आफ्नो गोल राम्सेले गरिदिएपछि रिसाए रोनाल्डो (भिडियो)

कात्तिक २१, २०७६

काठमाडौं – इटालेली फूटबल क्लब युभेन्टस च्याम्पियन्स लीगको अन्तिम १६ मा पुगेको छ । 

लोकोमोटिभ मस्कोविरुद्ध बुधवार सम्पन्न खेल युभेन्टसले २–१ ले जितेपछि दुई खेल बाँकी रहँदै ऊ च्याम्पियन्स लीगको अर्को चरणमा प्रवेश गरेको हो । 


ADVERTISEMENT

ग्रूप डीको खेलमा डग्लस कोस्टाले शानदार प्रदर्शन गर्दै अतिरिक्त समयमा गोल गरेर टीमलाई जिताएका हुन् । 

क्रिस्टियानो रोनाल्डोले युभेन्टसलाई अग्रता दिनका लागि फ्रीकिक प्रहार गरेका थिए । लोकोमोटिभका गोलकीपर गिलेर्मेले उनको प्रहार रोक्ने कोशिश गर्दा बल चिप्लियो र बिस्तारै पोस्टभित्र पस्न थाल्यो । त्यतिखेरै युभेन्टसका आरोन राम्से पोस्टमा पुगेर बललाई भित्र पसाइछाडे । 

उक्त गोल रोनाल्डोको नाममा हुन पाएन । उनको गोल हुन्थ्यो भने उनले च्याम्पियन्स लीगमा ३४ औं फरक क्लबविरुद्ध गोल गरेको कीर्तिमान बनाउँथे । 

राम्सेको चाहिँ च्याम्पियन्स लीगमा विगत चार वर्षमा यो पहिलो गोल थियो । 

युभेन्टसका प्रशिक्षक माउरिजियो सार्रीले खेलको ८२औं मिनटमा रोनाल्डोलाई सब्स्टिच्युट गरे । मैदान छोड्नुपर्दा रोनाल्डो खुशी भएनन् । 

‘रोनाल्डोलाई घुँडामा सानो चोट लागेको छ र त्यसले गर्दा तिघ्रामा अर्को सानो समस्या आएको छ, त्यसैले मैदान छोड्दा उनी रिसाएका हुन् । उनको चोट बल्झिएला भनेर मैले उनलाई बोलाएको हुँ,’ सार्रीले यूईएफए डट्कमलाई बताए । 

तर चोट लागेको भए पनि युभेन्टसले खेल जित्ने गोल गर्दा रोनाल्डो बुरुक्क उफ्रिए । जीतपछि युभेन्टस बायर्न म्युनिख र पेरिस सेन्ट–जर्मानसँगै नकआउट चरणमा पुग्यो । युभेन्टसले सन् १९९६ मा पछिल्लोपटक च्याम्पियन्स लीग जितेको हो ।

एजेन्सी
 

कात्तिक २१, २०७६ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा समाचार