खप्तड क्षेत्र २ वर्षदेखि समितिविहीन

फाइल फोटो
साउन ३२, २०७६

डोटी – खप्तड क्षेत्र पर्यटन विकास समिति २ वर्षदेखि समितिविहीन छ । नयाँ समिति गठन नहुँदा कुनै कामकाज हुन सकेको छैन । 

समिति नबन्दा कार्यरत कर्मचारीले १३ महीनाको तलबसमेत नपाएको समितिका शाखा अधिकृत प्रेम कुँवरले बताए । समितिको कार्यालयमा ५ कर्मचारी करारमा काम गर्दै आएका छन् ।


ADVERTISEMENT

‘तलब नपाउँदा काम चलाउन समस्या भएको छ,’ उनले भने । करारमा शाखा अधिकृत कुँवरसहित सवइञ्जिनीयर दीपेश महतरा, कार्यालय सहयोगी धनबहादुर सिंह, शशी सिंह र लोक रावल कार्यरत छन् ।

गत असोजमा समितिको समयावधि सकिएको हो । पछिल्लो समय खप्तड क्षेत्र पर्यटन विकास समितिको कार्यालय तथा गठनसम्बन्धी जिम्मेवारीको अधिकार प्रदेश सरकारलाई प्रत्यायोजन गरिएको छ । प्रदेश सरकारको गत चैत १३ गतेको मन्त्रिपरिषद्को निर्णयबाट ‘खप्तड क्षेत्र पर्यटन विकास तथा व्यवस्थापन समिति गठन आदेश २०७५’ स्वीकृत भएपनि अहिलेसम्म नयाँ समिति बन्न सकेको छैन ।

समिति गठन र कार्यकारी निर्देशकको नियुक्ति प्रदेश सरकारले गर्ने व्यवस्था छ । प्रदेश सरकारले चासो नदिँदा समितिको काम अलपत्र छ । 

समिति नबन्दा प्रमुख पर्यटकीयस्थल खप्तडको प्रचारप्रसार तथा पर्यटन विकास ओझेलमा परेको समितिका पूर्वअध्यक्ष पूर्णराज जोशीले बताए । उनले भने, ‘वर्षौंसम्म निस्क्रिय हुनु राम्रो होइन, चाँडो समिति र निर्देशक चयन गरिनुपर्छ ।’

सुदूरपश्चिम प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री माया भट्टले खप्तड क्षेत्र पर्यटन विकास समितिको गठन प्रक्रिया अगाडि बढेको बताए । उनले भने, ‘समिति गठन गर्ने तयारीमा छौं, चाँडै खप्तडले पूर्ण समिति पाउँछ ।’

साउन ३२, २०७६ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस