पदमुक्त पूर्व मन्त्री २३ दिनपछि अदालतमा हाजिर

भदौ १८, २०७६

सुर्खेत – कर्णाली प्रदेश सरकारबाट पदमुक्त गरिएका पूर्व भौतिक पूर्वाधार विकास मन्त्री खडक खत्री बुधवार उच्च अदालत पाटनमा हाजिर भएका छन् ।

मन्त्री बहाल रहेकै बेला साउन २७ गते उनलाई ३ दिनभित्र अदालतमा हाजिर हुन भनेपनि २३ दिनपछि मात्रै उनी उपस्थित भएका छन् ।


ADVERTISEMENT

खत्री बुधवार उच्च अदालत पाटनको वाणिज्य इजलासमा उपस्थित भएका छन् । खत्रीको बुधवारै अदालतले बयान लिएपछि थुनछेक बहस हुनेछ ।

उच्च अदालतका रजिस्ट्रार बाबुराम दाहालले पूर्व मन्त्री खत्रीको बयान लिने काम भइरहेको छ । ‘अहिले उहाँको बयान लिने काम भइरहेको छ,’ उनले भने, ‘त्यसपछि थुनछेक बहस हुनेछ र साँझ साढे ४ बजेसम्म आदेश आउने छ ।’

बैंकिङ कसूरका आरोपी खत्रीलाई साउन ३१ गते कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले पदमुक्त गरिसकेका छन् । कृषि विकास बैंक भोजपुरको नाममा कीर्ते बैंक ग्यारेन्टी बनाएर खत्री लगायतका व्यक्तिले जिल्ला प्राविधिक कार्यालय भोजपुरमा पेश गरेको अभियोग उनीमाथि छ ।  

खत्रीसहित ५ जनाले १ करोड १० लाख ८० हजार रुपैयाँ रकमको कीर्ते बैंक ग्यारेन्टी बनाएको भन्दै अदालतले उनलाई पक्राउ गर्न आदेश दिएको थियो । खत्री तत्कालीन नेकपा एमालेबाट सुर्खेत क्षेत्र नम्बर १ (ख) निर्वाचन क्षेत्रबाट प्रदेशसभा सांसद निर्वाचित भएका थिए । 

भदौ १८, २०७६ मा प्रकाशित

शेरबहादुर थापा

थापा लोकान्तरकालागि कर्णाली प्रदेशका प्रतिनिधि हुन् ।

लेखकबाट थप...

प्रतिक्रिया दिनुहोस