सीआईएका १७ एजेन्ट समातेको इरानको दाबी, केहीलाई मृत्युदण्ड दिइएको भनाइ

साउन १४, २०७६

काठमाडौं – इरानले अमेरिकी जासूसी संस्था सीआईएका १७ जासूसलाई पक्राउ गरेको सोमवार दाबी गरेको छ । तीमध्ये केहीलाई मृत्युदण्ड दिइएको छ । 

इरानको सरकारी टेलिभिजनले भन्यो, ‘हामीले सीआईएको जासूसी संयन्त्रलाई तोडेका छौं । त्यसक्रममा १७ जनालाई पक्राउ गरिएको छ ।’


ADVERTISEMENT

इरान र अमेरिकाबीच अहिले तनावको स्थिति छ ।

पक्राउ परेका जासूसहरू अत्यन्तै संवेदनशील क्षेत्र लगायतका प्राइभेट सेक्टरमा काम गरिरहेका थिए । ती सेक्टरमा आर्थिक, आणविक, संरचनागत, सैन्य र साइबर क्षेत्र छन् । त्यहाँबाट उनीहरू महत्त्वपूर्ण सूचना जम्मा गर्थे । 

यसअघि अमेरिकाले होर्मुजको खाडीमा तैनाथ आफ्नो एक युद्धपोतबाट इरानी ड्रोन खसाएको दाबी गरेको थियो । यो कारवाही यूएसएस बक्सरले जोगिनका लागि गरेको किनकि ड्रोन युद्धपोतको एक हजार यार्डभन्दा पनि कम दूरीमा आएको र ड्रोनबाट जहाज र कर्मचारीको ज्यानलाई खतरा भएको उसको भनाइ थियो । 

युद्धपोतको आक्रमणमा ड्रोन पूर्णतया नष्ट भएको बताइएको छ । तर इरानले आफ्नो कुनै पनि ड्रोनमा क्षति नपुगेको बताउँदै आएको छ । 

इरानले शनिवार होर्मुजको खाडीमा एक बेलायती तेल ट्यांकर जफत गरेपछि पश्चिमी देशहरूसँग उसको तनाव बढेर गएको छ । 

एजेन्सी
 

साउन १४, २०७६ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस