कश्मीर विवादमा अमेरिकाले मध्यस्थता गर्ने भनेपछि ट्रम्पको आलोचना

साउन ७, २०७६

काठमाडौं – कश्मीरमा मध्यस्थता गर्नका लागि भारतले आफूलाई आग्रह गरेको भन्ने बयानमा अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्प अमेरिकामा नै घेरिएका छन् । 

कांग्रेस सदस्य ब्राड शेरम्यानले ट्रम्पको बयानको आलोचना गर्दै यो अपरिपक्व र भ्रमपूर्ण बताएको छ । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले अमेरिकी राष्ट्रपतिलाई मध्यस्थताको आग्रह नगरेको बताए ।


ADVERTISEMENT

अमेरिका भ्रमणमा रहेका पाकिस्तानी प्रधानमन्त्री इमरान खानका लागि ह्वाइट हाउसमा आयोजित दिवाभोज समारोहमा ट्रम्पले कश्मीरमा मध्यस्थताको बयान दिएका थिए । 

उनले भने, ‘प्रधानमन्त्री मोदीसँग म दुई हप्ता पहिले बसेको थिएँ । उनले कश्मीर मुद्दामा कुरा गरेका थिए । मोदीले वास्तवमै मलाई मध्यस्थता गर्नुहुन्छ भनी सोधेका थिए । मैले कहाँ गर्ने हो भनी सोधें । कश्मीर समस्या वर्षौंदेखि चलिरहेको उनले भने । यो समस्या लामो समयसम्म तानिएकोमा म आश्चर्यचकित छु ।’

ट्रम्पले कश्मीर समस्याको समाधानको आवश्यकतामा जोड दिँदै यस विषयलाई छिट्टै सुल्झाउन भने । उनले भने, ‘यसलाई समाधान गर्नुपर्छ किनकि यो लामो समयसम्म चलेको छ । मोदीले पनि यसलाई त्यही रूपमा हेरिरहेका छन् । मैले उनीसँग वार्ता गरेर यसमा केही समाधान निकाल्ने प्रयास गर्नेछु ।’

भारतले ट्रम्पको दाबीलाई खण्डन गरेको छ । प्रधानमन्त्री मोदीले यस्तो कुनै पनि प्रस्ताव नराखेको भारतको विदेश मन्त्रालयका प्रवक्ता रवीश कुमारले ट्वीटमार्फत जानकारी दिए । 

ट्रम्पको बयानको लगातार आलोचना हुँदा अमेरिकाको परराष्ट्र मन्त्रालयले पनि सफाइ दिएको छ । कश्मीर विवाद भारत र पाकिस्तानको द्विपक्षीय विषय भएको उसले बताएको छ ।

एजेन्सी
 

साउन ७, २०७६ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस