लोकतन्त्रको आवरणमा भ्रष्टाचार गरिँदैछ : अध्यक्ष थापा

फाइल फोटो

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) अध्यक्ष कमल थापाले देशमा नीतिगत भ्रष्टाचार मौलाएको आरोप लगाएका छन् ।

शनिवार धनगढीमा आयोजित पत्रकार सम्मेलनमा उनले आमूल परिवर्तनको नारा भ्रष्टाचारमा मात्र सीमित भएको बताए ।


Advertisement

अध्यक्ष थापाले भने, ‘लोकतन्त्रको आवरणमा अहिले देशमा भ्रष्टाचार व्याप्त छ, अहिलेको देशको ठूलो चुनौती नै भ्रष्टाचार हो ।’ देशमा संस्थागत र नीतिगत रुपमै भ्रष्टाचार भइरहेकाले यसलाई रोक्न जनता जाग्ने बेला आएको उनको भनाइ थियो ।

एमसीसीबारे पत्रकारको जिज्ञासामा उनले सबै राजनीतिक दलको सहमतिमा तयार पारिएको सम्झौता भएको भन्दै यसलाई पारित गरी कार्यान्वयनमा ल्याउनु सबैको जिम्मेवारी रहेको बताए । एमसीसी नेपालको हितमा रहेकाले यसमा विवाद गर्नुको औचित्य नरहेको उनको भनाइ थियो ।


Advertisement

आफ्नो पार्टीको एजेन्डा हिन्दू राष्ट्र र राजसंस्था सहितको लोकतन्त्र रहेको उल्लेख गर्दै अध्यक्ष थापाले अब संगठन विस्तारको अभियानमा अघि बढ्ने बताए ।

कमेन्ट गर्नुहोस्