इरान र साउदी अरबबीच युद्धको सम्भावना

भदौ ३१, २०७६

काठमाडौं – साउदी अरब र इरानबीच लामो समयदेखि द्वन्द्व छ । तर अहिले आएर उनीहरूबीचको तिक्तता झनै बढेर गएको छ । 

यी दुई शक्तिशाली मुलुकहरू लामो समयदेखि क्षेत्रीय प्रभुत्वका लागि संघर्ष गरिरहेका छन् । 


ADVERTISEMENT

दशकौं पुरानो संघर्षको केन्द्रमा धर्म पनि छ । साउदी अरब सुन्नीबहुल देश हो भने इरान शियाबहुल देश हो ।

पश्चिम एसियामा धार्मिक विभाजन देखिन्छ । केही देश शियाबहुल छन् भने केही चाहिँ सुन्नीबहुल । समर्थन र सल्लाहका लागि उनीहरू इरान वा साउदी अरबतर्फ ढल्किन्छन् । 

ऐतिहासिक रूपमा साउदी अरब राजतन्त्र हो । साउदी अरब इस्लामको जन्मस्थल हो र इस्लामिक विश्वमा सबभन्दा महत्त्वपूर्ण स्थान हो । त्यसैले ऊ आफूलाई मुस्लिम संसारको नेता ठान्छ । 

तर सन् १९७९ मा इरानमा भएको इस्लामिक क्रान्तिले उसलाई चुनौती दियो । त्यसपछि पश्चिम एसियामा क्रान्तिकारी धर्मतन्त्रसहितको शासनप्रणाली देखियो । इरानले यो मोडल संसारभरि फैलाउने लक्ष्य लिएको थियो । 

विगत १५ वर्षमा लगातार केही घटनाका कारण साउदी अरब र इरानबीच मतभेद बढेको छ । 

सन् २००३ मा अमेरिकाले इरानको प्रमुख विरोधी इराकमा आक्रमण गरेर सद्दाम हुसेनको सत्ता ढाल्यो अनि देशलाई तहसनहस बनायो । त्यसपछि शियाबहुल सरकार बन्ने बाटो खुल्यो र देशमा इरानको प्रभाव तीव्र गतिमा बढ्यो । 

सन् २०११ मा अरब देशहरूमा विद्रोहको आवाज चर्किरहेको थियो । त्यसले गर्दा त्यहाँ राजनीतिक अस्थिरता उत्पन्न भयो । 

इरान र साउदी अरबले यस उथलपुथलको फाइदा उठाउँदै सिरिया, बहराइन र यमनमा आफ्नो प्रभाव विस्तार गर्न थाले । 

इरानका आलोचकहरू ऊ पश्चिम एसियामा आफू र आफ्ना निकटवर्तीहरूको प्रभुत्व चाहन्छ । इरानदेखि भूमध्यसागरसम्म ऊ नियन्त्रण चाहन्छ । 

इरानले क्षेत्रीय प्रभुत्वको संघर्ष जित्न थालेको देखिन्छ । 

सिरियाका राष्ट्रपति बशर अल–असदलाई इरान (र रुस) को समर्थन छ । त्यसैको बलमा उसको सेनाले साउदी अरबको समर्थन भएको विद्रोही गुटलाई व्यापक रूपमा पछार्न सक्षम बनेको छ । 

साउदी अरब अहिले इरानको प्रभुत्व रोक्न आतुर छ । साउदी युवराज मोहम्म्द बिन सलमानको सैन्य दुस्साहसले क्षेत्रीय तनावलाई झनै खराब बनाएको छ । 

उनले छिमेकी मुलुक यमनमा विद्रोही हूतीविरुद्ध चार वर्षदेखि युद्ध गरिरहेका छन् । त्यहाँ इरानको प्रभाव नबढोस् भनेर उनले त्यसो गरेका हुन् । तर चार वर्षपछि अब यो युद्ध उनका लागि गलपासो बनेको छ । 

इरानले हूती विद्रोहीहरूलाई सहयोग गरेको आरोप अस्वीकार गरे पनि संयुक्त राष्ट्रसंघको एक प्रतिवेदनमा तेहरानले हूतीहरूलाई हतियार र प्रविधि दुवै उपलब्ध गराइरहेको उल्लेख छ । 

यहुदी देश इजरायल आफ्नो सीमासँग जोडिएको सिरियामा इरान समर्थक लडाकूहरूको आक्रमणका कारण डराएको छ । इजरायल र साउदी अरबले सन् २०१५ मा इरानको आणविक कार्यक्रमको प्रबल विरोध गरेका थिए । 

इरान र साउदी अरबबीचको प्रतिद्वन्द्विता शीतयुद्ध जस्तै छ । उनीहरू आमनेसामने भएर लडिरहेका छैनन् । तर उनीहरू छद्मयुद्ध (प्रोक्सी वार) मा अल्झिएका छन् । 

सिरिया यसको स्पष्ट उदाहरण हो । यमनमा साउदी अरबले इरानमाथि विद्रोही हूतीहरूलाई ब्यालिस्टिक क्षेप्यास्त्र दिएको आरोप लगाएको छ । त्यो क्षेप्यास्त्र साउदी सीमामा प्रहार गरिएको थियो । 

इरानले खाडीको रणनीतिक जलमार्गहरूमा पनि प्रभाव देखाएको छ । उक्त जलमार्ग भएर नै साउदी अरबबाट तेल आपूर्ति गरिन्छ । हालै विदेशी ट्यांकरहरूमाथि गरिएको आक्रमणमा पनि इरानको हात रहेको अमेरिकाको भनाइ छ । तर इरानले त्यसलाई अस्वीकार गरेको छ । 

खाडीको समुद्री सीमामा इरान र साउदी अरब आमनेसामने छन् र बढ्दो तनावका कारण दुवैमा व्यापक संघर्षको जोखिम बढेको छ । 

अमेरिका तथा पश्चिमी शक्तिहरूका लागि खाडीमा अन्तर्राष्ट्रिय शिपिङ र तेल ट्यांकरको स्वतन्त्र आवागमन आवश्यक छ । 

युद्ध भएमा जलमार्गमा अवरोध आउँछ । अनि अमेरिकी जलसेना र वायुसेना पनि युद्धमा होमिने सम्भावना रहन्छ । 

लामो समयदेखि अमेरिका र उसका सहयोगी देश पश्चिम एसियामा इरानलाई अस्थिर फैलाउने शक्तिका रूपमा लिइरहेका छन् । साउदी नेतृत्व पनि इरानलाई आफ्नो अस्तित्वमाथिको खतराका रूपमा बुझ्छ । साउदी युवराज

सलमान इरानको बढ्दो प्रभाव रोक्नका लागि जुनसुकै हदमा पुग्ने कुरा गर्छन् । 

साउदी अरब असुरक्षित छ भन्ने कुरा शनिवार मात्र उसका तेल प्रशोधन केन्द्रहरूमा गरिएको आक्रमणले देखाइसकेको छ । युद्ध भइहालेछ भने पनि योजनाबद्ध रूपमा नभई कुनै अप्रत्याशित घटनाका कारण शुरू हुन सक्छ । 

तर साउदी अरबको सक्रियता, ट्रम्प प्रशासनले यस क्षेत्रमा देखाएको चासो लगायतले पश्चिम एसियामा अनिश्चितताको संकेत गरेको छ । यसले पश्चिम एसियामा यस तनावलाई थप अर्को आयाम दिएको छ ।

बीबीसीबाट

भदौ ३१, २०७६ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस