शिवरात्रीको बेला झरी र हिमपातको सम्भावना

फाइल फोटो

पश्चिमी न्यून चापीय वायुको प्रभावले बिहीवार देशभर आंशिकदेखि सामान्य बदली रही देशका केही स्थानमा वर्षा र हिमपातको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । 

शुक्रवार शिवरात्री मनाउने चटारो भइरहेका बेला झरी पर्ने देखिएको छ । न्यून चापीय प्रणालीको प्रभावले देशभरि बदली रही पहाडी भूभागका १–२ स्थान र उच्च पहाडी तथा हिमाली भेगका केही स्थानमा हल्का हिमपातको सम्भावना रहेको मौसमविद् शान्ति कँडेलले बताए ।


Advertisement

मौसमविद्का अनुसार पश्चिमी वायुको प्रभावले देशका धेरैजसो स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ । उपत्यकामा बिहीवार केही समय घाम लागे पनि मध्याह्नबाट बदली भई वर्षा हुने बताइएको छ । 

उपत्यकामै पनि कुनै ठाउँमा वर्षा हुने कुनै ठाउँमा नहुने बताइएको छ । पश्चिमी वायुको प्रभाव शनिबारबाट बिस्तारै कम हुँदै गए पनि तुवाँलो भने यथावत् रहने छ ।  तुवाँलो ह्टनका लागि भारी वर्षा हुनुपर्छ र हावाको गति पनि बढ्नुपर्छ । ‘तत्काललाई भारी वर्षाको सम्भावना भने छैन,’ मौसमविद् कँडेलले भने ।


Advertisement

शुक्रवार देशभर सामान्यदेखि पूर्ण बदली रही पूर्वी भूभागका केही स्थानमा हल्का वर्षा र पश्चिमी तथा मध्यम क्षेत्रका उच्च पहाडी तथा हिमाली भूभागका धेरै स्थानमा हल्कादेखि मध्यम हिमपातको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । शनिवार देशभर आंशिकदेखि सामान्य बदली रही मध्य तथा पूर्वी भूभागका केही स्थान र पश्चिमी पहाडी भेगका १/२ स्थानमा हल्का वर्षाको सम्भावना रहेको जनाएको छ ।

मौसम पूर्वानुमान महाशाखाको पछिल्लो विवरणअनुसार बिहीवार काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम ९ दशमलव ८ डिग्री र अधिकतम तापक्रम २० दशमलव २ डिग्री सेल्सियस रहेको छ ।

बिहीवार सबैभन्दा कम जुम्लाको न्यूनतम तापक्रम माइनस ० दशमलव १ डिग्री सेल्सियस मापन गरिएको छ ।

कमेन्ट गर्नुहोस्