मंसिर २, २०८०
गोपाललाई सानैदेखि धूमपानको लत बसेको थियो, शायद संगतको प्रभाव भनेको यही हुनुपर्छ । घरमा बाबुदाजुहरू हुक्का तान्थे । त्यति बेलाको चलन के भने सबैभन्दा सानोले तमाखु भर्नुपर्ने । त्यतिसम्म त ठीकै थियो, सल्काएर समे...
उपन्यासकारको सिर्जना जस्तो । दृश्यपटल छन्, महिला पुरुष सबै खाले पात्र यत्रतत्र भेटिन्छन् । नायक, खलनायकहरूको उपस्थिति छ; सबै क्रियाशील छन् । चरित्र चित्रण राम्ररी भएको छ । छिटोछिटो पढिसक्ने कुत्कुतीले पाठकलाई गाँजेको हुन्छ । तथापि यहाँ चर्चामा ल्याउन लागिएको कृति आख्यान होइन, तसर्थ यसमा तिलस्मी कथा-उपकथा वा अस्वाभाविक किसिमका प्रणय प्रसङ्ग भने भेटिँदैनन् ।
‘१०० दिन: माओवादी कब्जामा’ पढ्ने पाठकले पहिले आफूलाई २०५२-६२ सालको नेपालमा पुर्याउनु पर्ने हुन्छ । र, सकिन्छ भने पश्चिम पहाडको जिल्ला रोल्पामा पुग्नुपर्छ । जग-जाहेर छ, रक्तरञ्जित माओवादी विद्रोह सञ्चालकहरूले रोल्पालाई एक समय राजधानी नै बनाएका थिए । तीनशय पृष्ठको यस पुस्तकमा वर्णित सबै व्यक्ति, स्थान र हर्कत सग्ला यथार्थ हुन् । किनभने यी माओवादीहरूका ‘बन्दी’ लेखक नारायण सुवेदीका टिपोटमा आधारित देखिन्छन् । थुनामुक्त हुने बेलामा पार्टीको विरोधमा केही लेखेको रहेछ र प्रकाशमा आएछ भने ‘कारवाही त छँदै छ नि’ भन्ने शर्तयुक्त चेतावनीले लेखकलाई अद्यापि सजग राखेकै हुनुपर्छ यद्यपि त्यसबेलाको माओवादी पार्टी भने अहिले ‘नेकपा’ मा विलय भइसकेको छ ।
नारायण सुवेदीको पुस्तकलाई मोटामोटी चार कोणबाट पढ्न सकिन्छ: बन्दी छँदा लेखकले बेहोरेका दु:खकष्टमा आधारित अनुभूति, चीनका क्रान्तिकारी नेता माओ जेदोङका नेपाली अनुयायीहरूको मान्यता र कार्यशैली तथा रोल्पा अनि वरपरका भेगका प्राकृतिक र सांस्कृतिक विविधता । काठमाडौं जस्ता शहरी इलाका र तराईका सुगम बस्तीमा हुर्के-बढेका मानिसले अनुमानसम्म पनि गर्न नसक्ने विपन्नतामा बाँच्न बाध्य नेपालीहरूको स्थितिलाई चौथो कोण मान्न सकिन्छ । लेखकले एकशय दिनलाई १,२, ३, ४ गर्दै १०० औं दिनसम्मका अनुभवको रूपमा सँगालेको हुनाले पुस्तकका अध्याय आफैं छुट्टिएर छरिता भएका छन् । अध्यापनमा संलग्न प्रधान अध्यापकको लेखाइ त्यसै पनि व्यवस्थित भइहाल्छ । गुरूलाई आदरणीय व्यक्तित्व मान्ने औसत नेपालीको परम्पराबारे व्याख्या गरिरहनु पर्ने अवस्था रहेन ।
तर नारायण सुवेदीलाई बन्दी बनाएर राख्ने माओवादी र तिनका छापामार डफ्फालाई कसरी औसत नेपाली मान्नु र ? ती त हाकाहाकी अपवाद हुन् । उपल्लो तहका क्रान्तिकारी त नेता नै भए, तिनका आदेश तामेल गर्ने छापामार पनि अपवादकै कोटिमा पर्छन् । हो, ज्यानै लिने तहको त्रासमा पारेर माओवादी जत्थामा सामेल गराइएका युवक-युवतीका कथा-व्यथा बेग्लै छन्, होलान् । पुस्तकमा यत्रतत्र पाइन्छन् ।
रोल्पा गजुलकोटका बासिन्दा नारायण सुवेदीलाई उहाँकै घर दलानबाट ‘एकैछिन’ गोप्य कुरा गर्ने निहुँमा माओवादीका कार्यकर्ताले अपहरण गरेका थिए । २०५९ साल वैशाख २९ गते । र, त्यो ‘एकछिन’ दिन, हप्ता र महिना हुँदै १०० दिनमा पुगे । यसरी कब्जामा परेपछि सुवेदीलाई केरकार गर्ने सिलसिलामा तह-तहका कामरेडले अनेक छुद्र वचन प्रयोग गर्दै पूर्वाग्रही प्रश्हरू तेर्स्याएका थिए । कोही सम्पर्क कामरेड त कोही जिम्मेदार कामरेड । कोही सेक्रेटरी त कुनै इञ्चार्ज । गजुलकोटकै विद्यालयमा शिक्षक रहिसकेका व्यक्ति ‘कामरेड शक्तिमान’ ले बयानका क्रममा यसो भनेछन् : ‘ हेर्नुस् नारायणजी, तपाईंहरू निम्न पूँजीवादी चिन्तनले ग्रस्त अवसरवादी प्रवृत्तिका मान्छे हुनुहुन्छ’। हत्या-हिंसाको राजनीति ठीक होइन भन्ने विचार निर्भीक ढङ्ले प्रकट गरे बापत नारायण सुवेदीलाई ‘नौलो जनवादी व्यवस्था’प्रति प्रतिबद्ध कामरेडहरूले आँखाको कसिङ्गर ठहर्याएका रहेछन् । कारवाहीको क्रममा पछि माओवादी कारवाहीको बेला कामरेडहरूले सुवेदीकै आँखामा पट्टी लगाएर डाँडा-पाखा हिंडाए पनि । प्रतिशोधका घटना पटक पटक भएका छन् ।
रोल्पाको पहिलो स्नातक (बी ए) नारायण सुवेदीलाई चिन्नेहरूले २०३० सालदेखि शिक्षण पेशामा लागेर २०३६ सालदेखिको मा.वि.को प्रधान अध्यापक भनेर आदर गर्दथे । सुवेदीले पछि एम् एड् पनि गर्नुभयो । तर माओवादीको लागि ‘बुर्जुवा शिक्षा’ को के काम, के महत्व ! बन्दी बनेर घुम्ती कारागार (मोबाइल जेल) मा रहँदा सुवेदीले विद्यालय स्तरको पढाइ समेत नछिचोलेका केटाहरूबाट माओ र प्रचण्ड कामरेडलाई उद्धृत गर्दै गरेका प्रवचन पटक पटक सुन्नुपरेको थियो । विड्म्बना ।
ऐतिहासिक तथ्य हो, पृथ्वीनारायण शाहले जग हालेको आधुनिक नेपाललाई पछि बहादुर शाहले निकै फराकिलो तुल्याए । पश्चिममा पर्ने बाइसे राज्यमध्येको गजुलकोट त्यसैताका नेपालमा गाभिएको हो । नारायण सुवेदीका अनुसार, निजका पुर्खा गजुलकोट राजाका राजगुरू थिए । त्यो पुरानो कुरो भयो । सात सालपछिको नेपालको सन्दर्भमा २०१५ सालको निर्वाचनले राम्रै महत्व राख्दछ । त्यस निर्वाचनमा नेपाली काँग्रेसका उम्मेदवार भई अत्यधिक मतले विजयी हुने खडानन्द सुवेदीका छोरा भएकोले नारायण सुवेदी पढाइ-लेखाइमा प्रवीण र राजनीतिमा रुचि राख्ने शिक्षक हुनु स्वाभाविक भयो । हो, यही कुरो चाहिँ क्रान्तिकारीहरूलाई सह्य भएन ।
२०४६ सालको राजनीतिक आन्दोलनसम्म खासै हलचल नदेखिएको रोल्पामा बहुदलको घोषणापछि कुनै न कुनै दलमा नपसीकन कल्याण छैन भन्ने मानसिकताले चेतनशील कहलिएका रोल्पालीहरूलाई असर पा-यो । पारिवारिक संस्कारले प्रजातन्त्रवादी भए पनि शिक्षक नारायण सुवेदीलाई नयाँ खुलेको संयुक्त जनमोर्चाले आकर्षित ग-यो । शिक्षककै पृष्ठभूमि भएका(सुवेदीका पूर्वविद्यार्थी) कृष्णबहादुर महरा नेता भए । तर मोर्चाका नीतिसित चित्त नबुझेपछि सुवेदीले २०४९ सालमा मोर्चा त्याग्नु भएछ । त्यसरी वामपन्थी खेमाबाट टाढा हुँदै जानाले पनि सुवेदीले माओवादीको कोपभाजन हुनुपरेको अनुमान गर्न गाह्रो छैन । शुरूमा प्रहरी र पछि-पछि सेनाको निगरानी बढ्दा सुवेदी र रोल्पाका अन्य धेरै बासिन्दालाई दोहोरो चेपाइ प-यो । तिनलाई एकातिर सेनाले माओवादी वा तिनको सुराकी ठानेर दु:ख दिने र अर्कोतिर माओवादीले शोषक सामन्तीको मतियार भनेर कारवाहीमा पार्ने । अनेक झमेला र सास्ती बेहोर्नु पर्ने, पारिवारिक जीवन अस्तव्यस्त हुन जाने र धर्म-संस्कृतिमा घात पर्ने गतिविधिलाई टुलुटुलु हेरेर बस्न विवश होइने । माओवादी आदेश-उपदेशको पालना नगरे ‘सफाया’ मा परिने---गुम्चालका मानसिंह जस्तै । विडम्बना, शोषण उत्पीडनमा परेकाको उद्धार गर्न तम्सिएका क्रान्तिकारीले नै रोल्पाका ग्रामीण जनतालाई थप शोषण र त्रासमा पार्न पुगे ।
सिस्नुको तिउनसँग आटो (ढिंडो) खाएर खेत बारीमा जोत-कोड जस्तो बलको काममा रातोदिन खट्न बाध्य ग्रामीण मानिसका नयाँ हाकिम बनेका कामरेड । तिनको प्रतिकारमा परिचालित शाही नेपाली सेनाका सैनिक र तिनका हाकिम । जब सेनाको हालीमुहाली चल्न थाल्यो त्यसपछि प्रमुख जिल्ला अधिकारी समेतको स्थानीय प्रशासन र तिनका सहयोगी प्रहरी निरीह हुन पुगे । ‘सेनाबाट आदेश आएपछि हाम्रो केही लाग्दैन’ भन्ने सीडीओ देखेपछि सुवेदीले प्रशासनलाई ‘लुते र कमजोर’ ठान्नु कुन अर्घेलो भयो र ।
कब्जामा परेको ८२ औं दिनमा बन्दीगृहमा एकजना ठूलै कामरेड आएर सुवेदीलाई भने: ‘पार्टीले फैसला ग-यो’। तपाईं हाम्रो पार्टीविरुद्ध भेला,सभा गराउने योजनाकारसम्म भएको देखियो, त्यसैले ‘यतिसम्मको बन्दी जीवनलाई पार्टीले सजाय ठानेको छ’। रिहाको लागि तीनटा शर्त पालना गर्नुपर्ने गरी । तर अचानक ९२औं दिनमा तीभन्दा माथिका कामरेड आएर सजाय थप्ने कुरा गरेर अत्याए । सश्रम कारावासको धम्की समेत दिए । स्पष्टिकरण दिएँ, वक्तव्य लिए र कबुलियत गराए अनि १००औं दिनमा छोडिदिए । माओवादी कब्जाको अर्को अनुभव: थुनुवा बनाएर राखेका बखत थुनुवालाई खुवाएको खाना (आटो-साग) को खर्च थुनुवाबाटै असुल-उपर गर्ने माओवादी निर्णय रहेछ । त्यो पनि पालना गर्नुप-यो सुवेदीले । बन्दीसितको व्यवहारमा भएका राम्रा कुरामध्ये एक के रहेछ भने बन्दीले खान नचाहेको चीज-वस्तु खान दबाब नदिने । कामरेड शक्तिमान्को भनाइ: खानेकुरामा ‘हाम्रो पार्टीले नखानेलाई जोरजबर्जस्ती गर्दैन’। र, आश्वासन मुताविक सुवेदीलाई जुन पायो त्यहीपशुको मासु खानु परेनछ ।
‘ क्रान्तिमा हिंसा अनिवार्य हुन्छ । हाम्रो जनवादी सत्ता ल्याउनको लागि हिंसा अनिवार्य सर्त हो’। (पृष्ठ १५९) यस्तो मान्यता बोकेका माओवादीको कब्जामा परेर पनि जिउँदै फर्किन सकेको कुरालाई लेखक सुवेदीले ‘पुनर्जीवन’ पाएको भनेर लेख्नु भएको छ । बाघको मुखबाट उम्किन सफल भएजस्तो अनुभव भएछ ।
‘कालो अतीत’ लाई बिर्सिने प्रयासमा लेखिएको यस पुस्तकले एक दशकको सशस्त्र विद्रोहबारे आगामी पुस्तालाई राम्रो जानकारी दिन्छ । यसै विषयमा लेखिएका (र लेखिने क्रममा रहेका) अन्य पुस्तकहरूले झैं यसले पनि वस्तुस्थितिको अध्ययन र मूल्याङ्कनमा गहकिलो सघाउ पुर्याउने छ । ‘महान् उपलब्धि’ गरेपछि मुलुक शान्ति प्रक्रियामा पसिसकेको छ भन्ने नेतागणको दाबीलाई केलाउने सम्बन्धमा पनि सुवेदीको पुस्तकले टेवा देला ।
सत्य निरुपण र बेपत्ता पारिएकाहरूको मामिला सुल्झिन बाँकी छ भन्नेहरूको मन्तव्यले मुलुक संक्रमणकालबाट उम्किसकेको छैन भन्ने जनाउँछ । उतिखेरका माओवादी ३-४ समूहमा विभाजित भएको अवस्था छ ।
अन्त्यमा---
नेपालको माओवादी विद्रोह ‘माओवाद: एक विश्व इतिहास’ (Maoism: A Global History) नामक पुस्तकको एक अध्याय नै बनेको छ । यसै वर्ष (सन् २०१९) मा प्रकाशित यस पुस्तकमा लेखिका (लण्डन विश्वविद्यालयमा प्राध्यापक) जुलिया लोवेलले तीन वर्षअघि ‘कामरेड किरण’सँग भेटघाट भएको प्रसङ्ग लेखेकी छिन् । व्यक्तिगत रूपमा कुनै तिक्तता नराखे पनि प्रचण्डबारे किरणको भनाइ रहेछ: ‘प्रचण्ड र उनको समूहले क्रान्तिलाई धोका त दिएकै हुन्’।
सुध्रन चाहनेलाई सुध्रिने मौका दिनुपर्छ---अध्यक्ष कामरेडको उतिबेलाको मान्यता हो । किरण कामरेडले औंल्याएको त्यस धोकालाई महसूस गरेर कदाचित् उहाँ सुध्रिन चाहनु भयो भने के क्रान्तिको बिगुल फेरि फुकिने सम्भावना छ ? घोत्लिने विषय हो यो ।
प्रकाशक ‘नेपा~लय’ को प्रकाशन भएर सन् २०१२ मा जनसमक्ष आएको सुवेदीको यो पुस्तक दोस्रो संस्करणमा पुगिसकेको छ । पाठकसंख्या बढ्दै जाँदा मुलुकमा जनचेतनाको स्तर पनि उक्लिँदै जाने अपेक्षा गरौं ।
गोपाललाई सानैदेखि धूमपानको लत बसेको थियो, शायद संगतको प्रभाव भनेको यही हुनुपर्छ । घरमा बाबुदाजुहरू हुक्का तान्थे । त्यति बेलाको चलन के भने सबैभन्दा सानोले तमाखु भर्नुपर्ने । त्यतिसम्म त ठीकै थियो, सल्काएर समे...
वरिष्ठ पत्रकार तथा साहित्यकार आचार्य कमल रिजालद्वारा लिखित उपन्यास ‘सुकर्म’को अंग्रेजी संस्करण ‘डीप क्वेस्ट' प्रकाशित भएको छ । २०६९ सालमा नेपालीमा प्रकाशित उक्त उपन्यासको अंग्रेजी संस्करणलाई स...
त्यो शिक्षकले पढायो, नेता बन्न सिकायो र त आज देशको बागडोर चलाइरहेका छौ । त्यो शिक्षकले पढायो, कर्मचारी बन्न सिकायो र त आज देशको प्रशासन चलाइरहेका छौ । त्यो शिक्षकले पढायो, डाक्टर बन्न सिकायो र त आज हजारौ...
पहाडमा उखु पेलेर खुदो पकाउने समय पारेर मधेशको गर्मी छल्न राजेन्द्र काका (ठूलो भुँडी लागेकाले हामीले मोटे अंकल भन्थ्यौं) गुल्मीको पहाड घरमा आउँथे । चैत–वैशाखको समयमा कोलबाट पेल्दै गरेको उखुको रस, रसेट...
लेखक एवं पत्रकार अखण्ड भण्डारीको उपन्यास ‘बोरा’ विमोचन भएको छ । अन्नपूर्ण पोस्ट दैनिकका प्रधान सम्पादक भण्डारीको ‘बोरा’ उपन्यास शुक्रवार काठमाडौंमा आयोजित कार्यक्रममा विमोचन गरिए...
विसं २०७९ को मदन पुरस्कार प्राप्त गरेको ‘ऐँठन’ उपन्यासका लेखक विवेक ओझालाई गृहनगर टीकापुरमा विभिन्न संघसंस्थाले सम्मान गरेका छन् । ओझालाई नेपाल रेडक्रस सोसाइटी टीकापुर उपशाखा, उद्योग वाणिज्य सङ्घ, ...
हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...
सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...
एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...