ठगी खाने भाँडो बन्दै महायज्ञकहरू

कमल रिजाल
कमल रिजाल

लोकान्तरका नियमित स्तम्भकार कमल रिजाल धार्मिक संस्कार र समसामयिक विषयमा कलम चलाउँछन् ।

धर्मको नाममा व्यापार गर्नेहरू हौसिँदै गएका छन् यतिबेला । व्यापार भन्नुभन्दा पनि ठगी धन्दा भन्नु मनासिव हुनेछ ।

व्यापारमा कम्तिमै भएपनि आय–व्ययको कुरो आउँछ र भ्याट र प्यानले पनि स्थान पाउँछ तर यसमा त केही पनि पर्दैन । धर्मको नाम दिनुपर्छ जति पाए पनि हुन्छ, जति खाए पनि हुन्छ, जति लगेपनि हुन्छ, जति ठगे पनि हुन्छ ।


Advertisement

न ऐनको दफाले छुन सक्छ, न कानूनका नियमले समाउन सक्छ । महायज्ञको नाम दिएपछि आयव्यय पारदर्शी हुन पनि पर्दैन, लेखा परीक्षणको झन्झट पनि रहन्न । मासिक ५०–६० हजार कमाउने कर्मचारीले १५ प्रतिशतको दरले सरकारलाई कर तिर्नुपर्छ तर धर्मको नाम दिएपछि मासिक लाखौं कमाए पनि कोही बोल्दैन । 

सरकार स–साना पसल थापेर जीविका गर्नेलाई कर तिर्नुपर्छ भन्छ । घर भाडाबापत मासिक २०–२५ हजार लिने घरधनीलाई करको दायरामा आउनुपर्छ भन्छ तर महायज्ञको नाममा महिनामै दशौ लाखसम्म कमाउनेलाई भने देखेर पनि नदेखे जस्तो गर्छ । यसैका कारण महायज्ञका नाममा ठग्न पल्केका हुन् वाचक र याचकहरू ।


Advertisement

यसको शुरूआत गोरखा निवासी स्वघोषित वाचन शिरोमणि एक वाचाल पण्डितले गरेका हुन् । उनले विकासका नाममा के कति महायज्ञ लगाए, के कति उठाए, उठेको रकमको १० प्रतिशत चाहिन्छ भन्दै के कति उठाए, के कति पाए कसैले पनि त्यसको हिसाबकिताब खोजेका छैनन् हालसम्म । 

उनका उत्तराधिकारी प्रशस्तै निस्केका छन् हिजोआज । जुन स्वघोषित विभिन्न विशेषण धारण गरी मेचीकाली मात्र होइन, युरोप र अमेरिकासम्म फैलिन पुगेका छन् । ठाडो टीका र गेरुवा वस्त्र उनीहरूका पहिचान हुन् भने गीत र संगीतका तालमा टुक्का भट्याएर मानिस जम्मा पार्ने र जति सकिन्छ पैसा झार्ने विशेषता । 

धर्मप्राण जनता महायज्ञमा दान गरी पुण्य कमाएको विश्वास त गर्छन् तर त्यस्ता यज्ञहरूमा के कति विधि पुगेका हुन्छन् र दान दिएका रकम के कति सदुपयोग भएको छ भन्नेतर्फ भने ध्यान दिँदैनन् वा ध्यान दिन भ्याउँदैनन् । खर्च देखाएर के कति रकम वाचक र याचकको खल्तीमा पुगेका हुन्छन् त्यसको समेत वास्ता गर्दैनन् ।

अपराधलाई राजनीतिकरण गर्नु र धर्मलाई व्यापारीकरण गर्नु उस्तै–उस्तै हुन् । जहाँ हत्या र हिंसालाई सत्तारोहरण लाइसेन्स मानिन्छ र गीत संगीतका तालमा हुने पौराणिक नाटकलाई महायज्ञको नाम दिइन्छ, त्यहाँ हुने भनेको अन्ततः विनाश र विपत्ति नै हुन् । 

जतिबेलादेखि महायज्ञलाई विकासे मोडलमा प्रस्तुत गर्न थालियो, त्यतिबेलादेखि मुलुकले ध्वंंश र विनाशबाहेक केही भोगेको छैन । जतिबेला उल्लिखित वाचाल पण्डित पोखरेलले महायज्ञ जस्तो विशुद्ध आध्यात्मिक कार्यमा विकासे मोडेलको तुरुप दिएका थिए, त्यतिबेलादेखि नै मुलुकमा द्वन्द्व र हिंसाको शुरूआत भएको हो । उनले काठमाडौंको टुँडिखेलमा मञ्चन गरेका पुराण नाटकमा सहभागी भएकै कारण तत्कालीन राजा वीरेन्द्रको वंशनाश भएको थियो ।

फलतः उनी आफैं समेत यसैको बलिवेदीमा चढ्न पुगेका कुरो पनि कसैबाट छिपेको छैन । त्यसयता देश विदेशमा के कति यस्ता विकासे पुराणको नाटक भए धेरैलाई थाहा नहुन सक्छ तर मुलुकले भोगेको कालरात्री भने सबैले देखे भोगेकै कुरा हो । 

महायज्ञ भनेका विशुद्ध आध्यात्मिक थलो हुन्, जहाँ जन्मदेखि मृत्युसम्म हुने कर्म संस्कारको विवेचन गरी अन्तिम सत्यको खोजी गरिन्छ, गर्न सिकाइन्छ तर हाल हुने गरेका विकासे महायज्ञहरूमा के त्यस्तो भएको छ ? उत्तर यही हो अहँ छैन, पटक्कै छैन । यहाँ त कसरी हुन्छ अत्यधिक मानिस जम्मा गरी बढीभन्दा बढी पैसा झार्ने भन्ने खेलबाहेक केही हुँदैन । यसका लागि गीत पनि गाइन्छ, मादल र हारमोनियमको तालमा नाच पनि देखाइन्छ ।

यसको अर्थ गीतसंगीत र नाचगान नराम्रो भन्ने होइन । यी पनि साहित्य र संस्कृतिकै अंग हुन् तर प्रस्तुत गर्ने थलो भने यी होइनन् । यिनका थलो अन्तै छन्, हुन् । जुन चीजको थलो जुन हो, त्यहीँ प्रस्तुत गर्नुपर्छ,  त्यहीँ नै सुहाउँछन् । अन्यथा दुरुपयोग हुन्छ ।

धार्मिक यज्ञ अनुष्ठानमा नाच, गान र बजान हुनु भनेको यज्ञ अनुष्ठानको पनि दुरुपयोग हो । नाच, गान र बजानको पनि दुरुपयोग हो । दुरुपयोगको नतिजा दुरुह नै हुन्छ, जहाँ पनि हाल नेपाल र नेपालीले त्यही नियति भोगिरहेका छन् ।  

हाल बालयोगेश्वर नामधारी एक महाठगले महायज्ञका नाममा गरेको ठगी धन्दाको नाटक निकै चर्चामा छ । एक प्रतिष्ठित दैनिकमा शृंखलाबद्ध समाचार नै आएको छ यसको तर निजले त्यति ठूलो दुःसाहस कसरी गरे भन्नेतर्फ भने कमैको ध्यान पुगेको हुनुपर्छ । सरकारी निकायको बेवास्ताकै कारण यस्ता ठगहरूको मनोबल बढेकोमा कत्ति द्विविधा छैन ।

जतिबेलादेखि महायज्ञका नाममा विकासे मोडल प्रस्तुत गरियो, त्यतिबेलादेखि नै सरकारी निकायले निगरानी बढाउन थालेका भए पक्कै यस्तो अवस्था आउने थिएन तर निगरानी बढाउने कुरा त परै राखौं, उल्टै सरकारका प्रतिनिधि र कतिपय स्थानमा सरकार प्रमुख तथा राष्ट्राध्यक्षहरू आफैं उपस्थित भई उनीहरूको हौसला बढाउने काम भए । फलतः जे नहुनु पर्ने थियो, त्यही भयो । जहाँ पनि ठगहरूले टाउको उठाउने भनेको यस्तै अवस्था हो । 

अब पनि सरकारी नियम, कानूनलाई यस्तै खुकुलो छाड्ने हो भने अरु के कति धर्मका ठेकेदार जन्मँदै जाने हुन् ? उनीहरूले अरु के कस्ता ठगी धन्दाको कहालीलाग्दो नाटक मञ्चन गर्दै जाने हुन् ? कल्पनासम्म पनि गर्न सकिन्न । सबमा चेतना भया !
 

कमल रिजाल
कमल रिजाल

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्