
नेपाल नगरपालिका संघका संस्थापक अध्यक्ष एवं ललितपुरका पूर्वमेयर वेखारत्न शाक्यको निधन भएको छ ।
शाक्यको ८९ वर्षको उमेरमा आइतवार झम्सिखेलस्थित निवासमा निधन भएको हो ।
गणेशमानसिंह अध्ययन प्रतिष्ठानका संस्थापक सदस्य समेत रहेका शाक्यको निधनप्रति कांग्रेस नेताहरूले दु:ख व्यक्त गरेका छन् ।
कांग्रेस नेता नवीन्द्रराज जोशी तथा उदय शमशेर राणाले शाक्यको निधनप्रति शोक व्यक्त गर्दै सामाजिक सञ्जाल फेसबूकमार्फत श्रद्धाञ्जली अर्पण गरेका छन् ।
'ललितपुर नगरका पूर्वमेयर, नेपाली कांग्रेसका विकासवादी नेता,नेपाल नगरपालिका संघका संस्थापक अध्यक्ष, गणेशमान सिंह अध्ययन प्रतिष्ठानका संस्थापक सदस्य आदरणीय वेखारत्न शाक्य दाइको निधनले स्तब्ध तुल्याएको छ ।
उहाँको स्वर्गवासको कामना गर्दै शोकाकुल परिवारजनमा समवेदना प्रकट गर्दछु,' जोशीले फेसबूकमा लेखेका छन् ।
यस्तै राणाले फेसबूकमा लेखेका छन्– 'नेपाली कांग्रेसका नेता ललितपुर उपमा.न.पा का तत्कालीन मेयर वेखारत्न शाक्यको निधनले स्तब्ध बनायो । नेपालमा लोकतन्त्रप्राप्तिका निम्ति उहाँले पुर्याउनुभएको योगदान सदा स्मरणीय रहने छ । हार्दिक श्रद्धाञ्जली !'