सांसदहरू हाजिर गरेर हिँडेपछि गणपुरक संख्या पुगेन, बैठक भोलिसम्मका लागि स्थगित

गणपुरक संख्या नपुगेपछि १५ मिनेटका लागि स्थगित भएको प्रतिनिधि सभा बैठक बस्दै नबसी भोलिसम्मका लागि स्थगित भएको छ ।

संसद् सचिवालयले सूचना टाँसेर भोलि दिउँसो १ बजेसम्मका लागि बैठक स्थगित गरिएको जानकारी गराएको हो ।


Advertisement

यसअघि सभामुख अग्नि सापकोटाले बैंक तथा वित्तिय संस्थासम्बन्धी विधेयक, २०७६ माथि विचार गरियोस् भन्ने प्रस्ताव निर्णयार्थ पेश गर्ने क्रममा आवश्यक संख्या अपुग भएको थियो ।

संविधानको धारा ९४ अनुसार कुनै प्रस्ताव निर्णयार्थ पेश गर्दा संसद्‍मा कायम कुल सदस्य संख्याको एकचौथाइ सदस्य उपस्थित हुनुपर्ने व्यवस्था छ ।


Advertisement

सभामुखले प्रस्तावलाई निर्णयार्थ पेश गर्ने क्रममा कांग्रेस सांसद अत्तर कमाल मुसलमानले गणपुरक संख्या गन्न माग गरेका थिए । त्यसपछि सभामुखको आसनमा बसेर बैठकको अध्यक्षता गरेका सोमप्रसाद पाण्डेले ३ मिनेट घण्टी बजाउन निर्देशन दिएका थिए ।

३ मिनेट घण्टी बजाएर संख्या गन्दा ६९ हुनुपर्नेमा ५८ सांसद मात्र उपस्थित थिए ।

त्यसअघि मंगलवारै सार्वजनिक ऋण व्यवस्थापन विधेयक, २०७६ लाई निर्णयार्थ पेश गर्ने क्रममा पनि गणपुरक संख्या गन्न माग गर्दा ७० सांसद उपस्थित थिए ।

लोकान्तर संवाददाता
लोकान्तर संवाददाता

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्