दृष्टिविहीन जो दोहोरी साँझमा धुन भर्छन्

 कपनछेउ हुँदै काठमाडौंको केन्द्र ताकेर बग्ने धोबीखोलाको पानीमा कुनै संगीत छैन । फोहोर र ढलसँगै आफूलाई बहाइरहेको यही खोला छेउमा छ, पाथीभरा टोल । कपन साततलेस्थित यो टोलका १७५ झुपडीमध्ये एउटा ३४ वर्षीय पूर्ण दृष्टिविहीन पदम लामाको हो, जसको जीवन भने संगीतकै धुनबाट धानिएको छ । 

आठ वर्षको उमेरमा बिमारी परेपछि दृष्टि गुमाएका पदम बाबुको हात पक्रेर नुवाकोटको ढिकुरेबाट काठमाडौं पसेका थिए । त्यसयताको २४ वर्ष उनले यही ओसिलो झुपडपट्टीमा बिताइसकेका छन् । यहीं बसाइमा संघर्षका अनेक घुम्ती छिचोलेका पदमको कथाले दृष्टिविहीनहरूको त्यो समूहको प्रतिनिधित्व गर्छ, जसले सहरी संघर्षको सकस हाँस्दै झेलिरहेका छन् । फुटपाथको छेउकुनामा गीत गाएर बस्ने दृष्टिविहीनलाई खेदेर ‘सुन्दर सहर’ बनाउने सरकारको अभियान जारी रहेका बेला पदमहरूको कथाले उनीहरूको जीवन र सहरी समाजको चरित्र बुझ्न सघाउँछ ।

दुई जना मान्छे एकैचोटि छिर्न पनि मुस्किल पर्ने पाथीभरा टोलको साँघुरो गल्लीको अन्तिम कुनामा उनको झुपडी छ । त्यो झुपडीमा मुस्किलले घाम छिर्छ । मुस्किलले स्वच्छ हावा बहन्छ । ओसिलो गल्ली हुँदै पुगिने यही झुपडीमा उनको जीवनको लेखान्त कोरिएको छ । किनकि यहीं बस्दाबस्दै उनले आफूजस्तै पूर्ण दृष्टिविहीन सुजाता राईलाई प्रेम विवाह गरी भित्र्याए । दमकी रोगी आमालाई गुमाए । अनि यहीं उनले पक्षघातले थलिएका बाबु स्याहार्दै ३ कक्षामा पढ्दै गरेको छोरा हुर्काइरहेका छन् ।


Advertisement

पदमको दिनचर्या आम मान्छेको जस्तो बिहान सुरु भएर साँझ पुगेपछि अन्त हुँदैन । उज्यालो र अँध्यारोको हिसाबभन्दा पर रहेका पदमको दिनचर्या साँझ ढल्किन थालेपछि मात्रै सुरु हुन्छ र रात छिप्पिएर बिहानको गर्भ सुरु भएपछि अन्त्य ।

साँझ ढल्किन लागेपछि ‘ह्वाइट केन’ को सहारामा गल्ली पछ्याउँदै पदम मूल सडकमा निस्कन्छन् र सार्वजनिक बस कुर्छन् । उनको अनुभवले भन्छ, केही बसका चालक र सहचालक यस्ता हुन्छन्, जसले दृष्टिविहीनलाई बस चढाउन समय धेरै लाग्ने, सिट मिलाइदिनुपर्ने बाध्यता देखाएर बोक्न मान्दैनन् । ‘तर सबै खराब छैनन्,’ उनले भने ।


Advertisement

सुन्धाराको इन्द्रेणी दोहोरी साँझमा ७ बजे पदमको काम सुरु हुन्छ । दोहोरीको स्टेजमा चढेपछि उनका हातले अक्टाप्याडबाट अनेक धुन सिर्जना गर्न थाल्छन् । गीतको भाका पक्रिँदै धुनको संसारभित्र हराउँछन् । दोहोरीमा को–को आउँछन् ? तिनीहरूले के–के पिउँछन् ? पदमलाई के चासो । उनको एउटै सुर हुन्छ, आफ्ना साथीहरूले निकालिरहेको संगीतको धुनमा अक्टोप्याडको धुन कसरी मिसाउने र झनै मिठो धुन सिर्जना गर्ने ।

पदम दोहोरी साँझसँग जोडिएको करिब ६ वर्ष भयो । यो अवधिमा उनले आधा दर्जन दोहोरी साँझ फेरिसके । सुनाए, ‘कुनैको साहु नै फटाहा हुने । तलब नदिने । कुनैका किचकिचे ।’ कोटेश्वरको एक दोहोरी साँझले उनलाई दुई महिना काम गरेको तलब दिएन । मनकारी ग्राहकले खुसी भएर दिएको टिप्स मध्यरातमा भाग लगाउँदा जति पर्छ, त्यसैलाई उनले तलब भन्ठानेर चित्त बुझाए । उनीसँग अरू पनि चार/पाँच दोहोरी साँझको नाम कण्ठस्थ छ, जसले उनको एक/डेढ महिनाको तलब झ्वाम पारिदिए ।

दोहोरी छिर्नुअघि पदमले जीविकोपार्जनका निम्ति गरेका कामको फेहरिस्त नै छ । अनि ती कामका अलग–अलग दुखान्त पनि । एकताक उनले घरमै मैनबत्ती बनाएर बजारमा डुल्दै बेच्न हिँडे । तर स्थानीय बजारमा महँगो पर्ने कच्चा पदार्थ र भारतीय बजारबाट ठूलो परिमाणमा आउने मैनबत्तीसँग प्रतिस्पर्धा गर्दा फाइदा नहुने भएपछि उनले एक महिनामै पेसा बदले । कसैले उनलाई सुनाइदियो, अगरबत्ती बनाएर बेच्न सके फाइदा छ ।

उनले अनेकतिर धाएर अगरबत्ती बनाउन सिके । अस्ट सुगन्धको धूलो किने, घरमै बाँसको सिन्का बनाए । मग–मग बास्ना आउने अगरबत्ती बनाएर बेच्न हिँडे । सुगन्धको यो व्यापारले पनि उनको मनमा सुवास फैलिएन । उनले सुनाए, ‘अगरबत्तीको व्यापार पनि मैनबत्ती जस्तै भयो निभ्यो ।’

एक समय उनले चाबहिल चोकको सडक छेउमा खुद्रा व्यापार गरे । भुइँमा फिँजाएर नेलकटर, पर्स जस्ता सामान बेच्न थाले । तर यो इलमले पनि उनको चित्त बुझेन । एउटा घटनापछि त उनको मन मरिहाल्यो । एक ग्राहकले दृष्टिविहीन भएकैले अलिक हेपेर व्यवहार गरे । उनले सुनाए, ‘मैले पर्सको ७० रुपैयाँ भनें तर त्यो मान्छे ३० रुपैयाँ थमाएर बाटो लाग्यो ।’ साँवा रकमभन्दा थोरै पैसा र अपमान दिएर हिँडेको ग्राहकको व्यवहार सम्झेर मन रोयो । उनले भने, ‘त्यही दिनपछि मैले चट्टै काम छाडें ।’

व्यापारबाट फलिफाप नभएपछि उनले आफूभित्र हुर्किरहेका संगीतको भोक सम्झे । दृष्टिविहीनका निम्ति काम गर्ने विभिन्न गैरसरकारी संस्थाको सम्पर्कमा पुगे । पदमले सुनाए, ‘अन्धा–अपांग सीप विकास तालिम केन्द्रमा गितार बजाउन सिकें । परिलक्षित परियोजनामार्फत अक्टाप्याड बजाउन सिके ।’ मिनु वाइवाले गीत गाउन र सन्देशकुमार डंगोलले गितार बजाउन मात्रै सिकाएनन्, उनीभित्र आत्मविश्वास पनि भरिदिए । त्यही बलका भरमा उनले दोहोरी साँझमा जागिर पाए ।

पदमको काम मध्यरातमा सकिन्छ । ‘सुर र तालको भावमा डुबेर अक्टाप्याड बजाउँदा त समय मिलिक्कै गइहाल्छ,’ उनले भने, ‘सुर र ताल पक्रेर भाका निकाल्ने गायक पर्‍यो भने मजा नै बेग्लै हुन्छ । सुरताल नमिलाई गाउने मान्छे पर्‍यो भने छटपटी हुन्छ ।’

दोहोरीमा अनेकथरी ग्राहक आउँछन् । कोहीले मन परेको गीत अफर गर्छन् र गीत मन परे टिप्स थमाइदिन्छन् । कोही मदिराको तालमा उत्ताल हुन्छन् र डाङडुङमै उत्रिन्छन् । ‘हो हल्ला र डाङडुङ चल्यो भने म स्टेजको एक कुनामा जीउ जोगाउन बस्छु,’ उनले सुनाए । उनले दोहोरी साँझभित्र बेलाबखत हुने यस्तो झगडाबाट आफूले कहिल्यै मार खानु नपरेको बताए ।

अरू कर्मचारीसँगै गाडी चढेर घर फर्कंदा कम्तीमा १ बजिसक्छ । सानो खाटमा कोल्टो परेर सुतिरहेका पत्नी र छोरा अनि छेवैको अर्को खाटमा सुतिरहेका पक्षघातले थलिएका बाबुको निद्रा बिग्रेला भनेर उनी लुसुक्क कोठाभित्र छिर्छन् । उनले सुनाए, ‘पल्टिनेबित्तिकै निद्रा पर्दैन । निदाउँदा कहिले २ बज्छ । कहिले त ३ नै ।’

किस्ता–किस्ता गरेर निद्रा पुर्‍याउनुपर्ने बाध्यता पदमका निम्ति आदत भएको छ । बिहानको खाना बनाउने, छोरालाई स्कुल पुर्‍याउने र बाबुलाई खाना खुवाउने जिम्मेवारी उनकै काँधमा छ । त्यसैले उनी पहिलो किस्ताको निद्राबाट ७ नबज्दै ब्युँझिसक्छन् । उनी ब्युँझिसक्दा उनकी पत्नी सुजाता घरबाट निस्किसकेकी हुन्छिन् । सुजाता सडक किनारमा बसेर गीत गाउँछिन् । आफ्ना साथीहरूसँग दिनभर अनेक ठाउँ चहार्दै गीत गाएर र भागमा परेको केही सय रुपैयाँ जतनले बोकेर सुजाता ३–४ बजे घर फर्किन्छिन् । स्कुलबाट फर्केको छोरालाई खाजा बनाएर दिनु, ससुरालाई कोल्टे फेराइदिनु, भिजेको रहेछ भने ओछ्यान फेरिदिनु उनको बाँकी दिनको काम हो ।

छोरालाई स्कुल पुर्‍याएपछि र खाना खाएपछि पदम दोस्रो किस्ता सुत्छन् । दिन र रात पदमका निम्ति उस्तै हो । तर दिनको र रातको चरित्र उनी अनुभूति गर्छन् । उनले सुनाए, ‘रातिको निद्राजस्तो दिउँसोको हुन्नँ ।’ वर्षौंको अनिँदोले होला दृष्टि नभएको उनको आँखाबाट हिजोआज अलिक बढी नै पानी बगिरहन्छ । त्यो आँसु नै पो हो कि ? उनले खुट्याएका छैनन् । उनले भने, ‘यो आँखा पनि कस्तो । काम गरेर खाने मान्छेलाई त दुःख नदिनु नि !’

जीवनमा दुःख छ तर पदम निराशाको स्वर सुस्काउँदैनन् । उनले भने, ‘आँखा देख्दैमा सुखी भइन्छ भन्नु पनि बेकार नै हो । के था आँखा देख्या भए हामी पनि चोरडाँका हुन्थेम् कि ।’ उनले दृष्टि भएकाहरू कैयन्ले नै इमानजमान बिर्सेको प्रसंग झिके र भने, ‘यस्तो भए यस्तो हुन्थ्यो भन्ने सब मन बुझाउने कुरा हो । आफूसँग जे छ त्यसैमा सन्तोष मान्नुपर्छ ।’ आफू बाँचेको समयलाई माया गरेर खुसी हुनुपर्छ भनी सोच्ने पदमले आफूलाई तारादेवीको स्वरमा रहेको ‘सोचेजस्तो हुन्न जीवन, सम्झे जस्तो हुन्न जीवन, जस्तो भोग्यो उस्तै हुन्छ, देखेजस्तो हुन्न जीवन’ गीत औधी मन पर्ने सुनाए । अनि भने, ‘मान्छेको मन जति भए पनि हुन्न । चित्त बुझायो भने जे छ त्यसैमा खुसी मिल्छ ।’

दोहोरीको कमाइ र पत्नीको गायकीको कमाइले उनलाई छोरा पढाउन, बिरामी बाबुको उपचार गर्न र घरको गर्जो टार्न पुगेको छ । बचतको अनेकन थोपा सँगालेर उनले गितार, ड्रम, २ वटा हार्मोनियम र ४ वटा मादल जोडेका छन् । अब घरखर्चभन्दा पर उनको एउटा सपना छ, आफैंले संगीत तालिम केन्द्र खोल्ने । उनले भने, ‘सोचेजस्तो भयो भने काम लाग्छ भनेर वाद्य सामग्री जोडिराख्या छु ।’

दम्पती नै पूर्ण दृष्टिविहीन भए पनि उनीहरूको जीवनको लय मिलेको छ । तर बेला–बेला अचानक घट्ने घटनाले जीवनको लय बिथोलिदिन्छ । २०७१ साउन २५ को बिहान त्यस्तै भयो । खाना खाइवरि टुसुक्क बस्न आँटेकै बेला बाबुको होस गुम भयो र उनी ढलिहाले । उनले छरछिमेकको सहयोग मागेर बाबुलाई अस्पताल पुर्‍याए । बुबाको होस फर्कियो तर उनी पूरै तग्रिएनन् । चिकित्सकले उनलाई पक्षघात भएको निर्क्योल गरे ।

आमा छउन्जेल बिरामी बाबुको स्याहार जेनतेन चलेकै थियो । दमको रोगले थलिएकी आमा गत साल कात्तिकमा बितेपछि उनको दिनचर्या झनै खलबलियो । तैपनि उनी समस्यालाई हल्का रूपमा लिन्छन् । त्यसको गर्दा मन भारी हँॅुदैन भन्ने उनको बुझाइ छ । मन नै भारी भएपछि आफैंमाथि भार परेजस्तो हुन्छ रे । उनले सुनाए, ‘सम्झे समस्या, नसम्झे के न के के ?’

उनलाई कहिल्यै घाम नछिर्ने र उज्यालो पनि दिक्क मान्दै छिरेझैं लाग्ने झुपडी, ओसिलो गल्ली र सानो चोक नै सबैभन्दा प्यारो लाग्छ । भने, ‘यो चोकमा आएपछि लाग्छ, कुकुरले पनि सजिलै मेरो डेरा देखाइदिन्छ ।’

काठमाडौंका गल्ली र गल्छेडालाई जसरी पदम अनेकन ध्वनि र तालका आधारमा चिन्छन्, त्यसैगरी चिन्दैनन् दृष्टिविहीन २३ वर्षीय लीलाराज ताम्राकारले । लीलाले सुन्धाराकै केएसएन दोहोरी साँझमा गाउने र मादल बजाउने काम सुरु गरेको केही साता मात्रै भयो । काठमाडौंका गल्लीमा कसरी हराइन्छ, कसरी झमेलामा परिन्छ भन्ने अनुभव उनले गरिसकेका छैनन् ।

लीला अर्घाखाँचीको सन्धिखर्कबाट सपना बोकेर काठमाडौं छिरेको केही महिना मात्र भयो । पेप्सीकोलाको डेरामा उनी एक्लै बस्न थालेको पनि तीन महिना पुगेको छैन । स्नातक तहको पढाइ सकेपछि सहरमा केही गर्न सकिएला भनेर उनी यता हान्निएका हुन् । उनका बा र आमालाई भने दृष्टिविहीन छोराले काठमाडौंमा दुःख पाउला, गल्ली र गल्छेडा पहिल्याउन नसकेर अलमलिएला भन्नै मात्रै पीर लाग्छ । उनले सुनाए, ‘त्यही भएर पनि मैले साथीसँग बस्या छु भनेर घरलाई ढाँटिरा’छु ।’

लीला पनि जन्मजात दृष्टिविहीन होइनन् । उनलाई बुबाले सुनाएअनुसार तीन वर्षको उमेरमा उनी बिमार परे । त्यही तोडले उनको दृष्टि खोस्यो । तर उनलाई त्यो कस्तो बिमार थियो भन्ने मात्रै होइन, त्यतिबेला आँखाले देखेको पनि ख्याल छैन ।

दृष्टि नभए पनि पढ्न सके छोराले गरिखाला भन्ने बुझेरै उनका बाबुले उनलाई स्कुल हालिदिए । सुनेकै भरमा ४ कक्षासम्म पढेपछि मात्रै ब्रेल छाम्न पाए । अनेक दुःखको लम्मेतान बाटो हिँडेर स्नातक पढेपछि भने लीलाको मन गाउँमा अडिएन । उनी भविष्य अज्माउन राजधानी छिरे ।

उनले सुनाए, ‘यहाँ त बाटो पहिल्याउन महिनौं लाग्दो रै’छ । हरेक चोकमा हराइँदो र’छ ।’ तीन महिना बितिसक्दा पनि उनले डेरा छिर्ने चोक पहिल्याउन सकेका छैनन् । उनले सुनाए, ‘जहिल्यै झुक्किन्छु । कहिले कहाँ पुग्छु, कहिले कहाँ ।’

केही साथीले सम्पर्क सूत्र खोजिदिएपछि उनले दोहोरी साँझमा जागिर पाएका हुन् । अहिले उनी नेपाल नेत्रहीन संघले प्रदान गरेको निःशुल्क कम्प्युटर कक्षा सकेर दिउँसो डेरा फर्किन्छन् । केही घण्टा आराम गर्छन् अनि साँझ नढल्किँदै सुन्धाराको दोहोरी साँझ पुग्छन् । लीला काम गर्ने दोहोरी साँझमा अक्टाप्याड बजाउने, किबोर्डमा औंला चलाउने र मादल बजाउने साथीहरू पनि दृष्टिविहीन नै छन् । उनले भने, ‘आफूजस्तै साथीहरू भएपछि काम गर्न पनि सहज हुँदो रहेछ ।’

गाउन र बजाउन उनले कतैबाट सिकेका होइनन् । युट्युब सुनेरै गीतको सुर र तालबारे केही थाहा पाएका हुन् । यही आत्मबलका भरमा उनी दोहोरीमा गाउँछन् र परिआए मादल पनि बजाउँछन् । दुई वर्षअघि उनले ‘कोदाली खनेर’ र ‘आठ महिनाअघि कसम खाम्ला पिरती’ बोलको गीत रेकर्ड गराए । तर उनी आफ्नो कामबाट उति सन्तुष्ट छैनन् । ‘अझै राम्रो गीत गाउने धोको छ,’ उनले भने ।
सहर मस्त सुतेपछि र दोहोरी साँझका ग्राहक घरतिर हिँडेपछि उनी डेरा फर्किन्छन् । चिसो रातमा छामछाम छुमछुम गर्दै ओछ्यानसम्म पुग्छन् ।

दोहोरी साँझमा कति छन् दृष्टिविहीन ?
दोहोरी साँझमा गीत संगीतको काम गर्ने कति दृष्टिविहीन छन् भन्ने तथ्यांक कसैसँग छैन । लोकदोहोरी व्यवसायी संघका अध्यक्ष विनोद श्रेष्ठका अनुसार संघमा देशभरका ११८ दोहोरी आबद्ध छन् । तर तिनमा ठ्याक्कै कति दृष्टिविहीनले काम गर्छन् भन्ने उनलाई पनि थाहा छैन । श्रेष्ठले भने, ‘सयभन्दा बढी होलान् कि ?’

श्रेष्ठ ठमेलस्थित नगरकोट दोहोरी साँझका सञ्चालक पनि हुन् । उनको अनुभवमा दृष्टिविहीनहरू ठीक समयमा कार्यस्थल आउँछन्, लफडा गर्दैनन्, अनुशासित रूपमा काम गर्छन् । त्यसैले दोहोरी साँझ सञ्चालकहरूको रोजाइमा उनीहरू पर्ने गरेका छन् । ‘दृष्टिविहीनले गीत गाइरहेछ, बजाइरहेछ भन्ने थाहा पाएपछि ग्राहकले पनि राम्रो मान्छन्,’ उनले भने ।

राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठानका अध्यक्ष रमेश बिजीका अनुसार दोहोरी साँझमा दृष्टिविहीनको संख्या बढ्दै गएको छ । उनले काठमाडौंमा मात्रै नभएर पोखराका कैयन् दोहोरी साँझमा पनि दृष्टिविहीनले काम गर्ने गरेको बताए । ‘गाउनेभन्दा वाद्यवादनमा संलग्न दृष्टिविहीन धेरै छन्,’ उनले भने, ‘राम्रो तालिम र विषयगत सीप सिकाउने हो अझ धेरै दृष्टिविहीनले दोहोरी साँझमा जागिर पाउँछन् ।’ कान्तिपुर दैनिकमा खबर छ ।

छापाबाट
छापाबाट

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्