अमेजन जंगल बचाउन विश्वभरि अभियान चलाइँदै

भदौ ८, २०७६

काठमाडौं – संसारलाई २० प्रतिशत अक्सिजन दिने अमेजन जंगल अहिले डढिरहेको छ । 

वन्यजन्तु र रुखबिरुवाका ३०० करोड प्रजातिहरू आफूलाई बचाउन संघर्षरत छन् । विगत दुई वर्षमा १०० करोड रुख आगोको चपेटामा परेका छन् । 


ADVERTISEMENT

हालै फैलिएको आगोको दायरा तीव्र गतिमा बढिरहेको छ । दक्षिण अमेरिकाका नौ देश यसकारण समस्यामा परेका छन् । 

सामाजिक सञ्जालमा अहिले ह्याशट्याग अमेजनफायर ट्रेन्डिङमा छ । 

अमेजन रेनफरेस्टलाई बचाउनका लागि सामाजिक सञ्जालमा प्रार्थना गर्न अपील गरिएको छ । ट्विटरमा फ्रान्सेली वैज्ञानिक हुबर्ट रिवेसको एक बयान भाइरल भइरहेको छ, ‘मानिस धर्तीको सबभन्दा उन्मादी प्रजाति हो । ऊ अदृश्य ईश्वर पूजा गर्छ तर आँखाले देखिने ईश्वरीय प्रकृतिलाई बर्बाद गर्छ ।’ सामाजिक सञ्जाल प्रयोगकर्ताहरूले देशका विवाद बिर्सेर अमेजनको जंगल बचाउन एकसाथ आउन अपील गरेका छन् ।

फ्रान्समा ८५० वर्ष पुरानो नोट्रेडेमस चर्चमा आगो लागेर ध्वस्त हुँदा जीर्णोद्धारका लागि संसारभरिबाट पैसा जुटाइएको थियो । सामाजिक सञ्जालमा चर्चाको पुनरुद्धारका लागि पैसा जुटाइएको तर जंगल बचाउन कोही पनि अघि नसरेको भनी आलोचना गरिएको छ । 

केही मानिसहरूले शरीरमा पेन्टिङ गरेर आगोको भयंकर रूप र त्यसबाट बच्न जनावरहरूले गरेको संघर्ष चित्रित गरेका छन् । मानिस र जनावर मिलेर यस त्रासदीसँग लड्न प्रेरित गर्ने तस्वीरहरूलाई अभियानको अंग बनाइएको छ । 

एजेन्सी
 

भदौ ८, २०७६ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस