संसारभरि सरकारविरोधी प्रदर्शन : किन छ जनतामा आक्रोश ?

कात्तिक ६, २०७६

हाल संसारका धेरै मुलुकहरूमा सरकारविरोधी प्रदर्शन चर्किरहेका छन् । ती विरोध प्रदर्शनमा हिंसा समेत भएका छन् । 

केही समययताको अन्तर्राष्ट्रिय समाचारहरू हेर्नुभएको छ भने अनेकौं मुलुकमा जनता आक्रोशित देखिएका छन् । सातमध्ये चारवटा महादेशका विभिन्न मुलुकमा सरकारविरोधी प्रदर्शन भइरहेका छन् ।


ADVERTISEMENT

जलवायु परिवर्तनले सर्वसाधारणमा असर पारिरहेको भन्दै त्यसको नकारात्मक असर घटाउनका लागि पहल गर्नुपर्ने माग गर्दै विभिन्न देशमा प्रदर्शन भइरहेका छन् । 

हङकङमा बेइजिङविरोधी प्रदर्शन महिनौंदेखि चलिरहेको छ र थामिने कुनै लक्षण छैन । प्रदर्शनका क्रममा हिंसा, हताहती र तोडफोडका थुप्रै घटना भएका छन् । 

चिलीमा मेट्रो ट्रेनको भाडा बढाइएको विरोधमा भएको प्रदर्शन पनि हिंसामा परिणत भएको छ र निकै हताहती भइसकेको छ । 

त्यस्तै इराकमा कैयौं दिनदेखि युवाहरूले भ्रष्टाचार, बेरोजगारी र आधारभूत सेवासुविधाको अभावको विरोध गर्दै प्रदर्शन गरिरहेका छन् । प्रदर्शनलाई दबाउनका लागि सरकारले दमन गरेको आरोप लगाइएको छ । 

उता इक्वेडरमा सरकारले इन्धनमा दिँदै आएको छुट कटाएर कर बढाउने अनि नयाँ श्रम कानून ल्याउने निर्णय लिएपछि विरोध प्रदर्शन भइरहेको छ । प्रहरीले अश्रूग्यास, खुर्सानीको स्प्रे र चर्को आवाज निकाल्ने यन्त्र प्रयोग गरेर प्रदर्शनकारीहरूलाई दबाउने कोशिश गरेको छ । 

उता मेक्सिकोमा भ्रष्टाचार र लागूऔषध तस्करले गर्ने हिंसाको विरोधमा लामो समयदेखि प्रदर्शन चलिरहेको छ । 

अनि लेबनानमा इन्टरनेट भोइस कलमा दिनको २० सेन्ट महसूल लगाउने निर्णय सरकारले लिएपछि प्रदर्शनकारीहरूले विरोध प्रदर्शन, तोडफोड र आगजनी गरेका छन् । वर्षौंदेखि भ्रष्टाचार भइरहेको अनि सम्भ्रान्तहरूले शक्ति आफूमा बाँडीचुँडी गर्दै जनतालाई बेवास्ता गरेको भन्दै सरकार नढलेसम्म प्रदर्शन जारी रहने प्रदर्शनकारीहरूको भनाइ छ । 

अफ्रिकाको कुरा गर्दा लाइबेरियामा भ्रष्टाचार बढेको अनि आर्थिक वृद्धि नभएको तथा गरीबी नघटेको भन्दै विरोध प्रदर्शन भइरहेको छ । लोकप्रिय फूटबल खेलाडी जर्ज वीह राष्ट्रपति बनेपछि जीवनस्तर सुध्रिएला भनी आशा गरेका जनताले त्यसो नभएपछि उनलाई गद्दार संज्ञा दिँदै राजीनामाको माग गरेका छन् । 

अर्को अफ्रिकी मुलुक गिनीमा राष्ट्रपतिको कार्यकालमा लगाइएको सीमा हटाउने निर्णय सरकारले लिएपछि हिंस्रक दंगा भएका छन् । 

युरोपको कुरा गर्दा स्पेनको बार्सिलोनामा क्याटालोनिया स्वतन्त्रता पक्षधरहरूलाई कारगार चलान गरिएको विरोधमा आमहडताल र जुलुस प्रदर्शन भइरहेका छन् । अनि नेदरल्यान्ड्समा सरकारले नयाँ उत्सर्जन कर लगाउने निर्णय गरेपछि कृषकहरूले सडक अवरोध गर्दै विरोध प्रदर्शन गरेका छन् । 

फ्रान्समा पहेंलो ज्याकेट लगाएका प्रदर्शनकारीहरूले लगभग एक वर्षदेखि विरोध प्रदर्शन गर्दै आइरहेका छन् । सरकारले प्रदूषण कर लगाउने निर्णय गरेपछि भएको विरोध प्रदर्शन रोकिने लक्षण देखिएको छैन । हजारौं अग्निनियन्त्रकहरूले तलबवृद्धि र काममा थप राम्रो वातावरणको माग गर्दै प्रदर्शन गरिरहेका छन् । 

अहिले भइरहेका प्रदर्शनका तत्कालीन कारण करवृद्धि गर्ने वा भाडा बढाउने जस्तो सरकारको सानो निर्णय देखिन्छ । तर त्यही सानो कारण सरकारले भ्रष्टाचार नियन्त्रण गर्न नसकेको र जनतालाई आधारभूत सेवासुविधाबाट वञ्चित गरेको भनी लामो समयसम्म जनतामा रहेको आक्रोश विस्फोट गराउने माध्यम बन्न पुगेको छ ।

अर्थतन्त्रलाई भ्रष्टाचारले खोक्रो बनाएका मुलुकले अन्तर्राष्ट्रिय मुद्रा कोषबाट ऋण लिएका हुन्छन् अनि ती मुलुकले सरकारी खर्चकटौतीको शर्त पालना गर्नुपर्ने हुन्छ । अहिले विभिन्न मुलुकमा भइरहेको विरोध प्रदर्शनको प्रमुख कारक भनेको सरकारले जनतालाई सुविधा नलिन तथा आधारभूत वस्तुको चर्को मूल्य तिर्न लगाउन नै हो ।

जस्तो, इक्वेडरमा अन्तर्राष्ट्रिय मुद्रा कोषसँगको सम्झौताअन्तर्गत इन्धनमा दिइँदै आएको छुट कटाइएको थियो । आदिवासी समूहहरूले त्यसको विरोध गरे अनि त्यो चर्किंदै गयो र राष्ट्रपति लेनिन मोरेनोले अन्ततोगत्वा निर्णय फिर्ता लिँदै छुट कायम राखे ।  

अनि दक्षिण अमेरिकाका अन्य मुलुक अर्जेन्टिना र होन्डुरसमा पनि मुद्रा कोषसँगको सम्झौताका कारण खर्चकटौती गर्ने निर्णय लिइएकाले व्यापक विरोध प्रदर्शन भइरहेका छन् । होन्डुरसमा यसै वर्षको शुरूआतमा शिक्ष तथा स्वास्थ्य सेवामा खर्चकटौती गरिएको थियो । 

सरकारी खर्चकटौतीको विरोध संसारभरि फैलिरहेको छ । सुडानमा गत वर्ष र यस वर्षको निरन्तर विरोधपछि लामो समय तानाशाही शासन चलाएका ओमर अल–बशिरले पदबाट राजीनामा दिनुपरेको छ । त्यसको पनि तत्कालीन कारण भनेको खानेकुरा र इन्धनमा दिइँदै आएको छुटको कटौती नै हो । 

इजिप्टमा अघिल्लो महिना उठेको विरोध प्रदर्शनको एक कारक तत्त्व सरकारी खर्चकटौती हो । अब्देल फत्तह एल–सिसीले चरम दमन गरेर उक्त प्रदर्शन मत्थर पारे । 

जनतामा खर्चकटौतीप्रति चरम आक्रोश हुनुमा सत्तामा रहेका सम्भ्रान्तहरू नै जिम्मेवार छन् । सरकारी कर्मचारी र सत्तामा रहेका सम्भ्रान्तहरू आफू चाहिँ सुखसयलमा रहने अनि सर्वसाधारणले चाहिँ जीवनयापनमै समस्या भोग्ने स्थिति देखिएकाले जनतामा आक्रोश छाउनु स्वाभाविक छ । 

अनि अमेरिकाको एरिजोना विश्वविद्यालयले गरेको एक अध्ययनमा एक देशमा भएको विरोध प्रदर्शनको प्रभाव अन्य देशमा पनि पर्ने गरेको देखाएको छ । अर्को देशमा व्यापक विरोध प्रदर्शन देखेका जनताले आफ्नो देशमा भोगिरहेको पीडालाई अभिव्यक्त गर्ने प्रेरणा प्राप्त गर्ने अध्येताहरूको दाबी छ । त्यसैले त अहिले भइरहेका प्रदर्शनहरूमा सानो बहानामा विरोध उठिरहेका छन् र सरकारले विरोधको तत्कालीन कारणका रूपमा रहेको निर्णय फिर्ता लिए पनि विरोध प्रदर्शन जारी रहेको देखिन्छ । 

अनि विभिन्न सरकारले विरोध प्रदर्शनको चरम दमन गरेकाले पनि त्यो झनै चर्किंदै गइरहेको हो । सरकारले दमन गर्दा प्रत्युत्पादक हुन पुग्छ भन्ने उदाहरण त फ्रान्समा विरोधकर्ताहरूलाई घाइते र अंगभंग बनाइएको तस्वीर सार्वजनिक भएपछि विरोध जारी राख्न थप कारण प्राप्त भएबाटै स्पष्ट हुन्छ । 

यी विरोध प्रदर्शनहरूले विभिन्न देशका सरकारलाई आर्थिक सुधार गराउन प्रेरित गरे त ठीकै छ । तर कतै यी घटनाक्रमहरू विश्वव्यापी आर्थिक मन्दीका आरम्भिक लक्षण त हैनन् भन्ने आशंका विश्लेषकहरूले गरेका छन् । सन् २००८ को जस्तो आर्थिक मन्दी फेरि विश्वमा देखिएमा अहिले देखिएको ट्रम्प, ओर्बान र ब्रेक्जिट शैलीको लोकरञ्जनवाद, निरंकुशता तथा विदेशीप्रतिको घृणा झनै बढेर जाने सम्भावना रहन्छ । त्यसो भएमा लोकतन्त्र तथा उदारवाद नै धरापमा पर्न सक्छ ।

कात्तिक ६, २०७६ मा प्रकाशित

विन्देश दहाल

विन्देश दहाल लोकान्तर डट् कममा अन्तर्राष्ट्रिय राजनीतिबारे लेख्छन् । 

लेखकबाट थप...

प्रतिक्रिया दिनुहोस