स्मृति तिमल्सिना 'गुरुआमा' : सपना हिरोइनको थियो, बनिन् 'भिडियो निर्देशक'

प्रदिप अधिकारी
प्रदिप अधिकारी

अधिकारी लोकान्तरका लागि मनोरञ्जन र खेलकुदमा कलम चलाउँछन् ।

स्मृति तिमल्सिना अर्थात् गुरुआमा अहिलेको चल्तीकी निर्देशक हुन् । संगीत बजार हल्लाइरहेका पुरुष निर्देशकबीच उनले आफूलाई पनि सक्रिय निर्देशकको रूपमा आफूलाई प्रस्तुत गरेकी छन् । यसको अर्थ हो- उनी कामविहीन छैनन् । बेरोजगार छैन । लौ न हजुर मलाई निर्देशन गर्न दिनुपर्‍यो भन्दै हात जोड्दै हिँड्नु परेको छैन । उनीसँग कामैकाम छन् ।

अनामनगरमा रहेको उनको कार्यालय 'गुरुआमा फिल्मस्' मा लोकान्तरकर्मी पुग्दा शिरीष देवकोटाको गीतको भिडियोको काम भइरहेको थियो । अर्को एउटा टीम पनि उनीसँग काम गर्न सोफामा उनलाई कुरिरहेका थिए । यिनै व्यस्तताका बीच हामीले उनका संघर्ष केलाउन अनुरोध गर्‍यौं । तर उनले आनाकानी गरिरहिन् । उनलाई मिडियामा आफ्ना कुरा भन्न हत्तपत्त मन लाग्दो रहेनछ । उनी सोझै भन्छिन्- मलाई मिडियाको मोह छैन । काममा बढी फोकस हुने गरेको छु ।


Advertisement

रंग यात्रा: पाल्पाबाट काठमाडौं

पाल्पाकी स्मृतिले लहरेपीपलमा भएको मञ्जुश्री कलाकेन्द्रमा हरिशसँग डान्स सिकिन् । उनले बच्चा बेलादेखिको रहर पूरा गरिन् । उनले सिकाइमा यति मेहनत गरिन् कि ६ महिनामै अरूलाई सिकाउन सक्न भइन् र सिकाइन् पनि । त्यहाँ उनले २ वर्ष जति डान्स सिकाइन् ।


Advertisement

डान्स जानेकी स्मृति पढ्न भनेर २०६५ सालमा काठमाडौं आइन् ।

तर उनको मन पढाईमा भन्दा रंग क्षेत्रमा गयो । काठमाडौं आएपछि उनको भेट शुरूमा शिरीष देवकोटासँग भयो । उनले शिरीषसँग भनिछन्- मलाई म्युजिक भिडियो निर्देशक शंकर बिसीसँग भेट्न मन छ ।

शिरीषलाई उनको भेट शंकरसँग गराइदिए ।

उनले शंकरलाई आफूलाई हिरोइन वा मोडल बन्ने चाहना भएको सुनाइछन् । तर जवाफमा शंकरले भनेछन्- पहिला डान्स सिक ।

स्मृतिले पनि आफूलाई अझै निखार्न शंकरकै 'कृष्ण फिल्मस्‌'मा तीन चार महिना डान्स सिकिन् । अनि उनी कोरसमा पनि नाच्न थालिन् ।

उनी भन्छिन्, 'शंकर बिसीकोमा सिकेपछि म कोरसमा नाच्न थालेँ । मोडलका पछाडि नाच्न थालेँ ।'

उनले आफूले कोरस नाच्नुको कारण पनि खुलाइन् । भनिन्, 'बाँच्न पर्‍यो । पैसा त चाहियो । पढ्नु पनि पर्‍यो । यसैका लागि मैले कोरस नाच्न थालेँ ।

कोरस नाच्नुको अर्को कारण पनि रहेछ । त्यो हो- अनुभव । अनुभव हासिल गर्नका लागि पनि आफूले कोरसमा नाचेको उनले बताइन् ।

कति कमाइन्थ्यो त कोरस नाच्दा ? उनले भनिन्, मैले कोरस नाच्दा दिनको २५० थियो । महिनैभरि नाच्यो भने त्योअनुसारको तलब हुन्थ्यो ।' आफूले कोरसमा नाच्दाताका लोकदोहोरी गीतहरू धेरै शूटिङ हुने भएकाले महिनामा एक-दुई दिनबाहेक हरेक दिन उनी व्यस्त हुन्थिन् ।  

उनी आफू कोरस डान्समा जानुको थप कारण पनि खुलाइन् । भन्छिन्- मलाई गुरु शंकर बिसीले भन्नुहुन्थ्यो कि तिमीलाई मोडल या निर्देशक बन्नु छ भने फिल्डमा नगई हुँदैन । त्यो अनिवार्य नै हो ।

उनले कोरस डान्स गर्दा नयाँ कुरा सिकिन् र सँगै पीडा पनि भोगिन् । आफू कतिपटक त शूटिङ स्पटमै रोएको पनि उनले बिनाहिच्किचाहट सुनाइन् ।

कृष्ण फिल्मस्‌मा सँगै डान्स सिकेको साथी मेन मोडलमा खेल्दा र आफू कोरसको रूपमा पछाडि नाच्नुपर्दा उनलाई पीडा हुने रहेछ ।

तर उनलाई शंकर बिसीले भनेका थिए रे- म तिमीलाई मोडल नचाउने मान्छे बनाउँछु ।

कोरस डान्समा सहभागी हुनुलाई उनले संघर्षको रूपमा पनि लिन्थिन् त्यतिबेला । भन्छिन्- कोरसलाई मैले अर्को हिसाबले के सोचेकी थिएँ । संघर्ष भन्या यही त हो नि भन्ने सोच्थेँ ।

उनले त्यो बेला केही सिकिन् । बाँच्नका लागि पैसा जोरजाम गरिन् । मान्छे पनि चिन्थेँ । काम गर्ने आइडियाहरू थाहा पाइन् ।

उनलाई त्यतिबेला शिरीष देवकोटाको गीतमा नाच्दा ओहो शिरीषको गीतमा नाच्न पाइयो भन्ने हुन्थ्यो रे ! खुमनकोमा नाच्न पाउँदा पनि त्यस्तै महसूस हुन्थ्यो रे !

स्मृतिले लगभग सय वटा गीतमा कोरस नाचेपछि शंकर बिसीले एसिस्टेन्ट बनाए । आफूले २०-२२ वटा फिल्ममा एसिस्टेन्ट कोरियोग्राफीको रूपमा काम गरेको उनले बताइन् ।

एक वर्षजति एसिस्टेन्टको काम गरेपछि उनी निर्देशनमा होमिइन् ।

आफूले काम सिकिसकेपछि शंकर बिसीले 'तिमीले निर्देशन गर्न सक्छौ' भनेर उर्जा थपेक उनले बताइन् । आफूले दुई-चारवटा गीत सोलो डाइरेक्सन गरेपनि उनको एसिस्टेन्टको रूपमा रहेर केही समय काम गरिन् । उनलाई लाग्यो- शंकर बिसीकै कारण यहाँ छु, सहकार्य फ्याट्टै छोड्न हुँदैन ।

उनले मञ्जिल मोहनको 'तिम्रो हातमा …' भन्ने गीतबाट निर्देशनमा डेब्यू गरिन् ।

त्यसपछि उनले गायिका राधिका हमालको साथ र सहयोग पाइन् । उनीसँग काम गरिन् ।

अफ्ट्यारा दिन

कोरस नाचेर घर जाँदा राति हुन्थ्यो । गाडी पाइँदैनथ्यो । ट्याक्सी चढ्न गोजीमा उनीसँग पर्याप्त हुँदैनथ्यो ।

यस्तै अफ्ट्यारा दिनको एउटा घटना उनले सुनाइन्, 'धुलिखेलमा शूटिङ सक्काएर काठमाडौं फर्केको थिएँ । रूम थियो कीर्तिपुर । कृष्ण फिल्मस्‌को गाडीले अफिसमै पुर्‍यायो । पानी परेको थियो । गोजीमा पैसा थिएन । जान सकिनँ । मोबाइल पनि अफ थियो । म रातभर बसपार्कमा रोएर बसेको थिएँ । त्यस्ता अफट्यारा दिनहरू पनि काटेर यहाँसम्म आइपुगेको छु । यस्ता घटना त कति छन् कति !'

*****

कुनै बेला स्मृतिको सपना थियो- मोडल बन्ने, हिरोइन बन्ने ।

तर पछि काठमाडौंको माहोल बुझेपछि उनी 'ब्याक' भइन् । उनलाई आफू हिरोइनका लागि फिट नभएको लाग्यो रे !

भन्छिन्, 'मलाई लाग्यो हिरोइन बन्न सजिलो छैन । रूप चाहियो, हाइट पनि चाहियो । जुन कुरा मसँग छ जस्तो लागेन ।

निर्देशनमा सक्रिय भएपछि उनलाई लागेछ- निर्देशक नै हिरो हो ।

'बजार जमिसकेपछि मलाई अब हिरोइन बन्न जरूरी छैन । म हिरो भइसकेँ त,' उनले सुनाइन् ।

स्मृतिबाट'गुरुआमा'

शंकर बिसीको कृष्ण फिल्मस्‌मा डान्स सिकिसकेपछि उनी त्यहाँ एसिस्टेन्टको रूपमा काम गर्न थालेकी थिइन् । ट्याकन अवार्डको लागि शंकर बिसी, स्मृति तिमल्सिनालगायतको टीमले एक हप्तामा ३४ जना कलाकारलाई १६-१७ वटा गीतमा नचाउनुपर्ने थियो । पूजा शर्मा, दीपकराज गिरी, दीपाश्री निरौलाहरू डान्स सिक्न आउँथे । त्यसैबीच कलाकारहरूले स्मृतिलाई देखाउँदै शंकर बिसीलाई सोधेछन्- कति टाठी नानी, को हो उनी ?

त्यो बेला शंकर बिसीले 'उहाँ त कृष्ण फिल्मस्‌को गुरु हो' भनेछन् ।

आफ्नो नाम 'गुरुआमा' रहेकोबारे उनले सविस्तार सुनाउँदै भनिन्, 'दीपकराज गिरीले गुरु होइन, गुरुआमा भनौं । गुरु केटी भन्ने कुरा पनि भएन । गुरुबहिनी भन्ने कुरा पनि भएन । बरू गुरुआमा भनौं भन्नुभयो । त्यसपछि मेरो नाम गुरुआमा रहन गयो ।'

हालसम्म २ हजार भन्दा बढी लोकदोहोरी गीतका भिडियो निर्देशन गरेकी स्मृति सफल हुनका लागि लगन, क्षमता र हिम्मत चाहिने बताउँछिन् । उनी भन्छिन्, ' यी तीन कुरा भयो भने महिला होस् या पुरुष जसले पनि सफलता हासिल गर्न सक्छ ।'

प्रदिप अधिकारी
प्रदिप अधिकारी

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्