
प्रधानमन्त्री केपी शर्मा ओलीले एउटै पार्टीको एउटै सरकारले २ वर्ष पूरा गर्नु पनि नेपालको सन्दर्भमा उपलब्धिको रुपमा लिनुपर्ने अवस्था आएको बताएका छन् ।
सरकार गठन भएको २ वर्ष पूरा भएको अवसरमा प्रतिनिधिसभा बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले विगतका सरकार ७–८ महिनामा फेरिने अवस्थाको स्मरण गराए ।
‘आजबाट मेरो नेतृत्वमा गठित नेपाल कम्युनिस्ट पार्टीको सरकारले सत्ता सञ्चालन गरेको ७३१ दिन अर्थात् २ वर्ष पूरा भएको छ,’ सम्बोधनको शुरूमै प्रधानमन्त्री ओलीले भने, ‘लामो समयसम्म ७–८ महिनाको अवधिमा सरकार फेरिइरहने विगतको अस्थिरतालाई ध्यानमा राख्दा हाम्रो देशमा एउटै पार्टीको एउटै सरकारले २ वर्ष पूरा गर्नु पनि एउटा उपलब्धिको रुपमा लिनुपर्ने अवस्था आउँदो रहेछ ।’
संसदको सम्बोधनमार्फत ओलीले आफू नेतृत्वको सरकारले २ वर्षमा गरेका उपलब्धिको फेहरिस्त सुनाउँदैछन् । शुक्रवार नै सम्बोधनको तयारी भएपनि राष्ट्रिय सभाका नेपाली कांग्रेस सांसद दूर्गाप्रसाद उपाध्यायको निधनका कारण अन्तिम समयमा आएर प्रधानमन्त्री ओलीको सम्बोधन स्थगित भएको थियो ।
नेकपा संसदीय दलका नेता ओली प्रधानमन्त्री भएको शनिवार २ वर्ष पुगेको छ । २०७४ फागुन ३ गते ओली प्रधानमन्त्री बनेका थिए ।