यू–१९ एसिया कप : नेपालको लगातार दोस्रो हार, सम्भावना लगभग समाप्त

भदौ २२, २०७६

काठमाडौं– एसीसी यू–१९ एसिया कप क्रिकेट प्रतियोगिताअन्तर्गत आफ्नो दोस्रो खेलमा पनि पराजित भएपछि नेपालको अघिल्लो चरण पुग्ने सम्भावना लगभग समाप्त भएको छ ।

आइतवार भएको खेलमा नेपाल बंगलादेशसँग ६ विकेटले पराजित भयो । नेपालले पेश गरेको २ सय ६२ रनको चुनौती बंगलादेशले ४ बलअगावै ४ विकेट गुमाएर पूरा गर्‍यो ।


ADVERTISEMENT

बंगलादेशको जितमा महत्त्वपूर्ण इनिङ खेलेका कप्तान अकबर अलि अविजित शतक बनाउनबाट मात्र २ रनले चुके ।

नेपालका लागि कमलसिंह ऐरीले २ तथा रसिद खान र हरि चौहानले १/१ विकेट लिए ।

यसअघि श्रीलंकाको कोलम्बोमा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको नेपालले निर्धारित ५० ओभरमा ८ विकेट गुमाएर २ सय ६१ रन जोडेको थियो ।

नेपाललाई सम्मानजनक स्कोरसम्म डोहोर्‍याउने क्रममा पवन सर्राफ र सन्दीप जोराले सानदार अर्धसतकीय पारी खेले । पवनले ८१ रनको योगदान गर्दा सन्दीपले ५६ रन जोडे ।

यसका अलावा रित गौतमले ३२, कुशल मल्लले २८, भीम सार्कीले २१ र कप्तान रोहित पौडेलले १४ रन जोडेको पारीमा अन्य ब्याट्सम्यानले दोहोरो अंकमा रन जोड्न सकेनन् ।

पहिलो खेलमा नेपाल घरेलु टोली श्रीलंकासँग पराजित भएको थियो । बंगलादेशले भने युएईलाई पराजित गरेको थियो ।

भदौ २२, २०७६ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस