राष्ट्रिय वाणिज्य बैंक भरतपुरमा आगलागी

भदौ २, २०७६

भरतपुर – राष्ट्रिय वाणिज्य बैंक भरतपुर महानगरपालिका–१० स्थित चौबीसकोठी चोकमा रहेको भवनमा सोमवार बिहान आगलागी भएको छ ।

बिहान साढे ७ बजेदेखि लागेको आगो डेढ घण्टामा नियन्त्रणमा आएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी नायव उपरीक्षक एकनारायण कोइरालाले जानकारी दिए ।


ADVERTISEMENT

२ तले भवनको आगलागीबाट तल्लो तलाका अधिकांश सामान जलेर नष्ट भएका छन् । शाखा प्रमुखको कार्यकक्ष जलेर ध्वस्त भएको छ । आगलागीबाट भएको क्षतिको यकिन विवरण संकलन भइरहेको छ ।

भरतपुर महानगरपालिका, रत्ननगर नगरपालिकाको दमकल, नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना र स्थानीयको सहयोगमा आगो नियन्त्रणमा लिइएको हो । विद्युत् सर्ट भएर आगलागी भएको र महत्त्वपूर्ण कागजात, पैसाको लकर र सर्बर सुरक्षित रहेको  सहायक प्रमुख जिल्ला अधिकारी जनकराज पन्तले बताए ।

मोबाइल पसलमा आगलागी 

चितवनको नारायणगढस्थित लायन्सचोकमा रहेको लायन्स भवनमा आइतवार राति आगलागी भएको छ । आगलागीबाट भवनको भुइँतलामा रहेको गुगल मोबाइल पसलका अधिकांश सामान जलेका छन् । आगलागीबाट भएको क्षतिको यकिन विवरण आउन बाँकी छ ।

भवनको माथिल्लो तलमा भने कुनै क्षति भएको छैन । तार सर्ट भएर आगलागी भएको इलाका प्रहरी कार्यालय नारायणगढले जनाएको छ । भरतपुर महानगरपालिकाको दमकल, प्रहरी र स्थानीयले आगो नियन्त्रणमा लिएका थिए ।

भदौ २, २०७६ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस