अन्तिममा आएर बजेट खर्चको बाढी, आलोचनाबाट जोगिन सूचनासमेत लुकाइयो

साउन १, २०७६

काठमाडौं– सरकारले आर्थिक वर्षको अन्तिममा आएर तीव्र रूपमा बजेट खर्च गरेको छ । शनिवारसम्म कुल बजेटको ७७ प्रतिशत खर्च गरेको सरकारले मंगलवारसम्म करीब ८४ प्रतिशत खर्च गरेको छ ।

विदाको दिन समेत निकासा गरेर शनिवारसम्म १० खर्ब १६ अर्ब ३३ करोड ४४ लाख रुपैयाँ खर्च गरेको सरकारले विगत ३ दिनदेखि सर्वसाधारणलाई सूचनाको पहुँचबाट वञ्चित गरेको छ । यसअघि शनिवार मात्रै २ अर्ब ८६ करोड ६९ लाख रुपैयाँ निकासा गरिएको थियो ।


ADVERTISEMENT

अर्थ मन्त्रालयका प्रवक्ता उत्तरकुमार खत्रीले बुधवार दिउँसो लोकान्तरलाई दिएको जानकारी अनुसार कुल बजेट खर्च ८४ प्रतिशत पुगिसकेको छ । यद्यपि उनले मंगलवारसम्मको तथ्याङ्क आफूले जानकारी दिएको र पछिल्लो तथ्याङ्कबारे अपडेट हुन नपाएको बताए । उनले दिएको जानकारी अनुसार चालू खर्च ८६ प्रतिशत, पूँजीगत खर्च ७६ प्रतिशत तथा वित्तीय व्यवस्थापन खर्च ९१ प्रतिशत भएको छ ।

महालेखा नियन्त्रकको तथ्यांक अनुसार शनिवारसम्म पूँजीगत खर्च ६३ दशमलव ५० प्रतिशत रहेको थियो ।

कुल ३ खर्ब १३ अर्ब ९९ करोड ८२ लाख रुपैयाँ बजेटमध्ये शनिवारसम्म २ खर्ब ९४ करोड ३७ लाख रुपैयाँ खर्च गरिएको थियो ।

त्यस्तै चालूतर्फ शनिवारसम्मको खर्च ८२ प्रतिशत र वित्तीय व्यवस्थातर्फ ७८ प्रतिशत खर्च रहेको थियो ।

यसरी ३ दिनमा मात्रै बजेटको ठूलो हिस्सा खर्च भएको भन्दै आलोचना हुने भएपछि सरकारले आलोचनाबाट जोगिन सर्वसाधारणलाई सूचनाको पहुँचबाट वञ्चित गरेको छ ।

यसअघि महालेखा नियन्त्रक कार्यालयको वेइवसाइट मार्फत् दैनिक बजेटरी तुलनात्मक विश्लेषण सार्वजनिक गर्दै आएकोमा आइतवार साँझदेखि सो विवरण लुकाइएको छ ।

महालेखा नियन्त्रक कार्यालयका प्रवक्ता जगन्नाथ देवकोटाले वेबसाइटमा खराबी आएका कारण विवरण नदेखिएको र मंगलवार साँझदेखि सञ्चालनमा आउने बताएपनि वेबसाइट अझै संचालनमा आएको छैन । खराबीकै कारण आफूहरू पनि तथ्याङ्कबारे अपडेट हुन नपाएको देवकोटाको भनाइ थियो ।

यसअघि निरन्तर रूपमा सार्वजनिक गर्दै आएको खर्च तथा राजश्व संकलन लक्ष्य अनुरुप नभएपछि अर्थमन्त्रीले आलोचनाबाट जोगिन महालेखाको वेइवसाइटमा देखिने विवरण लुकाउन लगाएको स्रोतले जानकारी दिएको छ ।

तर, अर्थ मन्त्रालयका प्रवक्ता खत्रीले भने त्यसको बचाउ गरेका छन् । उनले मन्त्री र सचिवलाई मात्रै पहुँच दिइएको भन्ने कुरा सत्य नभएको बताउँदै बचाउ गरे । ‘उनीहरुलाई मात्रै पहुँच भन्ने कुरा होइन’ उनले भने, ‘महालेखा नियन्त्रकको विषय भएकाले यसबारेमा उतै जानकारी होला । हामीलाई आएको जानकारी अनुसार सिस्टममै खराबी छ ।’
महालेखा नियन्त्रक कार्यालयका प्रवक्ता जगन्नाथ देवकोटाले सिस्टममै आएको खराबीका कारण सुचना देख्न नसकिएको बताए ।

त्यस्तै अर्थ मन्त्रालयका प्रवक्ता खत्रीले राजश्व संकलन समेत करीब लक्ष्यको नजिक पुगेको बताए । ‘राजश्व संकलन ८ खर्ब ३५ अर्ब भएको छ’ उनले भने, ‘८ खर्ब ६० अर्ब राजश्व संकलन गर्ने संशोधित लक्ष्य अनुसार यो संकलन करीब ९७ प्रतिशत हो ।’

आर्थिक वर्ष २०७५/०७६मा कुल १३ खर्ब १५ अर्ब १६ करोड १७ लाख रुपैयाँ बराबरको बजेट रहेको थियो । त्यसमा ८ खर्ब ४५ अर्ब चालुतर्फ, पुँजीगततर्फ ३खर्ब १३ अर्ब रुपैयाँको बजेट रहेको थियो ।

 

साउन १, २०७६ मा प्रकाशित

प्रेम चन्द

पत्रकार चन्द लोकान्तरका लागि आर्थिक तथा समसामयिक विषयमा रिपोर्टिङ गर्छन् । 

लेखकबाट थप...

प्रतिक्रिया दिनुहोस