कालाजारबाट १ जनाको मृत्यु

भदौ २४, २०७६

बुटवल – लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा उपचार गराइरहेका कालाजारका १ बिरामीको मृत्यु भएको छ ।

पाल्पाको रैनादेवी छहरा गाउँपालिका, बल्ढेङगढीकी जीवन रानाको मृत्यु भएको अस्पतालका मेडिकल सुपरिन्टेन्डेन्ट डा. कृष्ण खनालले जानकारी दिए ।


ADVERTISEMENT

पश्चिम तराईमा उन्मूलन भइसकेको भनिएको कालाजार ४ वर्षपछि भेटिएको हो । भैरहवास्थित मेडिकल कलेजमा उपचारको क्रममा कालाजार भएको पत्ता लागेपछि उनलाई थप उपचारको लागि प्रादेशिक अस्पताल बुटवल ल्याइएको थियो ।

बुटवलमा प्रादेशिक अस्पतालबाहेक अन्यत्र कालाजारको उपचार हुँदैन । भुसुनाको टोकाइबाट कालाजार हुने गर्दछ । कुनै बेला कालाजार रोग तराई क्षेत्रमा मात्रै बसोबास गर्नेलाई हुने गर्दथ्यो तर अहिले उच्च हिमाली क्षेत्र र पहाडमा समेत कालाजार देखिन थालेको छ ।

कालाजार लागेमा सामान्यतया लगातार ज्वरो आउने गर्छ भने फीयो र कलेजोमा संक्रमण बढ्न गई पेट फुल्लिने, कमजोरी महसूस हुनेलगायत लक्षण देखिने डा. खनालले बताए । चिकित्सकका अनुसार कालाजार रोग लागेमा रक्तअल्पता हुने, मानिस दुब्लाउँदै जाने, फियो धेरै बढ्ने तथा केही समयपछि कलेजो समेत बढ्ने हुन्छ ।

कालाजार ‘लेसमानिया डोनोभानी’ नामक प्यारासाइट प्रोटोजोवाका कारण हुने रोग हो । यो एक प्रकारको सेन्टलाई नामक भुसुनाको टोकाइबाट सर्छ । रोगी व्यक्तिलाई टोकेको भुसुनाले निरोगी व्यक्तिलाई टोकेमा कालाजार रोग सर्छ । त्यसैले यसलाई सरुवा रोग पनि भनिन्छ ।

कुकुर, सुँगुर, हाँस, बंगुर र जंगली मुसामा कालाजार रोग बढी पाइन्छ । कालाजार जुनसुकै उमेरको व्यक्तिलाई हुन सक्छ । 

भदौ २४, २०७६ मा प्रकाशित

प्रकाश आचार्य

प्रकाश आचार्य लोकान्तरका लागि ५ नम्बर प्रदेशका प्रतिनिधि हुन् ।

लेखकबाट थप...

प्रतिक्रिया दिनुहोस