैक्षिक संस्थाहरूले शिक्षक नियुक्त गर्दा शिक्षण पेशामा आउने व्यक्तिहरूको पृष्ठभूमिबारे केही पनि अनुसन्धान नगर्दा रहेछन् । 

विश्वविद्यालयमा सर्वोत्कृष्ट अंक ल्याएको तर ‘सोर्सफोर्स’ नभएको कुनै व्यक्तिले जागिर पाइराखेको हुँदैन वा उसले आफ्नो क्षमताअनुसार पद र मानसम्मान पाइराखेको हुँदैन । 

हाम्रा शैक्षिक संस्थाहरूमा न विद्यार्थीको स्तरोन्नतिका लागि हामीसँग केही ‘स्किम’ छ, न त शिक्षक छनोटका लागि केही आधार वा रिसर्च नै छ । अनि शिक्षकहरूको व्यक्तित्व विकासका लागि, वृत्तिविकासका लागि, प्राज्ञिक क्षमता अभिवृद्धिका लागि वा उसको शैक्षिक स्तर अभिवृद्धिका लागि तालिमहरू वा कुनै विषयमा थप अध्ययन तथा अनुसन्धानका लागि स्वदेश वा विदेशका विश्वविद्यालयहरूसँग साझेदारी गर्ने परिपाटी शुरू भए पनि शिक्षण पेशामा वा शिक्षकहरूको वृत्तिविकासमा  परिवर्तन आउन सकेको छैन । व्यर्थको विदेश भ्रमण र कागजमा यो परिपाटी सीमित छ । 

विद्यार्थीको अन्योल हटाउने जिम्मेवारी पाएको अध्यापक आफैं कुनै विषयमा स्पष्ट छैनन् भने उनले आफ्ना विद्यार्थीलाई कस्तो शिक्षा देलान् खै ?  कुनै एउटा विषयमा स्नात्तकोत्तर के गर्दैमा आफूले नजानेको कुनै विषय नै छैन भन्ने मानसिकताबाट पनि पछि हट्नु आवश्यक छ । कुनै व्यक्तिले अन्तर्राष्ट्रिय कानूनमा स्नात्तकोत्तर गरेको छ भने उसको विज्ञता त्यही विषयमा हुन्छ र कानूनका अन्य विषयमा पनि सामान्य जानकारी हुनसक्छ । स्नातकोत्तर गर्दैमा कुनै मान्छे विज्ञ भइहाल्यो भन्ने हैन । तर कुनै व्यक्ति सोही विषयको ‘टपर’ हो वा ऊ अध्ययनशील अनि मेहनती छ भने अवश्य उसले अध्ययन गरेको विषयमा अब्बल हुन्छ । तर हामीकहाँ संवैधानिक कानूनमा स्नातकोत्तर गरेकाले कानूनका जुनसुकै विषयमा पनि प्राध्यापन गर्न कम्मर कसिरहेको देखिन्छ । कुनै एक विषयको विज्ञले आफ्नो विज्ञता आफ्नै विषयमा देखाए बेस हुन्थ्यो । 
समस्या विद्यार्थी वा शैक्षिक संस्थानहरूमा मात्र सीमित छैन । हाम्रा प्राध्यापकहरूमा प्राज्ञिक इमान्दारीताको कमी भएर थप समस्या बल्झिएको हो ।

हाम्रो समाजमा काम नलाग्ने व्यक्ति वा कुनै आकर्षक जागिर नभेटुन्जेल मात्र ‘मास्टर’ बन्छन् भन्ने मानसिकता अझै जीवित छ । अर्थात् शिक्षण पेशा आकर्षक मानिँदैन । विदेशमा प्राध्यापकहरूलाई हेरिने दृष्टिकोण चाहिँ नितान्त फरक हुन्छ । प्राध्यापकहरूले आकर्षक सेवासुविधा पाउँछन्  र आफ्नो वृत्तिविकासका लागि प्रशस्त अवसर पाइरहेका हुन्छन् ।  त्यसैले त शिक्षण पेशा विदेशमा आकर्षक पेशा मानिन्छ । हामीकहाँ सबैभन्दा बढी दुब्लाएका व्यक्ति ‘मास्टर’ नै हुन्छन् । शिक्षण पेशामा लागेका व्यक्तिहरूलाई न त वृत्तिविकासका लागि केही गरिन्छ, न त उनीहरूले उचित सेवासुविधा पाउँछन् । 

शिक्षण संस्था मोटाउनु र शिक्षक दुब्लाउनु यहाँ सामान्य कुरो हो । मानौं कुनै प्राध्यापकले प्राध्यापन गरेबापत प्रतिमहिना ५० हजार रुपैयाँ तलब पाउँछन् । काठमाडौंमा कोठा भाडा गरेर बसे भने उनले न्यूनतम १५ देखि २० हजार रुपैयाँ प्रतिमहिना छुट्ट्याउनुपर्ने हुन्छ । खानामा प्रतिमहिना १० हजार रुपैयाँ मात्र छुट्ट्याउँदा पनि उनको हातमा २० हजार बाँकी हुन्छ । त्यही बचेको २० हजारबाट नै उनले आफ्नो स्वास्थ्योपचार, श्रीमतीको गरगहना,  छोराछोरीको भरणपोषण तथा शिक्षादीक्षा, वृद्ध मातापिताको हेरचाह लगायतका पारिवारिक जिम्मेवारी निर्वाह गर्नुपर्ने बाध्यता छ । एक प्राध्यापकलाई पाएको पारिश्रमिकबाट  घरव्यवहार चलाउन प्रतिमहिना धौधौ परिरहेको हुन्छ । घरव्यवहार सञ्चालनमै आफ्नो अधिकतम ऊर्जा खर्चिने वा चिन्तित मुद्रामा बस्ने प्राध्यापकवाट नवीनतम प्राज्ञिक अभ्यास वा शिक्षण पेशामा रचनात्मक कार्य गर्ने वा आमूल परिवर्तन ल्याउने ऊर्जाको अपेक्षा राख्नु बेइमानी हुन्छ । गाईलाई घाँस नदिने तर मनग्गे दूधको अपेक्षा राख्ने काम ठूलो अन्याय हो । 

शिक्षामा आमूल परिवर्तन ल्याउनका लागि प्राध्यापन पेशामा आकर्षण बढाउनु आवश्यक छ । आकर्षक सेवासुविधा तथा शिक्षण पेशामा छनोट प्रक्रियामा कडाइ ल्याउनु पनि आवश्यक छ । दुई गोडामा उभिएको व्यक्तिले स्नातकोत्तरको डिग्री गोजीमा राख्दैमा ऊ विज्ञ कहलिन पाउँदैन । विज्ञता उसको अध्ययन तथा अनुसन्धानबाट देखिनुपर्छ । शिक्षण संस्थालाई आसेपासे वा ज्वाइँ पाल्ने ठाउँका रूपमा विकास गरेर परिवर्तन आउँदैन । परिवर्तनका लागि प्राज्ञिक इमान्दारी र व्यावसायिक इमान्दारी पनि चाहिन्छ । एउटै प्राध्यापक सबै विषयको विज्ञ हुनसक्दैनन् । 

शिक्षण पेशामा आमूल परिवर्तन एक दिनमा आउने कुरा हैन । कक्षाकोठामा विद्यार्थीको भविष्यबारे हेक्का नराख्ने, अर्जुनदृष्टि आफ्नो भागको पाठ्यक्रम सक्नमा मात्र केन्द्रित गर्ने र आफूलाई मनपर्ने विद्यार्थीलाई बढी अंक वा ग्रेड दिने परिपाटीको अन्त्य हुनुपर्छ । गुरुलाई विद्यार्थीको चाकरीभन्दा उसको चातुर्य वा प्रतिभा बढी मन पर्नुपर्ने हो । तर दुर्भाग्यवश यसो हुनसकेको छैन । 

विद्यार्थी पनि चतुर र आज्ञापालक दुवै हुनुपर्छ । आज्ञापालक मात्र हुने ऊ सरकारी जागिरे होइन ।

नेपालको शैक्षिक स्तर उकास्ने हो भने शिक्षण पेशामा लाग्ने संस्था, शिक्षक र सरकार सबै सरोकारवाला गम्भीर हुनुपर्छ । शिक्षकले बर्सेनि कतिवटा लेखरचना प्रकाशित गरे, त्यसको पनि अभिलेख राखिनुपर्छ । एक शिक्षकले के गर्दा कस्तो सेवासुविधा थप पाउने हो वा उसको बढुवाका लागि केकस्ता आवश्यक शर्त पूरा गर्नुपर्ने हो भन्ने कुराको निर्धारण स्पष्ट हुनुपर्छ । 

शिक्षण संस्थाले पढाइमा अब्बल विद्यार्थीलाई थप रचनात्मक बनाउन र उसलाई आफ्नो भविष्य बनाउनका लागि प्रोत्साहित गर्न कुनै प्रस्ट योजना बनाएको देखिँदैन । पढाइमा कमजोर विद्यार्थीको स्तर उकास्नका लागि पनि हामी गम्भीर छैनौं । नेपालको शैक्षिक जगतमा सुधार ल्याउनका लागि प्रस्ट खाका र त्यसभन्दा पनि इमान्दारिता आवश्यक छ ।  सरोकारवालाहरूले यी विषयहरूमा ध्यान पुर्‍याउनु आवश्यक देखिन्छ । विदेशका राम्रा प्रयासहरू अवलम्बन गरे सकारात्मक परिवर्तन आउने निश्चित छ  । 

साउन १, २०७६ मा प्रकाशित

जिवेश झा

लेखक झा संवैधानिक कानूनका अध्येता हुन् ।

लेखकबाट थप...

प्रतिक्रिया दिनुहोस