राजपामा अध्यक्षमण्डलको परिक्रमा : पार्टीभित्र रोमाञ्च, देख्नेलाई लज्जा !

कात्तिक १९, २०७६

पृथ्वीले सूर्यको परिक्रमा पूरा गर्दा दिन–रात भएको अनुभूति गरिन्छ । नेपाली राजनीतिमा राष्ट्रिय जनता पार्टी (राजपा) नेपालको अध्यक्षको कुर्सीको परिक्रमा गर्ने क्रम जारी छ ।

एउटा कुर्सीको ६ जना अध्यक्षले परिक्रमा गरिसक्दा पनि पार्टीमा कुनै तात्विक भिन्नता आएन । अर्थात् पार्टी यथास्थितिको पथमा नै लम्किरहेको छ । ३ वर्ष पहिला ६ वटा मधेशवादी दलको एकतापश्चात् राजपा नामक पार्टी गठन गरिएको थियो । एकीकरण मधेशी जनताको व्यापक दबाबबाट सम्भव भएको थियो ।


ADVERTISEMENT

बाहिरी दबाबले पनि त्यसमा भूमिका खेलेको कसैबाट लुकेको छैन । विभिन्न उतारचढावका बाबजुद पनि राजपाले एउटा व्यवस्थित पार्टीको आकार ग्रहण गर्न नसक्नु आफैंमा खेदजनक विषय हो । पार्टीमा नेताको कमी छैन तर पार्टीभित्र ‘नेतृत्वविहीनता’को अवस्था छ । 

पार्टीको महाधिवेशन र समाजवादी पार्टीले फ्याकेको एकीकरणको तुरुपको शिकार बन्दैछ त राजपा ? यस्तो अवस्थाबाट किन गुज्रिरहेको होला त राजपा ? जिम्मेवार को त ? अध्यक्ष मण्डलको परिक्रमा पूरा भएर महन्थ ठाकुर फेरि अध्यक्ष मण्डलको संयोजक भएका छन् । यसैसँग ठाकुरको विराट राजनीतिक अनुभवको ‘लिट्मस टेस्ट’को पनि शुरूवात भएको छ ।

अन्तरिम संविधान आएको भोलिपल्टदेखि नै संघीयता र समावेशिताको लागि मधेशमा आन्दोलनको ज्वारभाटा उत्पन्न भएको थियो । २४ दिनको निरन्तर आन्दोलनमा ४३ जना मधेशी आन्दोलनकारीले ज्यान गुमाइसकेको थियो । उपेन्द्र यादव नेतृत्वको तत्कालीन मधेशी जनाधिकार फोरमले सरकारसँग २२ बुँदे सम्झौता गर्‍यो तर फोरमकै अधिकांश नेताले सम्झौतालाई धोकाको संज्ञा दिएका थिए र मधेशमा निराशाको बादल लागिरह्यो । उपेन्द्र सत्ताको निमित्त जे पनि गर्न सक्छन् भन्ने भाष्य त्यहीँ बेला निर्माण भएको हो । 

नेतृत्वविहीनतको अवस्थामा परेको मधेश आन्दोलनको बेला नेपाली कांग्रेसका तत्कालीन कोषाध्यक्ष, अन्तरिम सांसद र बहालवाला मन्त्री र त्योभन्दा पनि बढी कांग्रेससँगको ४ दशकको सम्बन्धविच्छेद गरेर महन्थ ठाकुरले भिन्न ढंगले राजनीति गर्न चुनौतीपूर्ण मैदानमा हाम्फालेका थिए । नेपाली कांग्रेसको लागि त्यसबखत यो ठूलै असहज परिस्थितिको सिर्जना गरेको हुनुपर्छ । साथै ठाकुरजीको लागि पनि त्यो ठूलो त्याग थियो ।

भनिन्छ, यदि ठाकुरजी कांग्रेसमै भएको भए रामवरण यादवको ठाउँमा ठाकुरजीलाई नै राष्ट्रपति बनाइन्थ्यो तर उहाँले मधेश आन्दोलनको लागि एउटा नयाँ सम्भावनालाई यथार्थमा बदल्ने निर्णय गर्नुभयो र शुरू भयो दोस्रो मधेश आन्दोलन । 

अहिले फेरि महन्थ ठाकुरजीले संयोजकको कुर्सी पाउनुभएको छ २ महिनाको लागि । अवधि बित्नै लागेको छ तर केही ठोस कदम उठाएको जस्तो छनक पाउन गाह्रो छ । ठाकुरजी जस्तो लोकतान्त्रिक नेताबाट जनअपेक्षाको मात्रा अधिक छ ।

झण्डौ १० दिन चलेको आन्दोलनको अवतरण भयो ८ बुँदे सम्झौताका साथ । तत्पश्चात् ठाकुरजीको नेतृत्वमा तराई–मधेस लोकतान्त्रिक पार्टी गठन भयो । ठाकुरजीकै राजनैतिक आभाको कारण होला, तत्कालीन सद्भावनाका दिग्गज नेता हृदयेश त्रिपाठी, गोविन्द चौधरी, राप्रपाबाट रामचन्द्र राय, सर्वेन्द्रनाथ शुक्ल, एमालेका मधेशी अनुहार महेन्द्रराय यादव, फोरमबाट रामकुमार शर्मा, जितेन्द्र सोनल जस्ता नेताहरू तमलोपामा आफ्ना ऊर्जा प्रवाह गर्न तमलोपा पार्टीमा आवद्ध भएका थिए ।

पहिलो संविधानसभा हुँदै संविधान आउँदासम्म मधेशवादी दलहरूको फुटजुटको राजनीति निरन्तर चलिरह्यो । महन्थ ठाकुरजीको तमलोपा पनि फुटको राजनीतिबाट अछुतो रहन सकेन । यद्यपि ठाकुरजीको तमलोपाको राजनीतिक उपस्थिति सम्मानजनक नै देखिएको थियो तुलनात्मकरुपमा । काठमाडौंले पनि मधेशको सवालमा ठाकुरजीलाई स्थान दिनबाट पछाडि परेन । 

संविधान घोषणापश्चात् भएको स्थानीय तहको निर्वाचनको बेला राजपा अध्यक्ष ठाकुरजी नै थिए । चुनावमा भाग लिने/नलिने विषयमा राजपाले ठोस निर्णय लिने आवश्यकता थियो । राजपाले पहिलो चरणको चुनाव बहिष्कार गर्‍यो । प्रदेश १, ५ र ७ मा चुनाव बहिष्कार पनि भयो । राजपाका चाणक्यका उपमा पाएका नेता हृदयेश त्रिपाठीले आफ्नो गाउँमा झण्डै शतप्रतिशत मतदान बहिष्कार गराएका थिए तर दोस्रो चरणको चुनावमा ठाकुरले नाटकीयरुपमा स्थानीय चुनावमा पार्टीलाई सहभागी गराए प्रदेश २ मा । ठाकुरका कदमकै नतिजा हो त्रिपाठी जस्ता दिग्गज नेताले राजपासँग सम्बन्ध तोड्न पुगे ।

आज पार्टी प्रदेश २ मै सीमित भएको विभिन्न कारणमध्ये ठाकुरजीले चालेको यस कदमलाई लिनु अतिशयोक्ति नहोला । ठाकुरजीमाथि कस्तो दबाब वा प्रभावले असर गर्‍यो उहाँलाई नै थाहा होला तर उनले नेतृत्वदायी भूमिका खेल्नबाट चुकेकै थिए । 

तयारी समितिको संयोजक आफैं भएको बेला ठाकुरजीले राजपा महाधिवेशनको रथलाई अगाडि बढाउन नसक्नु भनेको आफ्नै क्षमतामाथि प्रश्नवाचक चिह्न लगाउने छूट दिनु हो । 

समय बित्दै जाँदा राजपाको विधान बमोजिम अध्यक्ष मण्डलको संयोजकको परिक्रमा शुरू भयो । ६ वटै अध्यक्षले आलोपालो गरी अध्यक्षमण्डलको संयोजकको कुर्सीमा बस्ने आकांक्षाको प्रस्फूटन भयो । २ महिनाको अवधि तोकिएको समयसीमामा संयोजक परिवर्तन हुँदा सम्बन्धित खेमाका कार्यकर्ताको उत्साह पनि देख्नलायक हुन्छ । संयोजकलाई खादा र माला लगाएर २ महिनाका लागि संयोजकको कुर्सीमा बसालेर आत्मरोमाञ्चित महसूस गर्छन् तर बाहिरबाट हेर्नेले लज्जा महसूस बाहेक केही गर्दैन । अहिले फेरि महन्थ ठाकुरजीले संयोजकको कुर्सी पाउनुभएको छ २ महिनाको लागि । अवधि बित्नै लागेको छ तर केही ठोस कदम उठाएको जस्तो छनक पाउन गाह्रो छ । ठाकुरजी जस्तो लोकतान्त्रिक नेताबाट जनअपेक्षाको मात्रा अधिक छ ।

के गर्दा ठाकुरजीले पार्टीको साख र आफ्नो राजनीतिक कदलाई जोगाउन सक्छन् त ? राजपा प्रदेश २ को सरकारमा सहभागी छ प्रमुख मन्त्रालयसहित । प्रदेश २ मा राजपाका मन्त्रीमाथि भ्रष्टाचारको आरोप लाग्ने गरेको छ । मन्त्रीको कार्यसम्पादन पनि जनअपेक्षाकृत भइरहेको छैन तर राजपाका नेतालाई पार्टीका शीर्ष नेतृत्वबाट कुनै किसिमको दबाब छैन । पार्टीका नेता मिडियामा आउनका लागि आफ्नो व्यक्तिगत विचारलाई पनि पार्टीको विचारको रुपमा प्रस्तुत गर्ने गर्छन् तर पार्टी अग्रपंक्ति मौन छ । 

राजपाभित्र महाधिवेशनको चर्चा हुँदै आएको छ । जेठमै महाधिवेशन गर्ने निर्णय भएको थियो । महन्थ ठाकुरजीलाई महाधिवेशन तयारी समितिको संयोजक समेत तोकिएको थियो तर तयारी यात्रा थोरै पनि अगाडि बढ्न सकेन । महाधिवेशनको चर्चालाई समाजवादी पार्टीसँगको एकीकरणको चर्चाले छायाँमा पारिदियो । ठाकुरजीलाई पक्कै थाहा भएको हुनुपर्छ कि महाधिवेशन भनेको त्यस्तो पिपलबोट हो, जसले पार्टीमा शुद्ध प्राणवायु प्रदान गर्ने भूमिका निर्वाह गर्छ । अधिवेशनले कुनै पनि दललाई जिवन्त राख्छ । पार्टीभित्र सम्भावना बोकेका कार्यकर्तालाई नेतृत्वपंक्तिमा आएर आफ्नो क्षमताको प्रदर्शन गर्ने मौका समेत प्रदान गर्छ महाधिवेशनले । तयारी समितिको संयोजक आफैं भएको बेला ठाकुरजीले राजपा महाधिवेशनको रथलाई अगाडि बढाउन नसक्नु भनेको आफ्नै क्षमतामाथि प्रश्नवाचक चिह्न लगाउने छूट दिनु हो । 

आफ्नो फाइदाअनुसार सिद्धान्तलाई ताकमा राखेर समाजवादी पार्टीसँग एकीकरणको रटान लगाएर बसेका छन्, त्यस्ता नेताको लागि पनि एक सबक हुनेछ अधिवेशन । सफल महाधिवेशनले मात्र पनि ठाकुरजीले आफ्नो ‘लिट्मस टेस्ट’ उत्तीर्ण गर्न पाउँथे ।

ठाकुरजी कुनै किसिमको मण्डली (कोटेरी) मा बसेर पार्टीबारे सोच्नु लज्जास्पद हुनेछ वा सो भनिराख्दा उनी खेमाको राजनीतिमा लागेका छन् भन्ने अर्थ नलागोस् । तर यथार्थ के हो भने राजपा अहिले पनि एक ठोस राजनीतिक दल बनिसकेको छैन । ६ दलको एकीकरणको नाम दिइएपनि यो फगत राजनीतिक मोर्चा जस्तै छ । हरेकले आफ्नो पुरानै दलको मण्डलको सदस्यको पृष्ठपोषणका काम गरिरहेका छन् । महाधिवेशन गराएर एकल अध्यक्ष प्रणालीमा पार्टीलाई अगाडि बढाउने हो भने यसले पार्टीका निराश तर जुझारु युवा नेताको भावनालाई पनि सम्बोधन गरेको बुझिन्थ्यो । अब राजपा पनि ‘राजनीतिक दल’ भयो भन्ने आधार ग्रहण गर्न सक्थ्यो ।

त्यसैगरी पार्टीभित्र खास स्वार्थ बोकेका नेता जो कि आफ्नो फाइदाअनुसार सिद्धान्तलाई ताकमा राखेर समाजवादी पार्टीसँग एकीकरणको रटान लगाएर बसेका छन्, त्यस्ता नेताको लागि पनि एक सबक हुनेछ अधिवेशन । सफल महाधिवेशनले मात्र पनि ठाकुरजीले आफ्नो ‘लिट्मस टेस्ट’ उत्तीर्ण गर्न पाउँथे ।

ठाकुरजी सक्रिय रहुञ्जेल राजपाको अध्यक्ष जो भएपनि चर्चाको सेरोफेरोबाट उहाँ उम्कन पाउनुहुन्न । एक हिसाबले भन्ने हो भने राजपाको एक अहम् आकर्षक पात्र हुन् महन्थ ठाकुर । यी चुनौतीलाई ठाकुरजीले कसरी सम्बोधन गर्ने हो ? त्यो समयले बताउने हो तर ठाकुरजीले आफ्नो राजनीतिक ल्याकतमाथि सफलताको लालमोहर लगाउनैपर्छ ।

कात्तिक १९, २०७६ मा प्रकाशित

रणधीर चौधरी

चौधरी समसामयिक राजनीतिक घटनाक्रम र मधेस मामलामा कलम चलाउँछन् ।

लेखकबाट थप...

प्रतिक्रिया दिनुहोस