घरआँगनमै पुगेर खाद्यान्न बेच्दै खाद्य व्यवस्था तथा व्यापार कम्पनी

प्रतिकात्मक तस्वीर

खाद्य व्यवस्था तथा व्यापार कम्पनीले खाद्यान्न र इन्डक्सन चुलोको बिक्री गर्नका लागि घुम्ती सेवा सञ्चालन गरेको छ । 

उपत्यकाका उपभोक्ताको घरघरमा सेवा पुर्‍याउने उद्देश्यले घुम्ती सेवा सञ्चालन गरिएको कम्पनीका नायब महाप्रबन्धक श्रीमणिराज खनालले जानकारी दिए ।


Advertisement

घुम्ती सेवाका लागि एक भ्यान र एक ट्रकमा खाद्यान्न र इन्डक्सन चुलो लिएर उपत्यका विभिन्न ठाउँमा जाने गर्दछन् । 

नायब महाप्रबन्धक खनालले घुम्ती सेवाबाट उपभोक्ताले घर आँगनमै खाद्यान्न किन्न पाएको र बजार जान झन्झट हटेको बताए । ‘हामीले उपभोक्ताको हितलाई ध्यानमा राखेर घुम्ती सेवा सञ्चालन गरेका हौं,’ उनले भने, ‘सेवाबाट उपभोक्ताले सहुलियत दरमा घर अगाडि खाद्यान्न पाइरहेका छन् ।’


Advertisement

उनका अनुसार घुम्ती सेवा सञ्चालन गर्दा उपभोक्ताको आकर्षण बढेकाले थप २ नयाँ भ्यान किन्ने तयारीमा रहेका छ । सार्वजनिक बिदाको दिनबाहेक सबै दिनमा घुम्ती सेवा सञ्चालन हुने गर्दछ ।

कुन ठाउँमा कहिले खाद्यान्न लिएर जाने भन्नेबारे जानकारी गराउन सर्वसाधारणलाई अघिल्लो दिन नै विभिन्न सञ्चार माध्यमबाट प्रचारप्रसार गर्ने नायब महाप्रबन्धक खनालले बताए । घुम्ती सेवाबाट दैनिक ९० हजार बराबरको खाद्यान्न र इन्डक्सन चुलो बिक्री हुने गरेको बताइएको छ । 

खाद्यान्नमा चामल, दाल, चिनी, गेडागुडी रहेका छन् । कम्पनीले अहिले रामशाहपथ, थापाथली र ललितपुरको नख्खुमा बिक्री केन्द्र राखी खाद्यान्न बिक्री गर्दै आइरहेको छ । नायब महाप्रबन्धक खनालले उपत्यकामा थप ३ ठाउँमा बिक्री केन्द्र विस्तार गर्ने योजना रहेको जानकारी दिए । उनका अनुसार भक्तपुर, बुढानिलकण्ठ र कलंकीमा बिक्री केन्द्र स्थापना चाँडै गरिने छ ।

कम्पनीले चाडपर्वको समयमा सहुलियत दरमा खाद्यान्न, खसी, बोका र च्याङग्रा उपलब्ध गराउँदै आइरहेको छ । 

कमेन्ट गर्नुहोस्