भारतमा ट्रम्पको ‘चुनावी कार्ड’

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच धेरै समानता छन् । पहिलो, दुवै सामाजिक सञ्जालको होहल्ला र आफ्नाबारे गरिएका प्रचारप्रसार खुबै रुचाउँछन् । आफूलाई बढीभन्दा बढी मानिसले सुनून् र चर्चा गरून् भन्ने लालसा दुवैमा देखिन्छ ।

भारतका लागि प्रस्थान गर्नुअघि ट्रम्पले ट्वीटरमार्फत दिएको सन्देशमा पनि त्यस्तै लालसा प्रकट भयो । ‘प्रधानमन्त्रीले भन्नुभएको छ, भारतको इतिहासमा अहिलेसम्मकै सबैभन्दा विशाल कार्यक्रम हुनेछ,’ ट्रम्पले भनेका थिए ।


Advertisement

ट्रम्प दुईदिने भारत भ्रमणका लागि सोमबार गुजरातको अहमदाबादमा ओर्लिए । विमानस्थलबाट उनको कार्गेड सिधै महात्मा गान्धीको सावरमती आश्रम पुग्यो । त्यहाँ करिब १५ मिनेट बसेर उनी सिधै विश्वकै सबैभन्दा ठूलो क्रिकेट रंगशाला दाबी गरिएको मोटेरा रंगशालातर्फ लागे । ट्रम्पले सावरमती आश्रममा बिताएको समय र आगन्तुक पुस्तिकामा लेखेको सन्देशले पनि रंगशाला पुग्न उनी कति आतुर थिए भन्ने प्रस्ट हुन्छ । ‘मेरा महान मित्र प्रधानमन्त्री मोदी, उत्कृष्ट भ्रमणका लागि धेरै धन्यवाद’ ट्रम्पले लेखेका थिए । गान्धीको व्यक्तित्व र योगदानका बारे भने उनले एक शब्द पनि खर्च गर्न आवश्यक ठानेनन् ।

आफ्नो कार्यकालको अन्तिम वर्षमा ट्रम्प किन भारत आए त ? यसका पछाडि प्रमुख दुई कारण रहेको ठम्याइ छ । पहिलो मोदी र भारतसँग आफ्नो सम्बन्ध सुमधुर रहेको देखाउनु रहेको छ । यसबाट उनी नोभेम्बरमा हुने राष्ट्रपति चुनावमा अमेरिकामा रहेका भारतीय डायसपोरालाई आफ्नो पक्षमा पार्न चाहन्छन् । ट्रम्पलाई राम्ररी थाहा छ, अमेरिकामा रहेका करीब ४५ लाख भारतीयहरूमध्ये अधिकांश मोदीका समर्थन छन् र यदि मोदीसँग निकट सम्बन्ध विकास गर्न सकिएको खण्डमा त्यसको प्रत्यक्ष लाभ आगामी चुनाव हुनेछ । त्यतिमात्र होइन एनआरआईहरूको ठूलो हिस्सा व्यापार र व्यवसायमा जमेकाले चुनावी खर्चका लागि पनि उनीहरूको ठूलो भूमिका रहने ट्रम्पले राम्रै सँग बुझेका छ्न । त्यही भएर नै कश्मीर मुद्दामा सरकारको कदमको घुमाउरो तरिकाले प्रश्न उठाउने गरे पनि मोदीसँगको सम्बन्ध भने निकै प्रगाढ रहेको बताउन छाड्दैनन ट्रम्प । मोटेरा रंगशालाको ‘नमस्ते ट्रम्प’ कार्यक्रममा ले उनले दिएको भाषणबाट पनि धेरै कुरा प्रस्ट हुन्छ । भाषणका क्रममा उनले विवेकानन्द, वेद, सचिन तेन्दुल्कर, विराट कोहलीलगायतको उल्लेख गरे । उनको उच्चारणबाटै लाग्थ्यो, ट्रम्प ती पात्र र शब्दसँग त्यति परिचित छैनन् भन्ने । तर, उनले ती पात्र र विषयहरू उल्लेख गर्नुका पछाडि मोदी समर्थकहरूको मन जित्नका लागि जानी नजानी उल्लेख गरेको सहजै बुझ्न सकिन्छ ।


Advertisement

‘अमेरिकाले भारतलाई माया गर्छ र अमेरिकाले भारतलाई सम्मान पनि गर्छ साथै अमेरिका भारतीय जनताका लागि सधैं विश्वासिलो मित्र रहिरहनेछ’ ले रंगशालामा उपस्थित भारतीयलाई सम्बोधन गर्दै भनेका थिए । तर, ट्रम्पलाई राम्ररी थाहा थियो, रंगशालामा दिइएको त्यो सन्देश १३० करोड भारतीयसँगै अमेरिकाका ४५ लाख भारतीय मुलका अमेरिकीहरूसम्म पुग्छ भन्ने कुरा । ट्रम्प भ्रमणको अर्को प्रमुख उद्देश्य भनेको उदाउँदो आर्थिक शक्ति चीनको विश्वशक्ति बन्ने महत्त्वाकांक्षामाथि अंकुश लगाउनु । विशेषगरी चीनले अगाडि सारेको बेल्ट एन्ड रोड (बीआरआई) एसियाली मुलुकहरूको बढ्दो आबद्धता अमेरिकाका लागि पछिल्लो समय टाउको दुखाइ बन्दै गएको छ । त्यसो त अमेरिका र भारतबीचको सम्बन्ध विगतदेखि नै चीनको भूमिकाबाट निर्देशित हुँदै आएको छ । ५० को दशकमा पनि अमेरिकाले चीनको माओवादीको विस्तारलाई रोक्न भारतसमक्ष सहयोग हात नबढाएको होइन । तर, भर्खरमात्र बेलायतीय उपनिवेशबाट स्वतन्त्र भएको र आर्थिक तथा सामरिक दुवै हिसाबले कमजोर रहेको भारतले शीतयुद्धको एउटा पक्ष अमेरिका साथ लिन चाहेन ।

ट्रम्पको भ्रमणले दक्षिण एसियाका नेपाललगायतका मुलुकलाई आईपीएसमा आबद्ध हुनका लागि दबाब सिर्जना गर्ने देखिन्छ । किनकि भारतले आईपीएसप्रति खुलेरै समर्थन जनाइसकेको छ । नेपाललगायतका मुलुकको चीनसँग पनि त्यतिकै राम्रो सम्बन्ध रहेका कारण यस्ता रणनीतिसँग कसरी सन्तुलन कायम गर्ने भन्ने चुनौतीको विषय भएको राजेश्वरीको भनाइ छ । अमेरिका र भारत सम्बन्धका जानकारहरू पनि पछिल्ला वर्षहरूमा दुई मुलुकलाई नजिक ल्याउनुका पछाडिको प्रमुख कारण चीन नै रहेको दाबी गर्छन् । उनीहरूको भनाइमा चीनको उदय र त्यसले एसिया र विश्व व्यवस्थामा पार्न सक्ने प्रभावप्रति दुवै मुलुकमा चासो र छटपटी दुवै छ । हुन पनि भारतले धेरै पहिलेदेखि नै एसियामा कुनै एउटा मुलुक प्रभुत्व कायम हुनु हुँदैन भनेर अन्तर्राष्ट्रिय मञ्चहरूमा बारम्बार दोहोर्‍याइसकेको छ । प्रधानमन्त्री मोदीदेखि विदेशमन्त्री जयशंकरसम्मले त्यस किसिमको अभिव्यक्ति दिएका छन् । जयशंकरले त विदेश सचिव हुँदा नै चीनको नाम नलिईकनै भारत एसिया र हिन्द महासागरमा कुनै पनि मुलुकको एकल प्रभुत्व सहँदैन भन्ने अभिव्यक्ति दिएका थिए । यसबाट पनि भारतको अमेरिका र अन्य मुलुकहरूसँग नजिक पुर्‍याएको अर्थमा सहजै बुझ्न सकिने दिल्लीस्थित थिंक ट्यांक ओआरएफकी सिनियर फेलो राजेश्वरी राजगोपालनको भनाइ छ ।

ट्रम्पको भ्रमणका बेला घोषणा गरिएको ३ अर्ब डलरको हेलिकप्टर खरिदसम्बन्धी सम्झौतासहित पछिल्ला वर्षहरूमा दुई देशबीच रक्षा सहयोगमा बढ्दो साझेदारीलाई पनि त्यही कडीका रूपमा हेर्नुपर्ने उनको विश्लेषण छ । डोक्लम विवादमा पुरानो मित्र भएकाले रुसबाट समर्थनको अपेक्षा गरेको ऊ तटस्थ बसेपछि भारतले क्रमशः आफ्नो सम्बन्धलाई पनि नयाँ ढंगले हेर्न थालेको राजेश्वरीको भनाइ छ । ‘चीनलाई पनि चिढाउन चाहँदैनथ्यो रुस,’ उनले भनिन् । भारतले ट्रम्प भ्रमणबाट खोजेको लाभ भनेको व्यापारको क्षेत्रमा पनि हो । अर्थतन्त्रमा सुस्ती र वैदेशिक लगानीमा कमी झेलिरहेको भारतले अमेरिकासँगको आफ्नो व्यापार विस्तारलाई प्रमुख लक्ष्य बनाएको छ । त्यसमाथि ५ जुन २०१९ मा ट्रम्प प्रशासनले भारतले पाउँदै आएको विशेष सुविधा (जीएसपी) खारेज गरेपछि त भारतको तनाव बढेको छ । किनकी अमेरिकाको त्यो निर्णयसँगै भारतीय उत्पादनले अमेरिकी बजारमा पाउँदै आएको विशेष सहुलियतको पनि अन्त्य हुन पुग्यो । अमेरिका र भारतबीचको द्विपक्षीय व्यापार ८० अर्बडलरभन्दा बढी छैन । जब कि चीन र अमेरिकाबीच वार्षिक ६ सय ६० बिलियन डलरको व्यापार हुने गरेको छ ।

अमेरिकाको अर्को स्वार्थ भनेको भारतको आफ्नो रक्षा व्यापारको अभिवृद्धि पनि हो । सन् २००८ मा शून्य प्रायः रहेको अमेरिका र भारतबीचको त्यस्तो व्यापार सन् २०१९ मा आइपुग्दा १८ अर्ब डलर नाघेको छ । भारतका पूर्व विदेश सचिव कवल सिब्बलको भूगोल र क्षमताका हिसाबले पनि एसियामा चीनसँग प्रतिस्पर्धा गर्न सक्ने मुलुक भारत मात्र भएको भन्ने अमेरिकी बुझाइले पनि दुई देशबीचको सम्बन्धलाई निर्देशित गर्दै लगेको छ । ‘अमेरिका र चीनबीचको सम्बन्ध मित्रता पूर्ण छैन, चीनले २०४९ सम्ममा विश्वशक्ति बन्ने आकांक्षा सार्वजनिक गरिसकेको अवस्था अमेरिकाका लागि साझेदारका रूपमा भारतको थप बढ्दै जानेछ,’ भारतीय अंग्रेजी दैनिक मिन्टमा सिब्बलले लेखेका छन् । नेपालजस्ता मुलुकले भने बेल्ट एन्ड रोड (बीआरआई) र आईपीएसबाट आफूअनुकूल लाभ लिन पछि पर्न नहुने राजेश्वरीको बताउँछिन् । तर, उनले अमेरिकाले चाहँदैमा भारतलगायतका मुलुकहरूले आईपीएसलाई चीनविरुद्ध प्रयोग गर्न नदिने उनी तर्क गर्छिन् । भ्रमणबाट जेजस्तो नतिजा निस्किए पनि चीन र पाकिस्तानलाई रणनीतिक सन्देश भने दिने उनको बुझाइ छ । नेपाल भने यसमा तटस्थ रहँदै आएको छ ।

यद्यपि गत वर्ष अमेरिकाको रक्षा मन्त्रालयले जारी गरेको ‘इन्डो प्यासिफिक स्ट्राटेजी रिपोर्ट’ मा नेपाललाई अमेरिकाको ‘इन्डो प्यासिफिक’ सहभागिता कार्यक्रमअन्तर्गत रहेको जनाएको थियो । उक्त प्रतिवेदन सार्वजनिक भएपछि सरकारको चर्को आलोचना भएको थियो । त्यसपछि परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले नेपाल असंलग्न परराष्ट्र नीतिमा अडिग रहेको भन्दै प्रतिवेदनको खण्डन गरेका थिए । तर, अमेरिकी अनुदान सहयोगमा सुरु गर्ने भनिएको मिलेनियम च्यालेन्ज करर्पोरेसन (एमसीसी) परियोजनालाई अमेरिकाले आइपिएसकै एउटा अंग भनिदिएपछि त्यसलाई लिएर नेपालमा पनि केही महिनादेखि विवाद कायम छ । तर, घरेलु राजनीतिलाई मात्र नभएर विश्व व्यवस्थालाई नै आफूअनुकूल परिभाषित गर्न उद्यत अमेरिकी राष्ट्रपति ट्रम्पले राम्ररी बुझेका छन् मोदीका अपेक्षा र सीमा । ३६ घन्टे भारत बसाइका क्रममा ट्रम्पले भारतीय प्रधानमन्त्री मोदीलाई त्यो सन्देश प्रस्ट रुपमा दिनेछन् । संयोग नै मान्नुपर्छ गुजरातको रंगशालामा आयोजित नमस्ते ट्रम्प कार्यक्रमको समापनका क्रममा बजेको चर्चित सांगितिक ब्याण्ड रोलिगं स्टोनको गीतले पनि त्यही सन्देश बोकेको छ, ‘यु कान्ट अल्वेज गेट हृवाट यु वान्ट’ अर्थात् तिमीले जे चाहन्छौं, त्यो सँधै पाउँदैनौं । सायद ट्रम्पले मोदी र भारतलाई दिन खोजेको सन्देश पनि त्यही हो । कान्तिपुर दैनिकमा खबर छ ।

छापाबाट
छापाबाट

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्