गरेको कामको प्रचार भएन भन्दै कानूनमन्त्रीले रोइलो गरेपछि ...

साउन २८, २०७६

धनगढी- सुदूरपश्चिम प्रदेशको आन्तरिक मामिला तथा कानून मन्त्री प्रकाश शाहले आफूले गरेको राम्रो कामको प्रचारै नभएको दुखेसो पोखेका छन् ।

प्रदेशसभाको मंगलवारको विशेष बैठकमा बोल्दै मन्त्री शाहले हुँदै नभएको नकारात्मक कार्य मात्रै मिडियामा आएको तर राम्रो कामबारे केही नआएको दाबी गरेका हुन् ।


ADVERTISEMENT

प्रदेश सरकारले दुर्गम क्षेत्रका नागरिकहरूका लागि अत्याधुनिक एम्बुलेन्स खरिद र प्रहरीलाई भ्यान दिने विषयमा नागरिक जानकार नरहेको उनको भनाइ थियो । उनले भने, ‘आर्थिक वर्ष २०७५/०७६ मा हामीले प्रदेशका जनताका लागि अत्याधुनिक एम्बुलेन्स खरिद गरेका छौँ त्यसको राम्रो समाचारको सम्प्रेषण जनतामा हुन सकेन ।’

शान्ति सुरक्षाका विषयमा पनि प्रदेश सरकारले गरेको पहलबारे नागरिकहरू अनविज्ञ रहेको उनले बताए । आइतबारको प्रदेश सभा बैठकको शून्य समयमा प्रदेश सभा सदस्यहरूले उठान गरेका विषयमा मंगलवारको प्रदेश सभा बैठकमा मन्त्री शाहले जवाफ दिएका हुन् ।

नागरिक दैनिकमा कार्यरत पत्रकार दिलबहादुर छत्यालसँगको संवाद पनि बाहिर सार्वजनिक भएजस्तो नभएको उनले बताएका छन् । ‘पत्रकार दिलबहादुर छत्याल जी र मेरो बिचको डिबेटलाई जुन ढंगले ग्रहण गरियो बुझियो त्यो ढंगले बुझ्नु पर्ने विषय थियो जस्तो मलाई लाग्दैन,’ उनले भने, ‘सामान्य विषय हो यो । यसलाई त्यो ढंगमा बुझ्नु पर्दछ ।’

पत्रकार दिलबहादुर छत्याललाई मन्त्री शाहले दुर्व्यवहार गरेको भन्दै प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसका सांसद भरत बहादुर खड्काले शून्य समयमा मन्त्रीको जवाफ माग गरेका थिए । मंगलवारको बैठकमा भूमि व्यवस्था, कषि तथा सहकारी मन्त्री विनिता चौधरीले ‘सुदूरपश्चिम प्रदेशको कृषि तथा पशुपक्षी व्यवसाय प्रवद्र्धन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक २०७५’ टेबल गरेकी छन् ।

साउन २८, २०७६ मा प्रकाशित

लखन चाैधरी

लखन चौधरी लोकान्तरका लागि सुदूरपश्चिम प्रदेश प्रतिनिधि हुन् । 

लेखकबाट थप...

प्रतिक्रिया दिनुहोस