सामूहिक लगानीका लागि २ अर्ब बराबरको ‘म्युचअल फण्ड’ आउँदै

असोज २, २०७६

काठमाडौं – शेयर बजारमा सामूहिक लगानीका लागि महत्वपूर्ण संयन्त्रका रुपमा रहेको सामूहिक लगानी कोष योजना (म्युचअल फण्ड) अन्तर्गत थप २ बैंकले २० करोड इकाइ बिक्री गर्ने तयारी गरेका छन् । 

नेपाल धितोपत्र बोर्डका अनुसार ग्लोबल आईएमई बैंकले प्रवद्र्धन गर्न लागेको ‘ग्लोबल आईएमई ब्यालेन्स फण्ड–१’ र लक्ष्मी बैंकले प्रवद्र्धन गर्ने ‘लक्ष्मी उन्नति कोष’ बिक्रीका लागि तयारी गरिएको हो । 


ADVERTISEMENT

बोर्डमा छलफलका क्रममा रहेका ती योजनाअनुसार ‘ग्लोबल आइएमई म्युचुअल फण्ड’ अन्तर्गत १ अर्ब २० करोड रुपैयाँ बराबरको १२ करोड इकाइ बिक्री गरिने छ । ‘लक्ष्मी म्युचुअल फण्ड’अन्तर्गत ८० करोड रुपैयाँ बराबरको ८ करोड इकाइ बिक्री गरिने छ । 

बोर्डले गत भदौ २३ गतेमात्रै सनराइज बैङ्कले प्रवद्र्धन गरेको ‘सनराइज फस्ट म्युचुअल फण्ड’ योजनाअन्तर्गत १ अर्ब रुपैयाँ बराबरको १० करोड इकाई बिक्री गर्नका लागि स्वीकृति दिएको छ । 

नेपाल स्टक एक्सचेन्जमा हाल १७ वटा सामूहिक लगानी कोष योजना सूचीकृत छन् । शेयर बजार निरन्तर ओरालो लागेका कारण अधिकांश योजनाको प्रतिइकाइ मूल्य आधारभूत मूल्यभन्दा कम रहेको छ । 

स्टकमा सूचीकृतमध्ये नवील ब्यालेन्स फण्ड–१ को प्रतिइकाइ मूल्य १६.६५ रुपैयाँ, सिद्धार्थ इक्विटी ओरियन्टेड स्किमको प्रतिइकाइ १०.८५ रुपैयाँ र सिद्धार्थ इन्भेस्टमेन्ट ग्रोथ स्किम–१ को प्रतिइकाइ मूल्य २०.०९ रहेको छ ।

असोज २, २०७६ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस