डेंगुको निःशुल्क परीक्षण शुरु

भदौ २४, २०७६

बुटवल- बुटवल कालिकानगरको चौराह हस्पिटल प्रालिले डेंगुका विरामीहरुको निःशुल्क स्वास्थ्य परीक्षण गरिदिने भएको छ ।

सामाजिक उत्तरदायित्व अन्तर्गत अस्पतालले बुधबारदेखि डेंगुको लक्षण देखिएका विरामीको स्वास्थ्य परीक्षण निःशुल्क गर्ने भएको हो ।


ADVERTISEMENT

आर्थिक अभावमा डेंगु परीक्षण गराउन गरीब तथा विपन्न वर्गका विरामीहरु बन्चित हुन नपरोस् भनेर निशुल्क डेंगु परीक्षण कार्यक्रम ल्याइएको अस्पतालका अध्यक्ष सुदन ज्ञवालीले बताए । गरीब तथा विपन्न वर्गलाई लक्षित गरी ल्याइएको यो कार्यक्रममा  डेंगु परीक्षणका लागि कुनै निवेदन र सिफारिस नचाहिने अध्यक्ष ज्ञवालीले स्पष्ट पारे ।

एक जनाको डेंगु परीक्षणका लागि इमर्जेन्सीको टिकट शुल्क तीन सय ५० रुपैयांसमेत गरी एक हजार ८ सय ५० रुपैयां निःशुल्क गरिएको ज्ञवालीले बताए ।

अस्पतालले एक हजार जनासम्मलाई निःशुल्क परीक्षण गर्ने गरी आवश्यक किट व्यवस्थापन र तयारी गरेको अस्पतालका प्रबन्ध निर्देशक बिरु भण्डारीले जानकारी दिए ।

हालसम्म अस्पतालमा ३ सय ४० जनाले ज्वरो परीक्षण गराएकामा ३४ जनामा डेंगु भेटिएको अस्पतालका डाक्टर विवेक मल्लले बताए ।

२०६९ सालमा स्थापना भएको अस्पताल विगत ६ महिनादेखि नयां व्यवस्थापनमा सञ्चालन भइरहेको छ । अस्पताललाई अन्य सेवा सहित ट्रमा सेन्टरको रुपमा विकास गर्ने तयारी भइरहेको छ ।

पत्रकार सम्मेलनमा पक्लिहवा कृषि क्याम्पसका निर्देशक डा.कृष्ण काफ्ले र भेटेनरी एशोसिएसन प्रदेश ५ का अध्यक्ष डा. विरेन्द्र कुमार श्रेष्ठले डेंगु लगायतका संक्रमणजन्य रोगहरु नियन्त्रणका लागि भेटेनरी शिक्षण अस्पतालको सहयोगमा वान हेल्थ कन्सेप्ट अनुसार काम गर्न सकिने बताए ।

 

 

भदौ २४, २०७६ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस