शिवरात्रि पर्वका अनुत्तरित प्रश्न

कमल रिजाल
कमल रिजाल

लोकान्तरका नियमित स्तम्भकार कमल रिजाल धार्मिक संस्कार र समसामयिक विषयमा कलम चलाउँछन् ।

आज महाशिवरात्रि पर्व । भगवान् शिव अर्थात् देवाधिदेव महादेव प्राकाट्य भएका दिन । वैदिक ग्रन्थहरूका अनुसार शिवका दुई रूप छन्, निराकार र साकार । निराकार रूपमा सत्यं शिवं सुन्दरम् हुन्, जसको जगमा चराचर जगत अडेको छ । जो सत्य हो त्यही शिव हो अनि जो शिव हो त्यही नै सुन्दर हो । जीव सुन्दर छ, जगत सुन्दर छ, प्रकृति सुन्दर छ, पुरुष सुन्दर छ, अनि प्रकृति र पुरुषलाई खेलाउने र नचाउने शिव झन् सुन्दर छन् । पृथ्वी अडेको छ यसैमा, सूर्य चम्केका छन् यसैका आधारमा । ग्रह, नक्षत्र घुमेका छन्, यसकै आधारमा । हावा चलेको छ यसकै आधारमा, पानी बगेको छ यसकै आधारमा । सत्य विना न संसार बन्छ, न बढ्छ, न चल्छ ।

सत्य युगतिर मानिस आफैँ आकाशमा उड्थे रे वैदिक ग्रन्थहरूले भनेका किनकि उनीहरू सत्यको पुजारी थिए, सत्यको पक्षपाति थिए । जति बेलादेखि मानिस सत्यबाट बिमुख हुँदै गए त्यति बेलादेखि त्यही कामका लागि भौतिक पदार्थको सहयोग लिनुपर्ने भयो । सत्यको पुजारी हुँदासम्म मानिस आफै उड्थे । जबदेखि मानिसको मन मस्तिष्कबाट सत्य डमगाउन थाल्यो त्यसपछि भौतिक पदार्थको बैशाखीको जरुरत पर्न थाल्यो, जो सत्यंको मार्गबाट आफू खुशी विचलित भएका छैनन् । सत्य विना संसारमा उड्न होइन एक पाइलो अगाडि सार्न पनि सकिन्न । विश्वास गर्नु नगर्नु अर्कै कुरा हो ।


Advertisement

आश्चर्य लाग्न सक्छ विना तार संसारभरिका श्रव्य र दृष्य एउटा कुनामा बसेर सुन्न र देख्न सकिएकोमा तर रूपमा मात्र यन्त्र उपकरणबाट सम्भव भएका हुन् यी सारमा होइनन् । सारमा यही हो कि श्रव्य र दृष्य मात्र होइन समग्र विश्व ब्रह्माण्ड नै आफैं देख्न र सुन्न सकिन्छ, किनकि ती सबै सत्यं हुन्, शिवं हुन् अनि सुन्दरम् पनि । पहिलेका मानिस कोठाभित्रबाटै ती सबै छर्लङ्ग देख्थे किनकि उनीहरू सत्यमा थिए तर हामीलाई आफू खुशी सत्य न छाड्ने भौतिक यन्त्र र उपकरणको आवश्यकता पर्छ किनकि हामीभित्रको सत्य मर्‍यो वा डगमगायो ।

बीज र वृक्षवत आफूमा निहित विश्व ब्रह्माण्डलाई मूर्तरूप दिन उनै निराकार शिवलाई पनि सारकार रूपमा प्रकट हुनुपर्ने हुन्छ । जुन सयमा उनी साकार रूपमा अवतरण भएका थिए त्यही समय नै शिवरात्रि हो, जसलाई हामीले शिवरात्रि महापर्वको रूपमा मनाउने गरेका छौं । वेद भन्छ उनको प्राकाट्य पूर्व केही पनि थिएन । थियो त केवल शून्य, शून्य, महाशून्य मात्र । जतिबेला उनलाई एकबाट अनेक हुन मन लाग्यो त्यतिबेला सर्वप्रथम आफैं प्रकट भए । अनि आफैंभित्रबाट ब्रह्माण्डीय ऊर्जा प्रवाह गर्न थाले । फलतः अनन्त ब्रह्माण्ड संरचना हुन पुगे ।


Advertisement

उनको शरीरबाट प्रवाह भएका भौतिक ऊर्जाको परमाणुहरू संगठित भई सूर्य, चन्द्र लगायत समग्र ग्रह नक्षत्र बन्न पुगे । जीवनदायी ऊर्जा परमााणुहरू संगठित भएपछि  क्रमशः जीवको उत्पत्ति सम्भव भयो । तिनै जीव र जगतलाई निरन्तरता दिन शिव पनि अनेक रूपमा अवतरित हुन थाले, जसलाई हामी उनको लीलावतार भन्ने गर्छौं । वास्तवमा भगवान्को जन्म हुँदैन । उनी जन्म र मृत्युभन्दा पर रहेका मृत्युञ्जय हुन् । मात्र उनी जतिबेला जस्तो काम पर्छ त्यस्तै रूपमा प्रकट हुन्छन् वा अवतरित हुन्छन् र काम सकिएपछि पुनः मूलरूपमा समाहित हुन पुग्छन् ।

पौराणिक ग्रन्थहरूमा उल्लेख भएअनुसार पशुपति लिङ्गम् तिनैमध्येका मूल लिङ्गम् हुन् । लिङ्ग भनेको आकाश हो भने पृथ्वी भनेको उसको पीठका, जसलाई योनीको आकारमा लिङ्गम्लाई घेरेर रहेको देखाइएको छ । समग्र देवीदेवतादेखि चराचर जगतको आलय र विलयको आधार भएकाले लिङ्गम् भनिएको हो ।

आकाशं लिङ्गमित्याहु पृथ्वी तस्य पीठिका । 
आलयं सर्व देवानां लयनाल्लिङ्गमुच्यते ।

लिङ्गममध्येको प्रमुख लिङ्गम् भएकैले उनलाई पशुपतिनाथ भनिएको हो । पशुको अर्थ प्रकृति हो, जीव हो अनि जगत हो, जो जड वा अज्ञानी अवस्थामा छ । पतिको अर्थ हुन्छ मालिक वा सञ्चालक । जसले चराचर जगतलाई सृष्टि, स्थिति र प्रलयको नियममा आबद्ध गरेको छ त्यही नै पशुपतिनाथ हुन् । पशुपतिनाथलाई आदि लिङ्गम् मान्नुको अर्थ पनि यही हो । त्यसैले विश्वका हिन्दूहरू जीवनमा एकपटक मात्र भएपनि पशुपतिनाथको दर्शन गर्न लालयित हुन्छन् । पशुपतिनाथको दर्शन नगरी अन्य लिङ्गम् दर्शनको फल पाइन्न भन्ने उनीहरूको विश्वास छ ।

शिवरात्रि पर्व मनाउनुको अर्थ तिनै सत्यं शिवं सुन्दरम्प्रति अनुगृहित हुनु हो, कृतकृत्य बनी समर्पित हुनु हो अनि तिनलाई आत्मसाथ गर्ने प्रण गर्नु पनि हो । नकि पशुपतिनाथमा जोगी नचाएर गाँजा भाङ खुवाउने वा खाएर हल्ला गर्नु । हामीले राष्ट्राध्यक्षलाई सङ्कल्प गर्न लगाई नाङ्गो जोगी नचाउने, खुवाउने गरी जगत हसाउने काम मात्र गर्दै आएका छैनौं धुनी जगाउने नाममा वन फडानी गरी वातारणमा दोहोरो असर पार्ने काम समेत गर्दै आएका छौं, तर सत्यं शिवं सुन्दरम्प्रति भने के कति समर्पित हुने गरेका छौं सबैले आ–आफ्नो नाम सम्झेर म म भनिदिए पुग्छ ।

आश्चर्य लाग्छ नेपाल भ्रमण वर्षसमेत परेकाले यस वर्षको शिवरात्रिमा बढी पर्यटक आउने अपेक्षा गरिएको छ तर खर्च गर्नेभन्दा गराउने पाहुना बढी आउने भएपछि भ्रमण वर्षलाई कति टेवा पुग्ला प्रश्न विचारणीय छ । बालबालिकाले डोरी टाँगेर आवागमन असहज बनाउने अर्को विकृति हो यस पर्वको । यसमा भने अभिभावग वर्ग आफैंले बढी सचेतना अपनाउनु पर्ने हुन्छ ।

कमल रिजाल
कमल रिजाल

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्