मोदीले शीसँग किन मामल्लपुरममा शिखरवार्ता गर्ने भएका हुन् ?

असोज २३, २०७६

काठमाडौं – दोक्लम विवादपछि पोहोर साल चीनको वुहान शहरमा आयोजित पहिलो अनौपचारिक भारत–चीन शिखरवार्ताको दोस्रो चरण शुक्रवार भारतको तमिलनाडुस्थित मामल्लपुरममा आयोजना गरिन लागेको छ । 

भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले त्यस ऐतिहासिक शहरमा चीनका राष्ट्रपति शी चिनफिङलाई स्वागत गर्नेछन् । 


ADVERTISEMENT

तमिलनाडुले चीनको फुजिन शहरसँग ऐतिहासिक व्यापारिक सम्बन्ध राखेको छ र यस अनौपचारिक शिखर बैठकबाट भारतको याक्ट ईस्ट पोलिसीलाई प्रोत्साहन प्राप्त हुने बताइएको छ । 

शी कुनै बेलामा फुजिन शहरका गभर्नर थिए । 

सन् २०१४ मा राष्ट्रपति बनेयता शी तेस्रोपटक भारत आउन लाग्दैछन् । उनी भोलि शुक्रवार भारत पुग्दैछन् ।

शी र मोदीको बैठकमा इन्डो–प्यासिफिक क्षेत्रमा भारतको दृष्टिकोण शीलाई बुझाउने काम मोदीले गर्ने एक अधिकारीले बताएका छन् । इन्डो–प्यासिफिक रणनीतिका विषयमा चीनका राष्ट्रपतिको शंकाको समाधान यसबाट हुने भारतको विश्वास छ । 

उक्त अधिकारीले चीनको वुहानपछि भारतको मामल्लपुरमलाई विशेष उद्देश्यले छानिएको बताए । मामल्लपुरममा रहेका ऐतिहासिक स्मारकहरू विश्व सम्पदा सूचीमा समावेश गरिएका छन् । यस शहरको चीनसँग गहिरो नाता रहेको बताइएको छ । 

पल्लव शासनका बेलामा चीनका बौद्ध भिक्षु शुआनजाङले मामल्लपुरमको भ्रमण गरेका थिए । सातौं शताब्दीमा मामल्लपुरम पल्लव साम्राज्यको ठूलो बन्दरगाह शहर थियो । 

पल्लव र चोल राजाहरूको चीनको फुजिन प्रान्त र ग्वाङ्झाउ शहरसँग व्यापारिक सम्बन्ध रहेको थियो ।

एजेन्सी
 

असोज २३, २०७६ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस