कम्युनिस्ट पार्टीको स्थापना दिवस कहिले ? भ्रम र यथार्थको चिरफार

भदौ १२, २०७६

नेपालको राजनैतिक इतिहासमा प्रत्येक वर्ष आउने १५ सेप्टेम्बरको दिन नेपाललाई एउटा नयाँ युगमा पदार्पण गराउने प्रस्थान बिन्दू, नव चेतनाको आमूल र अग्रगामी क्रान्तिकारी धार बोकेको, नेपाल कम्युनिस्ट पार्टी स्थापना दिनको रुपमा अकाट्यरुपमा अंकित छ ।

विश्वको आधुनिक क्रान्तिकारी आन्दोनलको एउटा अभिन्न अंगको रुपमा नेपालमा पनि कम्युनिस्ट आन्दोनलको सूत्रपात भएको छ । देशको आधुनिक राजनीतिक विकासको इतिहासमा १५ सेप्टेम्बर १९४९ को दिन नेपालमा शोषित पीडित वर्गको आमूल परिवर्तनको आन्दोलन विधिवत् आरम्भ भएकाले यस दिनको ठूलो ऐतिहासिक महत्त्व छ ।


ADVERTISEMENT

यस दिन देशमा विधिवत् र संगठितरुपमा कम्युनिस्ट पार्टीको स्थापना गरियो । कम्यनिस्ट आन्दोलनको संस्थागतरुपमा अघि बढ्न थाल्यो । एकतन्त्री हुकुमी राणाशाहीको त्यस घोर कालरात्रीमा कम्युनिस्ट पार्टी स्थापना गर्नु स्वयं मात्र पनि चानचुने कुरा बिल्कुलै थिएन । त्यसमा पनि सामन्ती, भारतीय एकाधिकार पूँजीवादी तथा अमेरिकी साम्राज्यवादी सबैखाले शोषण र उत्पीडनबाट नेपाली समाजलाई मुक्त गर्ने आमूल परिवर्तनकारी कार्यक्रमको उद्घोषका साथ नयाँ, समुन्नत, सभ्य र शोषणरहीत नेपाली समाजको निर्माण गर्ने स्पष्ट उद्देश्य, ठोस लक्ष्य र दृढ अठोट बोकेको पार्टी स्थापना हुनु गुणात्मक रुपले नै एउटा अत्यन्तै महत्त्वपूर्ण र दूरगामी प्रभाव पार्ने र जनताको आत्मविश्वास जगाउने आन्दोलनको जग बसाल्ने कदम थियो ।

वास्तवमा पार्टी स्थापनाले मुलुकलाई एउटा नयाँ दृष्टिकोण र नयाँ दिशाको उद्बोधन गराएको थियो । विश्व समाजलाई भौतिकवादी दृष्टिकोणबाट हेर्ने, व्याख्या गर्ने र परिवर्तन गर्ने उन्नत मार्क्सवादी वैज्ञानिक तथा सामाजिक सिद्धान्तको मार्गदर्शनमा चल्ने र परिचालित हुने पार्टीले देशको व्यापक लोकतान्त्रिकीकरणको कुरालाई नै आफ्नो पहिलो र आधारभूत न्यूनतम लक्ष्य मानेको थियो र अद्यापि मानिरहेको छ । 

त्यसैले कम्युनिस्ट आन्दोलन लोकतान्त्रिक आन्दोलनको अभिन्न अंग बनेको र उच्च लोकतान्त्रिक मूल्य र मान्यतालाई आन्दोलनले आत्मसात गरेको छ भन्नु अत्युक्ति हुने छैन । यस आन्दोलनलाई लोकतान्त्रिक आन्दोलनका विरुद्ध उभ्याउने खालका गतिविधि पनि नभएका होइनन् र अद्यापि हुँदै आएका पनि छन् तर सामाजिक न्याय, समानता र समुन्नति नै प्रजातन्त्रको उद्देश्य हुनुपर्ने कुरामा यसले सबैभन्दा बढी जोड दिन्छ र तिनै कुरालाई लोकतन्त्रको मूल आधार मान्दछ । त्यसैले औपचारिक प्रजातन्त्रभन्दा गुणात्मकरुपले नै भिन्न छ ।

हुन त नेपाली कम्युनिस्ट आन्दोलनभित्र अनेक अन्तरविरोध रहेका छन् । तीमध्ये कतिपय अन्तरविरोध निकै महत्त्वपूर्ण र आधारभूत प्रकृतिका छन् भने कतिपय हलुका खालका र प्रायोजित प्रकृतिका पनि छन् । खासगरी नेपाली क्रान्तिको स्वरुप र चरित्र जस्ता गम्भीर कुरामा पनि सैद्धान्तिक एवं वैचारिक किसिमका समस्या रहेका छन् भने नेपाली जनताको मुख्य समस्या या बाधक तत्व घरेलु सामन्तवाद हो कि पूँजीवाद हो भन्ने प्रश्न लामो समयसम्म उठाइयो र हालसम्म पनि एक वा अर्को किसिमले उठ्ने उठाइने गरेको छ । कसैले समान दुश्मनको गैरमाक्र्सवादी सोचका आधारमा पनि कुरा उठाएका छन् भने कतिपयले सामन्तवाद पतनोन्मुख भएकाले पूँजीवाद नै आजको मुख्य दुश्मन हो भन्ने ठहर पनि गरेका छन् । अनि कतिपयले देशको आर्थिक पद्धति र सामाजिक संरचना तथा बाह्य दबाब र प्रभावका आधारमा अहिले नेपाली समाजको अग्रगामी विकास र प्रगतिको मुख्य बाधक तत्व घरेलु सामन्तवादले नेतृत्व गरेको दलाल पूँजीवाद र बाह्य साम्राज्यवाद तथा एकाधिकार पूूँँजीवाद हो भन्ने कुरालाई प्रस्टसँग औल्याएका छन् ।

मुलुकको लोकतान्त्रिक आन्दोलनको वर्तमान चरणमा यो दृष्टिकोण र विचार वढी वस्तुगत यथार्थमा आधारित सही र सामयिक प्रमाणित भएको छ । नेपाली राष्ट्र र जनताले भोग्दै आएका र भोगिराखेका सामन्ती, अर्धसामन्ती र नवऔपनिवेशी साम्राज्यवादी शोषण र थिचोमिचो तथा नेपाली जनजीवनका यथार्थ अनुभवले पनि यस कुराको पुष्टि गर्छन् । वस्तुुतः समग्र राष्ट्रिय अन्तर्राष्ट्रिय परिस्थिकोे ठोस मूल्यांकन गर्ने कसैले पनि के कुरा इन्कार गर्न सक्तैन भने नेपाली जनतालाई शोषण दमन गर्ने सामन्त तथा दलाल नोकरशाही वर्गीय सामाजिक राजनीतिक शक्तिको कारण र परिणाम नै आजको मुलुकको विसंगत  तस्वीर हो । यो तस्वीर बदल्नको लागि अग्रसर हुनुपर्ने कार्यभार नै आजको कम्युनिस्ट आन्दोलनको मुख्य दायित्व र लोकतान्त्रिक कार्यभार हो भन्ने कुरा एकदमै प्रष्ट छ । 

सामान्य इतिहासको हेक्का राख्ने र ऐतिहासिक सत्यतथ्यलाई मान्ने कसैलाई पनि यो एकदमै प्रस्ट भएको कुरा हो कि एउटै सिंगो पार्टी रहुञ्जेलसम्म नेपाल कम्युनिस्ट पार्टीको जन्म दिन वा स्थापना दिवसबारे कुनै मतभेद, बहस र विवाद बिल्कुलै थिएन । २००६ सालदेखि २०१९ सालसम्म १५ सेप्टेम्बर नै पार्टीको आधिकारिक स्थापना दिवस वा जन्म दिनको रुपमा राष्ट्रिय र अन्तर्राष्ट्रिय जगतमा मान्यता प्राप्त र सर्वस्वीकार्य दिन थियो । नेपाल कम्युनिस्ट पार्टीलाई भाइचारापूर्ण शुभकामना दिँदा त्यसबेलामा सोभियत संघ र जनवादी गणतन्त्र चीन लगायतका सत्तामा रहेका कम्युनिस्ट पार्टीले त्यसैदिन शुभकामना दिने गर्दथे तर कम्युनिस्ट पार्टीमा विभाजन र बिखण्डन हुन थालेपछि स्थापना दिवसको विवाद पनि अनावश्यक रुपमा र कृत्रिम किसिमले उछालियो । इतिहास, परम्परा, मूल्य, मान्यता सबै कुरालाई जानाजान वा अञ्जानमा ताकमा राखेर वा बेवास्ता गर्दै पार्टीको विभाजन र बिखण्डनसँगै एकपछि अर्को विभाजित घटकबाट पार्टीको जन्मदिन नै फेर्ने र विवाद सिर्जना गर्ने काम भयो । यस क्रममा पार्टीका आधिकारिक र ऐतिहासिक दस्तावेज र पार्टीका महाधिवेशन तथा सम्मेलन जस्ता सर्वाेच्च अंगका निर्णयलाई ठाँडै उल्लंघन गर्दै प्रायोजित किसिमका वक्तव्यवाजीका भरमा पार्टीको जन्मदिन फेर्ने जस्तो हाँस्यास्पद कार्य गरियो वा गराइयो ।

यसरी कृत्रिम किसिमले अन्य कुराका अतिरिक्त पार्टीको स्थापना दिवस समेतमा विवाद र बखेडा झिकिएपछि देशको कम्युनिस्ट आन्दोलनप्रतिको जनविश्वासमा आँच त पुग्यो नै अनावश्यकरुपमा भ्रम पनि सिर्जना हुँदै आयो । पार्टीको इतिहासमा कुनै गम्भीर गल्ती भएको र त्यसले देशको जनवादी आन्दोलनलाई अघि बढाउन बाधा अवरोध पुर्‍याएको भए त्यसलाई समयमै ठीक प्रक्रियाबाट पार्टीको सर्वोच्च अंगमा राखेर सच्च्याउने, सुधार्ने वा मौलिक परिवर्तन गर्ने कुरालाई बुझ्न सकिन्छ तर पार्टीको तेस्रो महाधिवेशनसम्म यो कुरा कतै कसैले पनि उठाएन । बरु २००८ सालमा भएको पार्टीको पहिलो सम्मेलनले पार्टीको जन्मदिन १५ सेप्टेम्बर र पार्टीको कार्यक्रम नयाँ जनवादी कार्यक्रम हो भन्ने कुरा यकिन र किटान गरेर प्रस्ट प्रस्ताव नै पारित गर्‍यो । त्यतिबेला त्यस महत्त्वपूर्ण विषयमा  कसैले न विमति जनायो, न विवाद नै गर्‍यो । वास्तवमा त्यसो गर्नुको  कुनै  आधार, औचित्य र आवश्यक नै थिएन । 

निश्चय नै नेपालमा कम्युनिस्ट पार्टी स्थापना गर्ने हेतुले २००६ वैशाख १० गते भारतको कलकत्तामा पार्टी निर्माण गर्ने एउटा संगठक कमिटी बनाएर त्यसले नेपाली जनतालाई अपिल गर्दै एउटा पर्चा प्रकाशित गरेको इतिहास तथ्य कुरा हो । कम्युनिस्ट पार्टी स्थापना गर्न अपिल गरिएकाले त्यो पर्चा पहिलो पर्चाको नामले परिचित पनि छ । कम्युनिस्ट पार्टीको संस्थापन गर्नका निमित्त बनाइएको कमिटी हुनाले नै त्यसका सदस्यलाई संस्थापक सदस्य भनिएको र मानिएको कुरा पनि सबैमा प्रस्ट नै छ । कम्युनिस्ट पार्टी निर्माण गर्ने कुरामा लामो चिन्तन र गृह कार्य गरेर मात्र त्यो संघटक कमिटी बनाइएकोे कुरा नेपाल कम्युनिस्ट पार्टीको संक्षिप्त इतिहास नामक कृतिमा कमरेड पुष्पलालले प्रस्ट उल्लेख गरेको पाइन्छ । त्यस कमिटीले काम गर्दै गएर अर्थात् आवश्यक गृहकार्यपछि १५ सेप्टेम्बर १९४९ का दिन अर्थात् २००६ भदौ ३० गते पार्टीको घोषणापत्रका साथै केन्द्रीय संगठन समितिको पनि विधिवत् घोषणा भयो र त्यसले नै पार्टीको प्रथम सम्मेलन गरायो भन्ने यथार्थ यसको इतिहासले प्रस्टसँग दर्शाएको छ । एउटा पार्टी हुनुको यथार्थ नै त्यसको घोषणापत्र, विधान र त्यसका आधारमा चल्ने संगठन समिति हो । त्यसको परिपूर्ति १५ सेप्टेम्बरका दिन भयो । यसरी विधिवत् रुपमा पार्टी जन्मियो र संस्थागत रुपमा चल्दै आयो । यसका लागि न पार्टी जन्म दिन पत्ता लगाउन आयोग गठन गर्न जरुरी थियो, न त्यस्तो आयोगले इतिहासलाई नै तोडमोड गर्दा कम्युनिस्ट पार्टीको जन्म दिन विलोप हुन्थ्यो । यसरी ठोस वस्तुगत परिघटना र सामग्रीका तथ्यसंगत आधारमा इतिहास आफैं सत्य बोल्छ ।

त्यसमाथि थोपरिएका कृत्रिम कुराले सधैं त्यसलाई ढाकछोप गरिरहन सक्दैनन् भन्ने वैज्ञानिक, वस्तुनिष्ठ कुरा र सत्य हो । भूmटा र कृत्रिम कुरा गरेर आमूल परिवर्तनको अभियानलाई सही किसिमले अघि बढाउन बिल्कुलै मद्दत पुग्दैन तर बिडम्बना ! अरु त अरु कमरेड पुष्पलालसँगै खासगरी २०२० देखि २०३० सालको दशकमा सँगै काम गरेका र वर्षाैंसम्म कमरेड पुष्पलालसँग १५ सेप्टेम्बरका दिन कम्युनिस्ट पार्टीको स्थापना दिवस मनाउँदै आएका र कमरेड पुष्पलालको देहाबसानपछि पनि लामो समयसम्म यस ऐतिहासिक दिनको ठूलो  महत्त्व दर्शाउँदै र मनाउँदै आएका कतिपय मानिस कुन कारणले हो आज गैरजिम्मेवार किसिमले भ्रमपूर्ण कुरा गर्दै फेरि पनि २२ अप्रिलमा पार्टी स्थापना भएको कुरा लेख्न थालेका छन् । यसले गर्दा पुरानो संस्कृतको एउट श्लोक यतिबेला बारम्बार याद आइरहेको छ – को न याति वशं लोके मुख पिण्डेन पुरितः । मृदंग मुखलेपेन करोति मधुरध्वनिम् ।

हो, बेग्लाबेग्लै वाम कम्युनिस्ट समूह गठन गरेपछि तिनका जन्म वा स्थापना दिन पनि फरक–फरक हुनु बुझ्न सकिने कुरा हो तर बेग्लै समूह बनाएको नाममा इतिहाससँग नै खेलवाड गर्नु र इतिहासलाई जिस्क्याउनु बिल्कुलै अशोभनीय र मार्क्सवादी चिन्तन तथा चरित्र विपरीत ऐतिहासिक तथा द्वन्द्वात्मक भौतिकवाद विरोधी  कुरा हो । वास्तवमा मार्क्सवाद भनेकै समाज विकासको इतिहासलाई सही आधारमा सही दिशा दिएर सच्याउने कुरा नै हो । मार्क्सले ‘टाउकाले टेकेर हिँडिरहेको समाजलाई मैले खुट्टाले टेकेर हिँड्ने दिशा दिएको’ भनेका हुन् ।

त्यसैले आजको जटिल राष्ट्रिय तथा अन्तर्राष्ट्रिय यथार्थलाई ध्यानमा राखेर देश र जनताप्रति समर्पित क्रान्तिकारी कम्युनिस्ट तथा वाम एकताको आवश्यकतालाई मूर्तरुप दिने र नेपाली जनता र राष्ट्रलाई अग्रगामी दिशामा डोर्‍याउने हो भने विगतका गल्ती कमजोरीलाई सही किसिमले सच्याएर जनताको आत्मविश्वास जगाउने १५ सेप्टेम्बरको मर्म र भावनलाई आत्मसात गर्ने दिशामा अग्रसर हुनैपर्छ । योबाहेक यसको अरु कुनै रचनात्मक विकल्प पनि छैन । यो महत्त्वपूर्ण दिनलाई अभिवादन गरौं र क्रान्तिकारी कम्युनिस्ट सही दिशामा अघि बढौं ! यही नै आजको राष्ट्रिय तथा अन्तर्राष्ट्रिय आवश्यकता हो ।

भदौ १२, २०७६ मा प्रकाशित

लोकनारायण सुवेदी

सुवेदी नेपाल कम्यूनिस्ट पार्टीका उपाध्यक्ष हुन् ।

लेखकबाट थप...

प्रतिक्रिया दिनुहोस