इन्जिनियरको परीक्षा छाडेर ब्याट–बलमा रमाएका सिंह

भदौ २८, २०७६

जनकपुरधाम – महोत्तरी जिल्लाको एकडारा गाउँपालिकास्थित कोल्हुवा बगेयाका नविनकुमार सिंह पढ्नमा अब्बल थिए तर बाल्यकालदेखि नै खेलकुदमा धेरै रुचि राख्थे उनी । २०१९ मंसिर २४ गते जन्मिएका नविन जनकपुरको जानकी माध्यमिक विद्यालयमा ६ कक्षामा अध्ययनरत रहेकै बेलादेखि क्रिकेटप्रति विशेष रुचि लिन थाले ।

बुवा मिथिलाशरण प्रसाद सिंह त्यतिबेला शिक्षा अधिकारी थिए भने आमा आशा रानी सिंह त्यहीँ विद्यालयमा शिक्षिका थिइन् ।


ADVERTISEMENT

पढाइ–लेखाइभन्दा पनि क्रिकेटमा नविन बढी केन्द्रित हुन थालेपनि उनका आमाबुवालाई मन परिरहेको थिएन । ६ कक्षादेखि नै उनी जनकपुरको रंगभूमि मैदान बारहबिघामा क्रिकेटको मैदानमा ब्याट र बल लिएर खेल्न पुगिहाल्थे ।

क्रिकेट खेलमा उनी बलिङ गर्थे । राम्रो खेल्ने भएपनि कम उमेरका कारण उनलाई त्यतिबेलाको जनकपुरको टीममा राख्ने गरिएको थिएन । ९ कक्षामा पुगेपछि उनलाई पनि क्रिकेट टीममा राख्न थालियो ।

त्यतिबेला जनकपुरमा कल्याण ढुंगेल, बच्चु कोइराला, विनयचरण सिंह, सतेन्द्र सिंह सहितको टीममा उनले तीब्र गतिको बलरको रुपमा प्रवेश पाएका थिए । २०३४ सालमा उनले एसएलसी उत्तीर्ण गर्दासम्म उनलाई घरपरिवारले क्षेत्रीय तथा अञ्चल स्तरीय क्रिकेट प्रतियोगितामा जान दिएका थिएनन् ।

इन्जिनियरिङको पढाइ छाडेर क्रिकेटमा

२०३७ सालमा काठमाडौंमा भएको प्रथम राष्ट्रिय क्रिकेट प्रतियोगिताका लागि जनकपुर अञ्चल स्तरीय टीमबाट छनौट भएपनि बुवाआमाले उनलाई खेल्न जान दिएनन् । खेलमा लागे पढाइ बिग्रन्छ भन्दै उनलाई आमाबुवाले क्रिकेटबाट टाढा नै राख्थे ।

२०३८ सालमा झापामा भएको अर्को प्रतियोगितामा पनि उनलाई आमाबुवाले रोके तर २०४० सालदेखि भएको राष्ट्रिय प्रतियोगितामा भने उनले खेल्न पाए । 

एसएलसी उत्तीर्ण गरेर क्रिकेट र पढाइलाई उनले निरन्तरता दिएकै थिए । उनले जनकपुरको राम स्वरूप राम सागर बहुमुखी क्याम्पसबाट आईएस्सी पनि उत्तीर्ण गरे । पढाइमा पनि राम्रै भएकाले काठमाडौंस्थित त्रिभुवन विश्वविद्यालयको पुल्चोकस्थित इन्जिनियरिङ कलेजमा इलेक्ट्रिकल इन्जिनियरिङमा पूर्ण छात्रवृत्तिमा नाम निकाल्न समेत सफल भएका थिए उनी । ३ सेमेस्टरसम्म पुगेका उनले बीचमै पढाइलाई छाडे ।

‘जाँच र क्रिकेटको राष्ट्रिय प्रतियोगिता एकै समय पर्ने हुँदा मैले जाँच छोडेर क्रिकेटलाई नै रोज्ने गर्थें,’ सिंह सम्झन्छन्, ‘त्यसकारण पढाइ छोड्नुपर्थ्यो ।’ 

‘पढाइ छोडेर क्रिकेटमा लागेका कारण शुरूमा आमाबुवा धेरै नै दुःखी हुनुभयो,’ सिंहले भने, ‘तर मैले उहाँहरूलाई एक पटक मैदानमा आएर मेरो खेल हेर्नुस् भने । उहाँहरूले मेरो खेल हेरेपछि सहयोग गर्न थाल्नुभयो ।’ त्यसपछि हरेक खेल हेर्न आमाबुवा मैदानसम्मै पुग्ने गरेको उनले स्मरण गरे ।

तीब्र बलरदेखि अलराउन्डरसम्मको यात्रा 

२०४० सालमा नै जनकपुर चुरोट कारखाना लिमिटेड (जचुकालि) को टीममा उनले सदस्य हुन पाए । त्यतिबेला कारखानाले खेलाडीलाई जागिर दिएर विभिन्न खेलको छुट्टै टीम बनाउने गर्थ्यो । हरेक खेलमा जचुकालिको टीमले राष्ट्रिय उपाधि समेत जितेर आउने गर्थ्यो । जचुकालिको टीममा परेपनि उनलाई २०४५ सालमा मात्र जचुकालिले जागिर दिएको थियो ।

त्यतिबेला काठमाडौं खेल मण्डल (केकेएम) शिल्डको राष्ट्रिय प्रतियोगिता आयोजना हुने गर्थ्यो । जसमा नेपाल र भारतका विभिन्न टीम सहभागी हुने गर्थे । २०४० सालमा फाइनलमा जनकपुरको टीम नेपाल पब्लिक मोटर सर्भिसेज टीमसँग पराजित भएको थियो । जित्ने टीमले भारतका चर्चित खेलाडीलाई सहभागी गराउने गर्थ्यो । भारतको क्रिकेट टीमबाट अन्तर्राष्ट्रिय खेल खेल्न पुगेका सबा करिम जस्ता खेलाडीलाई सामेल गराएका कारण जनकपुरको टीम हार्नुपरेको नविन सम्झन्छन् ।

जनकपुरको तर्फबाट प्रतियोगितामा नविनसँगै दिपक गुप्ता, उत्तम कर्माचार्य, गुणवन्त बहादुर सिंह, सञ्जय ठाकुर, प्रदीप शर्मा, प्रकाश शर्मा, दिपक कोइराला, अशोक दत्त खेल्ने गर्थे ।

काठमाडौं खेल मण्डलको पहिलो प्रतियोगितामा जनकपुरले हार व्यहोरेपनि जनकपुरको टीमले २०४१ सालदेखि ०४३ सालसम्म लगातार उपाधि जित्न सफल भएको थियो । प्रतियोगितामा नेपालको जनकपुर, विराटनगर, वीरगञ्ज, भैरहवा, नेपालगञ्ज, काठमाडौंका स्तरीय टीमका साथै भारतको वनारस, लखनउ, कानपुर लगायत क्षेत्रका टीम सहभागी हुने गरेका थिए ।

२०५२ सालसम्म नेपालको क्रिकेट टीम अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) को एसोसिएट सदस्य बन्न सकेको थिएन । ‘त्यसैले त्यतिबेला क्रिकेट खेल्ने खेलाडीको लक्ष्य नै राष्ट्रिय प्रतियोगितासम्म खेल्न सक्ने लक्ष्य हुन्थ्यो,’ सिंह भन्छन्, ‘२०५२ सालसम्म हामीले (जनकपुरको टीम) नेपालको क्रिकेटमा छुट्टै पहिचान स्थापित गर्न सफल भएका थियौं ।’

२०५२ सालमा नेपालको क्रिकेट टीम आईसीसीको एसियाली क्रिकेट काउन्सिल (एसीसी) को एसोसिएट सदस्य बन्यो । त्यसपछि गठन भएको नेपालको राष्ट्रिय टीमको पहिलो कप्तान उत्तम कर्माचार्य पनि जनकपुरकै टीमबाट छनौट भएका थिए ।

कर्माचार्यको कप्तानीमा नेपाल एसियाका विभिन्न देशसँग एसीसीको प्रतियोगितामा सहभागी भएपनि सिंहले खेल्ने मौका पाएनन् ।

२०५२ सालमा राष्ट्रिय खेलकुद परिषद्ले क्रिकेट प्रशिक्षकको लागि विज्ञापन आह्वान गरेको थियो । उनले आवेदन दिएर प्रशिक्षकको तालिम लिए । उनले धनुषाको क्रिकेट टीमलाई प्रशिक्षण दिन थाले । उनकै प्रशिक्षणमा २०५३ सालमा धनुषाको टीम राष्ट्रिय प्रतियोगिताम तेस्रो र २०५५ सालमा दोस्रो स्थान ल्याउन सफल भएको थियो ।

नेपालका लागि अन्तर्राष्ट्रिय प्रशिक्षक

एसीसी च्याम्पियनशिप प्रतियोगितामा नेपालका लागि नियुक्त भएका श्रीलंकाली प्रशिक्षक रोय डायससँग उनले काठमाडौंमा सहायक प्रशिक्षकको रुपमा काम गरे । कुबेत र मलेसियामा भएको एसीसी च्याम्पियनशिप प्रतियोगितामा नेपालका मुख्य प्रशिक्षक डायसलाई उनले असिस्टेन्ट प्रशिक्षकको रुपमा सघाएका थिए ।

सन् २०१२ मा कुबेतमा सम्पन्न भएको १९ वर्षमुनिको उमेर समूहको एसीसी महिला क्रिकेट प्रतियोगितामा रुबिना क्षेत्री नेतृत्वको नेपालको महिला क्रिकेट टीम च्याम्पियन भएको थियो । उनी त्यतिबेला टीको प्रशिक्षक थिए । चीन, भुटान, मलेसिया, थाइल्याण्ड, कतार, यूएई, कुबेत, साउदी अरब सहितको टीमलाई पराजित गर्दै नेपाली चेली सहभागी टीम एसीसी च्याम्पियन बनेको थियो ।

सन् २०१४ मा १९ वर्षमुनिको पुरुषको नेपाली क्रिकेट टोलीको पनि मुख्य प्रशिक्षकको रुपमा उनले अफगानिस्तानमा भाग लिएका थिए । राजु रिजालको कप्तानीमा अफगानिस्तान पुगेको नेपाली टोली विश्वकपको छनौट चरणको प्रतियोगिता खेल्न अफगानिस्तान पुगेको थियो तर नेपाल दोस्रो भएको थियो । 

हाल उनी राखेपको तर्फबाट धनुषा क्रिकेटसहित २ नम्बर प्रदेशको मुख्य प्रशिक्षकको रुपमा नियुक्त भएका छन् । खेलकुदको मैदान नहुनु, विद्यालय र कलेज स्तरीय क्रिकेटको प्रतियोगिता नहुनु, एसएलसीपछि क्रिकेट मोह त्याग्न विद्यार्थी बाध्य भएका कारण जनकपुरको क्रिकेटको स्तर खस्किएको सिंह बताउँछन् । क्रिकेट टीम बन्न लामो समय लाग्छ तर क्रिकेटमा मात्रै समय लगाएर जीवन नै बर्बाद हुने सोच भएका कारण जनकपुरमा राम्रो क्रिकेट टीम बन्न नसकेको उनी जिकिर गर्छन् ।

उनले क्रिकेट प्रशिक्षकको लागि कोच एजुकेटरसँगै लेभेल ‘ओ’, लेभेल ‘१’, लेभेल ‘२’ र लेभेल ‘३’ सम्मको प्रशिक्षण लिएका छन् ।

भदौ २८, २०७६ मा प्रकाशित

अजय अनुरागी

अजय अनुरागी लोकान्तरका लागि प्रदेश नम्बर दुई प्रतिनिधि हुन् । 

लेखकबाट थप...

प्रतिक्रिया दिनुहोस