मंसिर ३०, २०८०
बुधवार काभ्रेको धुलिखेलस्थित काठमाडौं विश्वविद्यालयका १ हजार ८३८ जना विद्यार्थीमाझ सनम ढकाल दृश्यमा आए । एमबीबीएसमा सर्वोत्कृष्ट भएर गोल्ड मेडल ल्याउँदै सनम दीक्षित भएसँगै सबैमाझ परिचित भएका हुन् । काठम...
जनकपुरधाम – सरकारी गुठीको स्वामित्वमा रहेको जनकपुरस्थित जग्गामा बनाइएको धर्मशालाको आम्दानी ९३ वर्षदेखि भारतीय नागरिकले लिँदै आएका छन् ।
जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर ४ स्थित रामचोकको छेउमै बनेको जनकपुरकै सबैभन्दा पुरानो धर्मशाला हो, गोपाल धर्मशाला ।
सरकारी गुठीको स्वामित्वमा रहेको करीब ३ बिघा जग्गामा बनाइएको उक्त धर्मशालामा भारतीय नागरिकले राजेश शर्माले कब्जा मात्र जमाएका छैनन्, धर्मशालाबाट हुने आम्दानी समेत वर्षौंदेखि उनैले लिने गरेका छन् ।
भारतको कलकत्ता निवासी शर्मा रकम लिन प्रत्येक वर्ष जनकपुर आउने गरेका छन् । भारतीय नागरिकले सञ्चालन तथा व्यवस्थापन गर्दै आएको उक्त धर्मशालामा राजकुमार झा नाम गरेका व्यक्तिलाई म्यानेजर बनाएर राखिएको छ । धर्मशालाबाट हुने आम्दानी झाले नै संकलन गरेर भारतीय नागरिक शर्मालाई बुझाउने गरेका छन् ।
धर्मशालामा तल १९ वटा कोठा, माथिल्लो तल्लामा १३ वटा कोठा र हलसहित ठूलो परिसर छ । नेपाल र भारतका तीर्थालु आएर उक्त धर्मशालामा बस्ने गर्छन् ।
म्यानेजर झाका अनुसार मासिक ४० देखि ६० हजार रूपैयाँसम्म आम्दानी हुने गरेको छ । कोठा भाडाबाट आम्दानीको रकम त्यसभन्दा धेरै बढी हुने गरेको स्थानीय गणेश युवा क्लबका पूर्वअध्यक्ष तथा जनकपुर उद्योग वाणिज्य संघका उपाध्यक्ष सुरेन्द्र भण्डारी बताउँछन् ।
धर्मशालाले बनाएको सटरबाट समेत आम्दानी गर्ने गरेको छ । धर्मशालाका म्यानेजर झाका अनुसार ५२ वटा सटर भाडामा लगाइएको छ, जस बाट मासिक ६० हजार रूपैयाँ आम्दानी हुने गरेको छ । ६ सय रूपैयाँदेखि २५ सय रुपियाँ मासिक भाडामा सटर दिइएको झा बताउँछन् । तर जनकपुरमा सटर भाडा त्यसभन्दा धेरै महंगो छ ।
‘वर्षौंदेखि जुन मानिसले जुन दरमा सटर भाडामा लिए त्यही दर कायम रहेकाले भाडा बढ्न सकेको छैन,’ म्यानेजर झाले भने, ‘कम दररेटमा भाडा दिँदा त असुली गर्न गाह्रो हुन्छ भने भाडा बढायो भने झन् दिँदैनन् ।’
नेपाली कांग्रेसको संरक्षणमा केही व्यक्तिले उक्त धर्मशालालाई आफ्नो प्रभावमा राखेका छन्, तिनै व्यक्तिहरूले अत्यन्तै न्यून दररेटमा सटर बहालमा लिएको रामजानकी युवा कमिटीका अध्यक्ष गणेश साह बताउँछन् । ‘धर्मशालाको भित्री परिसरमा आफूखुशी अवैध संरचना बनाएर, घर समेत बनाएर व्यापार व्यवसाय सञ्चालन गर्नुका साथै बसोबास समेत गर्दै आएका छन्,’ साहले थपे, ‘उक्त धर्मशालामा कांग्रेसका मान्छेहरूले आफ्नो हालीमुहाली गर्दै आएका छन् ।’
गणेश युवा कमिटीका पूर्वअध्यक्ष भण्डारीका अनुसार धर्मशालामा भारतबाट तीर्थालु लिएर आउने बस पार्किङबापत पनि ५ सय रुपैयाँ लिने गरिएको छ । वर्षमा कम्तिमा पनि १ हजार बस आउने गरेको र त्यसको पार्किङ शुल्कबापत नै ५ लाख रूपैयाँ उठ्ने भण्डारी बताउँछन् ।
यसरी वर्षमा लाखौं रूपैयाँ भारतीय नागरिकले अनधिकृत रूपमा लागिरहेकाले नेपाल सरकारले आफ्नै मातहातमा धर्मशाला सञ्चालन गर्नुपर्ने भण्डारीको माग छ ।
‘हामी सहित विभिन्न युवा क्लबका प्रतिनिधि, नागरिक समाज, स्थानीयवासीहरू पटक–पटक जिल्ला प्रशासन कार्यालयदेखि गुठी संस्थानको कार्यालयसम्म डेलिगेसन पुगेर सरकारको स्वामित्वमा उक्त धर्मशाला सञ्चालन गर्न वा स्थानीय मानिसको सहभागिता समेतमा एउटा ट्रस्ट बनाएर त्यही ट्रस्टमार्फत धर्मशाला सञ्चालन गर्न माग गरेका छौं,’ भण्डारीले भने,’ तर गुठी संस्थान र जिल्ला प्रशासनले त्यसमा कुनै चासो नै लिएको छैन ।’
गुठी संस्थान शाखा कार्यालय जनकपुरका जग्गा प्रशासन फाँट प्रमुख रवीन्द्रकुमार राय पनि उक्त धर्मशालामा भारतीय नागरिकले अवैधरूपमा कब्जामा राखेको स्वीकार्छन् ।
‘गुठी संस्थानकै स्वामित्वमा रहेको करीब ३ बिघा तैनाथी जग्गा उक्त धर्मशालाका लागि छुट्याइएको छ,’ रायले लोकान्तरसँग भने, ‘भारतीय मानिसले वर्षौंदेखि उक्त धर्मशाला सञ्चालन गर्दै आएको छ ।’
धर्मशाला गुठी संस्थानले आफैं सञ्चालन गर्नुपर्ने भन्दै आवश्यक कारबाही तथा निर्देशनका लागि फाइलसहितको पत्र संस्थानको प्रधानकार्यालय काठमाडौंमा पठाइसकिएको उनले बताए । ‘हालसम्म प्रधान कार्यालयबाट के गर्ने भन्ने निर्देशन नआएकाले केही पनि गर्न नसकिएको हो,’ रायले भने, ‘आशा गरौं छिट्टै गुठी संस्थानले उक्त धर्मशाला आफ्नो मातहतमा लिएर सञ्चालन गर्नेछ ।’
धर्मशाला अवस्थित रहेको जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर ४ का वडाध्यक्ष सुदर्शन सिंह पनि उक्त धर्मशाला नेपाल सरकारको मातहतमै सञ्चालन व्यवस्थापन हुनुपर्ने र आम्दानी नेपालमै रहनुपर्ने बताउँछन् । ‘गुठी संस्थानको समन्वयमा उपमहानगरपालिकाले आफैं सञ्चालन गर्नुपर्छ,’ सिंहले भने, ‘मेयरसा’बले त्यसका लागि पहल नगरे वडा मातहतमा आफैं उक्त धर्मशाला सञ्चालन गर्न तयार छु ।’
उपमहनागरपालिका मातहत धर्मशाला सञ्चालन भए उपमहानगरको राजस्वसमेत वृद्धि भई जनकपुरधामको विकासमा समेत टेवा पुग्ने उनले बताए ।
अहिलेसम्म अवैधरूपमा उक्त धर्मशाला सञ्चालन गर्दै आएको गुनासो आएपछि जिल्ला प्रशासन कार्यालय धनुषाले कात्तिकको पहिलो सातामा प्रशासकीय अधिकृतको टोली पुगेर निरीक्षण समेत गरेको थियो ।
स्थलगत निरीक्षण गरेर फर्केका प्रशासकीय अधिकृत गणेश मिश्रका अनुसार अहिलेसम्म आफूखुशी सञ्चालक समिति बनाएर धर्मशाला सञ्चालन गर्दै आएको पाइएको छ । ‘न त संस्था जिल्ला प्रशासनमा दर्ता नै छ, न त हालसम्मको आयव्यय विवरण कहीँ सार्वजनिक गर्ने गरिएको छ, ’ प्रशासकीय अधिकृत मिश्रले भने, ‘लेखापरीक्षण पनि कहिल्यै नगर्ने गरेको भन्दै सबै जानकारी सीडीओ सा’बलाई गराइसकेको छु ।’
यता धनुषाका प्रमुख जिल्ला अधिकारी प्रदीपराज कणेल भने संस्था दर्ता नभएका कारण नेपाली नागरिकहरूलाई राखेर सञ्चालक समिति बनाएर संस्था दर्ता गराउन धर्मशालाका भारतीय सञ्चालक राजेश शर्मालाई निर्देशन दिइसकेको बताउँछन् । ‘संस्था दर्ता भएपछि आयव्यय सबै सार्वजनिक गर्नुपर्ने र उक्त रकम त्यही सञ्चालक समितिले धर्मशालाको खातामा जम्मा गर्नुपर्ने हुन्छ,’ सिडिओ कणेलले भने, ‘अहिले के कति आम्दानी हुन्छ, त्यसको केही हिसाब छैन, आफूखुशी लिने गरेको देखिएको छ ।’
जनकपुर उद्योग वाणिज्य संघका पूर्वअध्यक्ष निर्मल चौधरीको अध्यक्षतामा करीब ३ वर्षअघि धर्मशालाले नामका लागि एउटा सञ्चालक समिति गठन गरेको छ । तर त्यो सञ्चालक समितिलाई समाजले मान्न तयार देखिएको छैन । त्यही समितिलाई अहिले वैधानिकता दिन खोजिएकोमा जनकपुरका नागरिक समाजका अगुवाहरू आपत्ति जनाउँछन् ।
जनकपुर नागरिक समाजका अगुवा मुरली मनोहर मिश्र सरकारी स्वामित्वमा उक्त धर्मशाला सञ्चालन हुनुपर्ने बताउँछन् । त्यसैगरी जनकपुर उद्योग वाणिज्य संघका उपाध्यक्ष सुरेन्द्र भण्डारी पनि तीनवटै तहको सरकारका प्रतिनिधि रहनेगरी स्थानीय नागरिक समाजको अगुवाइमा एउटा ट्रस्ट बनाएर धर्मशाला सञ्चालन गरिनुपर्ने उनी बताउँछन् ।
गुठीले आफ्नो मातहतमा लिएर किन पछि हट्यो ?
गुठी संस्थानले ५ वर्षअघि आफ्नो मातहतमा लिएर उक्त धर्मशाला सञ्चालन पनि गरेको थियो । २०७१ साल असारको पहिलो सातामा तत्कालीन प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद ढुंगाना, गुठी संस्थान शाखा कार्यालय जनकपुरका कार्यालय प्रमुख राजबाबु पाण्डे, बृहत्तर जनकपुर क्षेत्र विकास परिषदका कार्यकारी निर्देशक उमेशकुमार यादव, जनकपुरधाम उपमहानगरपालिकाका कार्यकारी अधिकृत विष्णुप्रसाद कोइरालाको उपस्थितिमा बसेको बैठकले उक्त धर्मशाला गुठी संस्थानकै मातहतमा सञ्चालन गर्ने निर्णय गरेको थियो ।
त्यसका लागि गुठी संस्थान शाखा कार्यालय जनकपुरका तत्कालीन सहायक प्रशासकीय अधिकृत नवराज पौडेलको संयोजकत्वमा जनकपुर नगरपालिकाबाट प्रशासन हेर्ने कर्मचारी रामसुन्दर दास र बृहत्तर जनकपुर क्षेत्र विकास परिषदका कर्मचारी सञ्जयकुमार मण्डल गरी ३ सदस्यीय सञ्चालन व्यवस्थापन समिति बनाएको थियो । गुठी संस्थानलाई सहयोग गर्न बृहत्तरले उक्त धर्मशालालाई आफ्नो मातहतमा लिएर सञ्चालन र व्यवस्थापन समेत गरेको थियो ।
‘हामीले धर्मशाला आफ्नो मातहतमा लिएर सञ्चलान पनि गरेका थियौं, प्रत्येक महिनाको आयव्यय विवरण सार्वजनिक गरेर संयुक्त खातामा जम्मा पनि गरेका थियौं’, बृहत्तर जनकपुर क्षेत्र विकास परिषदका प्रशासकीय अधिकृत चिरञ्जीवीराज ढुंगाना भन्छन्, ‘तर पछि के भयो गुठी संस्थान नै पछि हट्यो ।’
गोपाल धर्मशालाको सबै हिसाब–किताब गरेर बरबुझारथ गर्न धर्मशालाका म्यानेजर राजकुमार झालाई पत्राचार गरेपनि सबै कुरा फेरि भारतीय नागरिकलाई नै जिम्मा लगाइएको ढुंगानाले बताए ।
२०७१ असार १८ गते देखि २०७१ साल असोज ७ गतेसम्म उक्त धर्मशाला गुठी संस्थानले आफ्नो मातहतमा लिएर सञ्चालन गरेको थियो । तर राजनीतिक दबाब र बाह्य हस्तक्षेप समेत भएकाले गुठी संस्थान पछि हटेको स्रोतको भनाइ छ ।
काठमाडौंस्थित भारतीय दूतावासले नै अप्रत्यक्षरूपमा दबाब दिन थालेपछि दबाब थेग्न नसकेर गुठी संस्थानले धर्मशाला फिर्ता गर्नुपरेको स्रोतको भनाइ छ । बृहत्तरका तत्कालीन कार्यकारी निर्देशक उमेशकुमार यादवका अनुसार उक्त धर्मशाला सञ्चालन गर्नका लागि तत्कालीन प्रमुख जिल्ला अधिकारी ढुंगानाले विधान निर्माण गर्ने मस्यौदा समेत तयार गरिसकेका थिए तर पछि गुठी संस्थानले नै खुट्टा कमाएपछि धर्मशाला भारतीय नागरिकको कब्जामा फेरि पुग्यो ।
भारतीय नागरिकको दाबी कायमै
गोपाल धर्मशालाको नाममा दुई कित्ता जमिन छ । कित्ता नम्बर ४६ मा १३ धुर र कित्ता नम्बर २८ मा २ बिघा ६ कठा १० धुर १ कनमा गरी लगभग ३ बिघा जग्गा उक्त धर्मशालाको नाममा छ ।
जनकपुरमा जानकी मन्दिरको निर्माण भएपछि तीर्थालुका लागि १९८३ सालमा गुठी संस्थानको तैनाथी जग्गामा उक्त धर्मशाला निर्माण गरिएको थियो । भारतीय नागरिक राजेश शर्माका अनुसार जानकी मन्दिरका तत्कालिन पुजारी बिडी ब्रम्हचारीले भारतको कलकत्ता निवासी रायबहादुर बलदेव दाससँग जनकपुरमा एउटा धर्मशाला निर्माण गरिदिनका लागि आग्रह गरेका थिए । त्यसका लागि उनले तत्कालीन श्री ३ सरकारसंग धर्मशाला निर्माण गर्नका लागि जग्गा माग गरेका थिए । त्यसपछि त्यसै जग्गामा भारतको कलकत्ता निवासी रायबहादुर बलदेव दासले धर्मशाला निर्माण गराएका थिए । त्यसबेला धर्मशाला निर्माण गर्न करीब ५ लाख रूपैयाँ जति लागेको शर्मा बताउँछन् ।
‘तत्कालीन श्री ३ सरकारले उक्त धर्मशाला निर्माणदेखि रेखदेख, सञ्चालन, व्यवस्थापन गर्न समेत अधिकार दिएकाले हामीले धर्मशाला सञ्चालन गर्दै आएका छौं,’ धर्मशालाका म्यानेजर समेत रहेका भारतीय नागरिक राजेश शर्माले भने, ‘त्यसैले यो धर्मशालामाथि हाम्रो नाथानी ट्रस्टको दाबी रहँदै आएको छ ।’
त्यसैपनि गुठी संस्थानले जोताहा भनेर गोपाल धर्मशालाको नाममा फिल्ड बूकमा समेत उल्लेख रहेकाले आधा जमिनको मालिक आफुहरू भएको भारतीय नागरिक राजेश बताउँछन् ।
बुधवार काभ्रेको धुलिखेलस्थित काठमाडौं विश्वविद्यालयका १ हजार ८३८ जना विद्यार्थीमाझ सनम ढकाल दृश्यमा आए । एमबीबीएसमा सर्वोत्कृष्ट भएर गोल्ड मेडल ल्याउँदै सनम दीक्षित भएसँगै सबैमाझ परिचित भएका हुन् । काठम...
मनीषा जीसीको वास्तविक नाम विष्णु घर्ती क्षेत्री हो । गुल्मीको धुर्कोट गाउँपालिका– ३ हाडहाडेकी विष्णुलाई धेरैले मनीषा भनेर चिन्छन् । उनै मनीषा लोक सेवा आयोगले लिएका पाँचवटा परीक्षामा एकसाथ नाम निकालेर अह...
रोल्पाका देवराज बुढामगर गाउँकै साधारण किसान हुन् । परिवर्तन गाउँपालिका–४ पाथावाङ निवासी देवराजका ६ छोरी र एक छोरा सरकारी जागिरे छन् । छोराको आसमा ६ छोरी जन्माए देवराज र उनकी श्रीमती नन्दाले । हुन पन...
नृत्यका पारखीहरूका लागि लुम्बिनी प्रदेशमा लोकप्रिय नाम हो किशोर थापा । रुपन्देहीका किशोरको परिचय खाली नृत्यकार (डान्सर)मा मात्र सीमित छैन । उनी नृत्य निर्देशक, गायक, मोडल र फूटबल खेलाडीको रूपमा समेत उत्तिकै च...
श्रीमान्–श्रीमती नैं शाखा अधिकृत, त्यो पनि एकसाथ । यस्तो सुखद संयोग सरकारी सेवामा प्रवेश गर्न चाहनेमध्ये कमैलाई मात्र जुर्ने गर्छ । तर, गुल्मीको धुर्कोट गाउँपालिका वडा नम्बर–६ का सुरेन्द्र पाण्डे र रमित...
प्रगतिशील राजनीतिको 'फ्रन्टलाइन'मा देखिने नेताहरू जति कठोर हुन्छन्, त्यो भन्दा बढी ‘इमोसनल र सेन्टिमेन्टल’ पनि हुन्छन् । त्यस्तै ‘इमोसनल फिलिङ्स’का बाबजुद परिस्थितिले कठोर बन्दै गएक...
सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...
रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन । सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...
कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...